स्वयं रुमलिएको हो वा जनतालाई रुमलाएको हो ?

हाम्रो जस्तो वैदिक सनातनी समाजको अविरल यात्रा वर्तमान कालखण्डसम्म आइपुग्दा बाला चतुर्दशीको शुभसाइत हेरेर पितृहरूको सेवामा परम्परागत रूपले छर्ने गरिएको विविध अनाजसरि छरिएका आधुनिकताका मसिना दाना झ्याङ्गिएर समाजको एकरूपता (होमोजेनिटी) मा सीमित नरही विषमता (हेटेरेजेनिटी) मा लट्पटिएको सत्यतालाई अस्वीकार गर्न सक्ने ठाउँ कतै देखिँदैन । हाम्रो सामाजिक संरचना र व्यवस्था अहिले चलिरहेको राजनीति र अर्थतन्त्रको प्रभावका कारण पनि उत्तिकै विषम बनिसकेको यथार्थ एउटा खुला किताबझैँ हाम्रा सामु छ ।
वि.सं. १९१० मा कास्की र लमजुङका तत्कालीन महाराजा जंगबहादुर आफ्नो बेलायत यात्राबाट फर्केपछि जारी गरिएको मुलुकी ऐनले पनि त्यसतर्फ धेरै नै दूरगामी प्रभाव पार्ने खालका सैद्धान्तिक विषयहरूलाई समेटेको छ । झन् त्यसभन्दा पहिल्यै गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दागर्दै जनस्तरमा पुर्याएका दिव्योपदेश त कालजयी नै बन्न पुगेको तथा हामी सम्पूर्ण देशवासीका लागि आज पनि त्यत्तिकै सान्दर्भिक प्रमाणित भइसकेको छ । हुन त नेपालको कानुनको इतिहास हेर्दा १४ औं शताब्दीमा राजा जयस्थिति मल्लले ‘नेपालमा मानव न्यायशास्त्र जारी गरेको पाइन्छ । त्यसपछिका शासक वा सरकारहरूबाट राज्यलाई समान प्रकारको कुनै न्यायिक दस्ताबेज हस्तान्तरण भएन ।
राजा वीरेन्द्रको आफ्नै स्वविवेकबाट ल्याइएको ‘नेपालले विश्वमै शान्ति क्षेत्रका रूपमा मान्यता पाओस्’ भन्ने वसुधैव कुटुम्बकम्को वैदिक परम्परा बोकेको दार्शनिक प्रस्तावले विश्वभरिका सयौँ देशको समर्थन त जुटायो, तर के–कति कारणले मित्रराष्ट्र भारतकै समर्थन प्राप्त नगर्दा नेपालले अघि सारेको त्यो प्रस्ताव अनायासै निरर्थकजस्तो ठहरियो । हाम्रो शरहदभित्रै अनेकौँ बाह्य शक्तिको बढ्दो चलखेलले गर्दा हामी नेपालीका गौरवमय इतिहासका पानाहरू च्यातिँदै गए ।
नेपाली हरेस खाने जाति नभएकाले आफ्नो देशको मान, मर्यादा र प्रतिष्ठामा नयाँ–नयाँ ऐतिहासिक उपलब्धिका कडी थप्ने प्रयास नेपाली जनताले सदैवदेखि गर्दै आइरहेका छन् । यद्यपि, नेपालीको आस्था श्रममा विशेष गरिरहने भएकाले कुटो–कोदालो खनेर वा दुई हल गोरु जोतेर भए पनि आफ्ना खेतबारीमा अटुट रूपले उत्पादन गरिरहने गरेको विश्वले देख्दै आइरहेको छ । हाम्रो वीरता र पौरख विश्वका अनेक मुलुकका लागि उदाहरण रहँदै आएको इतिहास साक्षी छ । यति हुँदाहुँदै पनि हाम्रा विगतका सामाजिक, राजनीतिक र आर्थिक उन्नतिहरूको अनुसन्धनात्मक विश्लेषणमा केही मात्र स्वनामधन्य इतिहासकार र दुई–चार जना विदेशी विद्वान्हरूले बाहेक अरूले आफ्नो कलम तिखार्न सकेका छैनन् ।
