एनसेल दियाे शैक्षिक सामग्री

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीहरुको वितरण सुरु गरेको छ । यसै कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका तीन विद्यालयहरुमा ४४६ वटा शैक्षिक सामग्री वितरण गरिएको छ ।
क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गत मंसिरमा गरेको थियो । यसले विद्यार्थीमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाईरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका, वडा १० का श्री राष्ट्रिय माध्यामिक विद्यालय र मदरसा वहरुल उलूमका २६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
त्यसैगरी एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ति सोनारी गाँउपालिका, वडा ४ मा रहेको श्री बालकशान्ति प्राथमिक विद्यालयका विद्यार्थीलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् । विद्यार्थीले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् ।
यस पहल अन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौका वापत कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्नेछ । कपिलवस्तुका दुई विद्यालयले एनसेल फाउन्डेसनको फेसबुक पेजबाट यस पहलका बारेमा थाहा पाएपछि एनसेल फाउन्डेसनसँग सहयोगको लागि अनुरोध गरेका थिए, भने श्री बालकशान्ति विद्यालयले एनसेलको नेपालगञ्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो ।