कोशी प्रदेशमा वार्षिक आठ अर्बको अलैँची कारोबार

धनकुटा– कोशी प्रदेशमा वार्षिक आठ अर्बको अलैँची कारोबार हुने गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र नेपाल अलैँची व्यवसायी महासंघ केन्द्रीय कार्यालय बिर्तामोड झापाले आयोजना गरेको कार्यक्रममा सो कुरा बताइएको हो । अलैँची बिक्रीबाट कोशी प्रदेशमा एक वर्षमा करिब आठ अर्ब भन्दाबढी रकम भित्रने गरेको विवरण उक्त कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
‘स्वाद अलैँचीको मिठास नेपालको’ भन्ने मूल नाराका साथ धनकुटाको हिलेमा आयोजना गरिएको अलैँचीको उत्पादन, गुणस्तर र बजारीकरण सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले हरेका वर्ष कोशी प्रदेशमा अलैँची बिक्रीबाट ८ अर्बभन्दा बढी रकम भित्रिने जानकारी दिए । किसानले उत्पादन गरेको अलैँचीलाई महासंघमार्फत भ्यालु एड गरेर विदेशी मुद्रा आर्जनको काम भइरहेको भट्टराईको भनाइ छ ।
पछिल्लो समय अलैँचीमा भएको मूल्य वृद्धिले समग्र किसान तथा व्यवसायीलाई समेत उत्साहित बनाएको उनको भनाइ थियो । अलैँची बिक्रीका लागि विदेशी बजारको मात्र भर पर्ने अवस्था अन्त्य हुँदै गएको र स्वदेशमै यसको प्रशोधन गरी खाद्यवस्तु, मसला, चियालगायत उत्पादन हुन थालेको उनको भनाइ थियो । अन्तक्र्रिया कार्यक्रममा किसानहरूले विगत लामो समयदेखि अलैँची खेतीमा देखिएको रोगले र मूल्य गिरावटका कारण किसानलाई समस्या परेको गुनासो गरेका थिए ।
कृषक अमृतबहादुर रानाले अलैँचीमा देखिएको छिर्के, फुर्के गानो कुहिने बोट मर्ने, दाना नलाग्ने जस्ता समस्याले अलैँची खेती गर्ने किसानलाई निराश परेको बताए । अलैँची विकास केन्द्र इलामका प्राविधिक दिलबहादुर श्रेष्ठले अलैँची खेतीमा रोगको समस्या भए पनि हावापानी र जमिनको उचाइको आधारमा अलैँची खेती गर्नु पर्ने बताए । उनले नेपालको हावापानी अनुसार समुन्द्र सतहदेखि २ हजार २ सय मिटर उचाइमाथि राम राई र भर्लाङ्गजातको अलैँची लगाउनु पर्ने बताए ।
त्यस्तै १ हजार २ सयदेखि १ हजार ६ सय मिटरसम्म गोल साई र ६ सयदेखि १ हजार २ सयसम्म जिर्मले र डम्बर साई जातको अलैँची खेती गर्न सकिने भएकोले त्यस अनुसार जातको पहिचान गरी खेती गर्नु पर्ने उनको भनाइ थियो । अलैँची विकास केन्द्रले हरेक वर्ष भाइरस बिरुवा उत्पादन गरी रहेको र यो वर्ष ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ काम भई रहेको उनले बताए । अहिले पनि २० हजार बिरुवा बिक्रीका लागि तयारी अवस्थामा रहको र इलामको रोङ्गगाउँपालिका र फाकफोकथुम गाउँपालिकामा केन्द्रले अलैँची नर्सरी सञ्चालन गरी रहेको जानकारी दिए ।
त्यस्तै राष्ट्रिय कृषि अनुसन्धान केन्द्र पाख्रिवासका अलैँची विज्ञ मनिस ठाकुरले टिस्यूकल्चरबाट उत्पादन गरिएको अलैँचीको बिरुवाले समेत राम्रो उत्पादन दिने र बिरुवा समेत भाइरस मुक्त हुने भएकोले किसानले त्यसरी उत्पादन गरेका बिरुवाबाट बगान लगाएर रोगको व्यवस्थापन गर्न सकिने बताए ।