अहिलेसम्म त्यो क्षेत्रमा कुनै उल्लेख्य कार्य हुन नसकेको जनगुनासो छ । नेपालको प्रतिष्ठा विश्वमा बढ्दै जाने अनेकन् अदृश्य कारण हाम्रा द्वन्द्वात्मक क्रियाकलापहरूले गर्दा लोप हुँदै गए अथवा गराइए । समाजमा शंकराचार्य र योगमायाहरूले चालेका पाइलाहरूको निसान मेटाइँदै गए । हाम्रो सानो हिमवत्खण्डमा रहेको वैदिक सनातनी जीवनशैलीलाई शाश्वत ढंगले स्थापित गर्न नपाउँदै विभिन्न सञ्चार शक्तिको बलियो आडमा हामीउपर सांस्कृतिक आक्रमण (कल्चरल इन्भेजन) बढ्दै गयो ।
आधुनिक शिक्षाका नाममा हामीले घाँटीमा झुन्ड्याउने टाई नझुुन्ड्याई विद्यालय जान नपाउने र घरमा आमाबुबालाई मम्मी र ड्याडी भन्नुपर्ने र बिहानै उनीहरूको चरण स्पर्श गर्नुको सट्टा गुड मर्निङ भन्नुपर्ने जस्तो प्राथमिक शिक्षा पद्धतिलाई आयात मात्रै होइन, स्थापित नै गर्यौं । र, केही टाठाबाठाले मिलेर त्यसको व्यापक व्यवसायीकरण पनि गरे, गरिरहेका छन् । हाम्रा भान्साहरूको स्वरूप बदलियो । पूजाकोठाको ठाउँ हराउँदै गयो । हाम्रा प्राथमिक शिक्षाको मौलिक स्वरूपमा आएको परिवर्तनसँगसँगै हामीले आफ्ना पूर्वजहरूबाट विरासत वा उत्तराधिकारमा प्राप्त गरेका हाम्रा पारिवारिक-सामाजिक संस्कारका अमूल्य धरोहरहरूलाई बिस्तारै गुमाउँदै जानुपर्ने विद्यमान अवस्था सुखद होलान् र ? प्रत्येक दस वर्षमा एउटा अनुयुग (इरा) आउँछ । त्यसले बदलिँदै गरेको अग्रगामी समाजमा युगले रंगी–विरंगी परिवर्तनका झिल्का लिएर आउनु स्वाभाविक हो । त्यसैले परिवर्तनका फिलिङ्गाहरू देखेर भयभीत हुनुपर्ने कुनै आवश्यकता छैन ।
यदि त्यस्ता फिलिङ्गाहरू चुनौतीका रूपमा तेर्सिन्छन् भने तिनलाई अवसरमा बदल्नु श्रेयस्कर हुन्छ । आफ्ना श्रेयस्कर कामहरूद्वारा नै शासक वर्ग शोभित हुने गर्छन् । विश्वका सम्पूर्ण मिथकहरूमा त्यसलाई प्रस्ट्याइएको छ । देश, समाज र नागरिकलाई यथास्थितिबाट बदतर अवस्थामा पुर्याउँदै लोभी, लालची, स्वार्थी बन्दै स्वयं तमगुणहरूले भरिएको विकृत व्यक्तित्व कहिल्यै पनि नेतृत्वको पंक्तिमा उभिन योग्य मानिँदैन । अहिलेको हाम्रो सरकार चुकेको यहीँ छ । प्रत्येक दिन हजारौँ थरीका भ्रष्टाचार र मिलोमतोमा जनेच्छाविरोधी दुष्कार्यहरूको पुनरावृत्तिले भुइँमान्छेहरू पीडित छन् । हाम्रा नेतागणको त्यस प्रकारको प्रवृत्तिले नेतागणलाई मात्रै होइन, नेपालीपन लिएर स्वाभिमानका साथ बाँचेका वा बाँच्न खोज्ने असंख्य नेपालीलाई समेत लिएर दुर्भाग्यपूर्ण रूपले विनाशको गतिमा डुबाउने निश्चित छ ।
वैदिक सनातन कालको पूर्वाद्र्धदेखि आजको उत्तरआधुनिक युगसम्मको लामो यात्रामा नेपालले आफ्नो अस्तित्वमा लेस मात्र पनि आँच आउन नदिई सदैव अग्रगामी बन्दै विश्वका उन्नत मुलुकहरूसँग उभिन विकासका अद्भुत चरणहरू पार गर्दै आएको, अनादि कालदेखि स्वतन्त्र रही कहिल्यै कसैको उपनिवेशसमेत नरहेको हाम्रो मातृभूमि आजको युगको मार्गमा विभिन्न तरिकाले अगाडि बढ्दै आइरहेको छ । ज्ञान, विज्ञान, अत्याधुनिक प्रविधिलगायत शासन–प्रणाली, नवप्रवर्तन, आविष्कार, कल–कारखाना, उद्योग, व्यापार तथा वाणिज्य, राजनीति र कूटनीतिका क्षेत्रमा यथेष्ट अनुभव