जुरेथुम्कामा औद्योगिक पार्क बनाइने «

जुरेथुम्कामा औद्योगिक पार्क बनाइने

भरतपुर-चितवन उद्योग संघले औद्योगिक शिक्षालय निर्माणको योजनालाई प्राथमिकतामा पारेको छ । नयाँ कार्यसमितिले आगामी दुई वर्षे कार्ययोजनामा औद्योगिक शिक्षालय बनाउन सक्रियता देखाउने उल्लेख छ ।
संघका अध्यक्ष राजु पौडेलले दक्ष जनशक्तिको अभाव हटाउन शिक्षालय निर्माण गर्न लागिएको बताए । भरतपुर–२९ कविलासस्थित जुरेथुम्कामा संघको स्वामित्वमा रहेको करिब ५ बिघा जग्गामा शिक्षालय निर्माणको काम यही वर्ष थालिने जनाएको छ । “यही वर्ष ‘डीपीआर’ को कामअघि बढ्छ, स्रोत जुटाएर शिक्षालय बनाइनेछ”, उनले भने, “आवासिय सुविधासहित सीप सिक्ने वातावरण बन्नेछ, उद्योगमा आवश्यक पर्याप्त जनशक्ति तयार हुनेछन् ।” शिक्षालय निर्माणमा करिब ५० करोड लाग्ने अनुमान छ । शक्तिखोर औद्योगिक क्षेत्रमा करिब ७ सय २२ उद्योग रहनेछन् । ती उद्योग चाहिने दक्षजनशक्ति समेत तयार गर्न शिक्षालय सहयोगी हुनेछ ।
अध्यक्ष पौडेलले चितवनका उद्योगको प्रतिनिधित्व झल्कने गरी जुरेथुम्कामा औद्योगिक पार्कसमेत बनाउने योजना रहेको बताए । “निजी क्षेत्र प्रतिबद्ध छ, सरकारी स्तरबाट सहयोग भएमा काम छिटो अघि बढ्ने थियो”, उनले भने, “चितवन प्रदर्शनी केन्द्र सार्वजनिक निजी साझेदारीको सफल नमुना बनेको छ, शिक्षालयपनि यही अवधारणाको अपेक्षामा छ ।” उनले चितवनका हरेक स्थानीय तहमा औद्योगिक ग्राम बनाउन सहयोग गर्ने बताए ।
संघका उपाध्यक्ष त्रिलोचन कँडेलले रोजगार बैंक स्थापना गरिने बताए । “चितवनका उद्योगमा आवश्यक रोजगारीको अवस्थाबारे सहजै जानकारी पाउने गरी ‘रोजगार बैंक’ स्थापना गर्न लागेका छौँ”, उनले भने, “रोजगारदाता, प्राविधिक शिक्षालय, विश्वविद्यालयसँग समन्वय गरेर रोजगारी पाउने वातावरण बनाउन पहल हुनेछ ।” उपाध्यक्ष मदन घिमिरेले हरेक स्थानीय तहमा रहेका उद्योगको जिपिएस सिष्टम सहितको तथ्यांक संकलन कार्य फागुनदेखि सुरु गरिने बताए । उनले जिल्लाका उद्योग कम्पनीका वेभसाइटसमेत संघको वेभसाइटमा लिंकअप गर्ने बताए । उपाध्यक्ष युगराज वस्तीले आगामी वर्ष चितवन प्रदर्शनी केन्द्रमा १० वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रदर्शनी गराउने लक्ष्य लिइएको बताए । उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले सदस्य तथा कर्मचारीहरुको व्यावसायिक तथा औद्योगिक क्षमता अभिवृद्धि प्रयोजनका लागि लेखा, कर अगायत अन्य तालिम तथा विकास कार्यक्रम अर्धवार्षिक, वार्षिक तथा आवश्यकता अनुसार सञ्चालन गर्ने योजना बनेको जानकारी दिए । रुग्ण उद्योगहरुको समस्या अध्ययन गरी समाधान गर्नका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने बताए । संघको कार्यक्षेत्र भित्रका स्थानीय स्तरमा प्राप्त हुने उपज र कच्चा पदार्थहरुको खोज गरी बजारिकरणका लागि सहयोग गरिने बताए ।
उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले प्रदर्शनी केन्द्र परिसरमा घरेलु उपज बिक्री कक्ष निर्माण फागुनदेखि सुरु गरिने बताए । उपाध्यक्ष गजेन्द्र अधिकारीले संघ सदस्यहरुलाई अनुदानमा आधारित मेशिनरी औजार प्रदान गर्ने योजना रहेको बताए ।
२०७६–७८ का लागि चयन भएको कार्यसमितिले चितवनलाई औद्योगिक हबका रूपमा विकास गर्न सक्रिय भएर लाग्ने गरी कार्ययोजना बनाएको छ । विशेष कार्ययोजना तर्जुमा गोष्ठीमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोरले औद्योगिक नीति परिमार्जन गरी औद्योगिकमैत्री बनाउन सरकारसँग पहल गरिने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्