Logo

‘लगानीमा मुख्य चासो राजनीतिक वातावरण’

काठमाडौं– भारतीय उद्योगी व्यवसायीले राजनैतिक वातावरणलाई हेरेर मात्र नेपालमा लगानी गर्ने निर्णय लिने गरेको देखिएको छ । राजनैतिक स्थिरता कायम भइ लगानीको वातावरण अनुकुल देखिएका बेला भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक देखिने गरेको एउटा सर्वेक्षण रिपोर्टले देखाएको हो ।

नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले गरेको एक अध्ययनमा राजनीतिक अवस्था लगानीको निर्णय गर्न प्रमुख आधार हुने गरेको उल्लेख छ । अध्ययन रिपोर्ट फागुन अन्तिम साता एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । नेपालमा पटक–पटक सरकार परिवर्तन भइरहन्छ । पछिल्लो १५ वर्षमा मात्र १७ वटा सरकार बनेका छन् । सरकार परिवर्तन भए पछि नीतिहरु पनि परिवर्तन गर्ने प्रचलन छ ।

उद्योगी व्यवसायीहरुका लागि राजस्वका दरहरु छिटो छिटो परिवर्तन भए समस्या पर्छ । यस्तै उद्योग व्यवसायसँग आवद्ध हुने नीतिहरु पनि चाँडो फेरवदल गरिदाँ लगानीको जोखिम उत्पन्न हुन्छ । नेपालमा भने सरकार परिवर्तनले यस्ता समस्या आएका धेरै उदाहरण छन् । अध्ययनमा नेपालमा सञ्चालित भारतीय कम्पनीहरूले राजनीतिक वातावरण आफ्नो प्रमुख चासोको विषय रहने बताएका थिए ।

अध्ययन रिपोर्टका अनुसार ८८ प्रतिशतले लगानीको निर्णय गर्दा राजनीतिक वातावरणले प्रभाव पर्ने बताएका थिए । अध्ययनमा नेपालमा सञ्चालित ३० भारतीय लगानीकर्तामध्ये १७ वटालाई समेटिएको थियो । अध्ययनमा समेटिएका लगानीकर्ताले नेपालमा सबैभन्दा बढी समस्या नीतिगत अस्थिरता रहेको बताएका छन् । उनीहरुले कानूनी तथा प्रशासनिक र प्रक्रियागत रुपमा समस्या रहेको भनेका छन् ।

यस्तै पूर्वाधारको विकास पनि समस्याको रूपमा रहेको उनीहरुको भनाई छ । अध्ययन रिपोर्ट अनुसार भौगोलिक दुरी, सस्तो र प्रयाप्त जनशक्तिलगायतका कारण नेपालमा लगानी गरेको भनिएको छ । यस्तै नेपालमा ३ देखि ५ वर्षभित्र व्यवसाय ’ब्रेक इभन’ मा पुग्ने गरेको अध्ययनले देखाएको छ ।

यस्तै लगानीको वातावरण बनाउन सरकारले नीतिगत स्थिरता कायम गर्ने कामलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ । रिपोर्टमा नेपालस्थित भारतीय दूतावासको तथ्यांकअनुसार सन् २०२२ सम्ममा नेपालमा भारतका १५० कम्पनीले लगानी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्