र इलम हासिल गर्दै आएको अवस्था छ । अहिलेको हाम्रो सरकारले न त्यस्ता अमूल्य ज्ञान, अनुभव र इलमलाई नेपाली जनजीवनमा चरितार्थ गरी जनसमक्ष प्रस्तुत गर्न सकिने वातावरण सृजना गर्न सकेको छ, न समाजका प्रतिभाशाली विद्वान्हरूलाई उपयुक्त ठाउँमा राखेर मुलुकको सुशासनयुक्त प्रगतिपथलाई प्रशस्त गर्न । जसले गर्दा देशका अनगिन्ती युवा प्रतिभा बिदेसिन बाध्य भइरहेका छन् । तिनका वृद्ध अभिभावक र आमा–बुबाहरूको अन्तरोदन अरण्यरोदन बनेको छ । केही चासो छ, हाम्रो तथाकथित मिस्रीलेपित जिब्रो भएको हाम्रो सरकारलाई यस विषयमा ?
जनता र विशेष गरी युवाहरूप्रति त अहिलेको गठबन्धने सरकार सकारात्मक हुन नसके वा नचाहे पनि किन यति प्रस्ट तरिकाले नकारात्मक ? राज्यलाई टुक्रै टुक्रा पार्ने, हरेक टुक्रामा आफ्ना झोलेहरू रहेको छोटे शासकहरूको जत्था खडा गर्ने, सामान्य नागरिकले कल्पनै गर्न नसक्ने सुख–सुविधाहरू बढाउँदै लैजाने, विशिष्ट व्यक्तिको नामकरण गर्दै त्यस्तालाई आजीवन तलबभत्ता, सवारी, सुरक्षा र बंगलाको व्यवस्था गरिदिने, अर्कातिर आमनागरिकका छोराछोरीलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिदिनुको सट्टा पराई भूमिमा बेल्चा चलाउन वा भेडा, ऊँट चराउन र पाईखाना सफा गर्नेजस्ता निकृष्ट काम गर्न पठाउने जस्तो देशद्रोही काम किन ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक वर्ष औसतमा ६६ हजार युवालाई विदेशतर्फ किन लछार्छौं । हाम्रा टाउकाहरूमा २७ खर्बको ऋणभार किन थुपारेको सरकार ?
सोझासाझा नेपाली आमाका सन्तानहरूलाई पटमूर्ख बनाएर नेता भइटोपलेका केही हस्ती नभएकाहरूले देशलाई हात्ती बनाएर स्वयं हस्तीचारी बन्ने छुट कसले दियो ? एउटै टोलका विभिन्न गल्लीबाट निस्केर आएका तमाम जननेता कहलिनेहरूलाई एकापसमा वैमनस्यताका तीखा स्वरमा विषवमन गर्दै भुकेको सुन्दा उहाँहरूप्रति हामी जनताका मनमा आक्रोश, असन्तोष र ग्लानिका साथसाथै टीठ नै पैदा हुन्छ । आमजनताको इच्छा, आकांक्षा र साँचिराखेका सपनाहरूलाई बेपर्वाहका साथ अनभिज्ञता प्रदर्शन गर्नु के उहाँहरूलाई सुहाउँदो विषय हो त ? तँ ठूलो कि म ? तैँले पढ्या छस् कि मैले ? तँ जेल गइस् कि म ? जस्ता अनावश्यक विषयमा बहस गर्दै संसद्मा आफूले पाएको समय खर्चिनुमा कुनै तुक छ ? टिभी र सामाजिक सञ्जालले सम्पूर्ण देशवासीसमक्ष सम्मानित संसद्भित्र जनहितका कामहरूको जिम्मेवारी लिएर बसेका सांसदहरूको वाक्युद्ध र यदाकदा उनीहरूले पाखुरो सुर्केको पनि देखाइदिन्छ । संसद्, सदनभित्र प्रवेश गर्नासाथ माननीयहरूले आफ्नो सम्पूर्ण अतीत बिर्सने कस्तो रोग हो ? अरूलाई होच्याएर स्वयं अग्लिन खोज्नु कस्तो बेहयापन हो ? नागरिकलाई सभ्य, शिष्ट र सुसंस्कृत भएर प्रस्तुत हुनुपर्ने पाठ पढाइन्छ तर त्यस गरिमामय सदनभित्र त्यस्तो शिक्षा दिने पनि घरीघरी आवेशको वशीभूत भएर सबैको प्रिय लाग्ने आचार व्यवहार किन बिर्संदा हुन् ?
मुलुक पीडाको कुन प्रशान्त गहराइमा पुगिसक्यो ? हामी सम्पूर्ण नेपाली एक हौँ भन्दाभन्दै हाम्रा मनहरू किन, केको भारी बोकेर थाकेका हुन् ? ओठ मुखमा अलिकति भए पनि बचेखुचेका सन्तोषका मुस्कानहरू कुन खाडी वा मरुभूमिमा जोतिन पुगे होलान् ? हाम्रा विमानस्थलमा चिसा राता बाकसहरू उत्रिँदा देश हाँक्ने सारथीहरूको निष्ठुर आत्मा चिस्सिँदैन होला र ? किन चिस्सिने ? सुनैसुनले भरिएका बाकसहरू पनि त त्यहीँ उत्रिन्छन् । भ्रष्टाचार र अपराध जन्माउँदै सेटिङमा । हो, त्यहीँबाट हराउँछन् पनि । एकथरी स्वनामधन्य मानिस, जो चिनिए पनि चिनिँदैनन्, रातारात कुबेरका वरद् सुपात्र बन्ने अवसरका भोगी बन्छन्, अर्का थरीले आफ्नो जीर्ण कायाभित्र बचेखुचेको देशकै झन्डाको रंग प्रतिविम्बित गर्ने रातो रगतलाई पसिना बनाएर अनवरत बगाइरहँदा पनि जिजीविषाका अँध्यारा बादलहरूले उसको जीवनमा कुनै शीतल बर्सात नगरी किन कुनै अपरिचित आकाशमै हराउँछन् ?
आम नागरिकका जिउने लालसाहरूको निर्मम कत्तल गरेर राज्यलाई कुनै अर्थमा पनि हाम्रा राजनीतिक तन्त्रहरूले कल्याणकारी बनाउन सक्दैनन् । राज्य व्यवस्थालाई जे तन्त्रमन्त्र नाम दिए पनि त्यो कदाचित शाश्वत वा दिगो रहन सक्तैन । दस वर्ष लामो द्वन्द्वकालपश्चात् देशमा जनचाहना ल्याएको न्यायको सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताजस्ता आदर्शका नीतिहरूको खुबै रटान चल्यो । एउटा नयाँ हावा बग्यो । त्यस हावाले नेपाल आमालाई सुखी, समृद्ध र समुन्नत बनाउनेछ भन्ने विश्वास दिलाउनेहरू दोहोर्याई–तेहेर्याई जनताको गद्दीमा सधैँ आसीन रहन तँछाड र मछाडको रस्साकस्सीमा झुमिरहे । अठार वर्षमा नेपालमा तेह्रवटा सरकार बने । एउटा सरकारको पाङ्ग्रा नगुड्दै अर्को सरकार बन्छ । झन्डै–झन्डै एउटै झुन्डको । कस्तो अनौठोको रुमलाइले राज गरेको ग¥यै छ । टिभी र सामाजिक सञ्जाल हेर्नेहरूले देश जस्ताको तस्तै तर देश चलाउने प्रचालकहरूको आवास, गाडी, घडी, चस्मा र जुत्ता र सुत्ने पलङसमेत फेरिएको पक्कै पनि देखे । ती स्वयं रुमलिएका हुन् वा आमजनता हाम्लाई रुमलाएका हुन् ? बुझिनसक्नु छ ।