सेयर लगानी उत्पादक कि अनुत्पादक ?

नेपालको अर्थतन्त्रमा विगतदेखि नै चल्दै आएको बहस हो स् सेयर बजारमा गरिएको लगानी उत्पादनमूलक वा अनुत्पादक । यस विषयमा बहस गर्नुभन्दा पहिले स्पष्ट हुनुपर्ने कुरा हो स् सेयर बजारमा प्राथमिक बजारमा लगानी गर्ने वा दोस्रो बजारमा लगानी गर्ने र त्यो पनि कुन कम्पनीमा । सामान्यतया उत्पादनमूलक व्यवसाय भन्नाले कुनै पनि वस्तु तथा सेवामा उपयोगिता थप गर्ने कार्य हो । त्यस्तै कुनै व्यवसायले सोझै वस्तु तथा सेवाको उपयोगितामा वृद्धि ल्याउँदैन र नाफा वा घाटा त्यस वस्तु तथा सेवाको मूल्य सट्टेबाजीमा निर्भर गर्छ भने त्यसलाई अनुत्पादक लगानी भनिन्छ । बाँझो जग्गा खरिद, सुन खरिद गर्नु आदि अनुत्पादक लगानी हो तर सोही बाँझो जग्गा खरिद गरी कृषि पेसा गर्नु, उद्योगमा लगाउनु आदि कार्य गर्नुचाहिँ उत्पादनमूलक क्षेत्रमा भएको लगानी भनेर बुझिन्छ । यस अर्थमा जग्गा कारोबार गर्ने कम्पनीमा गरिएको लगानी अनुत्पादन हुन सक्ला, तर सडक निर्माण, घर निर्माणजस्ता कार्यहरूले उपयोगितामा वृद्धि ल्याउने हुँदा त्यसलाई उत्पादनमूलक भनी व्याख्या गरिनुपर्छ । उत्पादनमूलक क्षेत्र हुँदाहुँदै पनि प्राथमिकता प्राप्त क्षेत्र भने नहुन सक्छ । प्राथमिकता प्राप्त क्षेत्रका रूपमा परिभाषित गर्दा, कुनै उत्पादनमूलक क्षेत्र पनि राज्यको प्राथमिकता प्राप्त क्षेत्र नहुन सक्छ । यस अर्थमा प्राथमिक बजारमा गरिएको सेयर लगानी यदि उत्पादनमूलक कम्पनीमा गरिएको छ भने सो उत्पादनमूलक लगानी हो भन्ने कुरामा कुनै दुईमत छैन । दोस्रो बजारमा गरिने लगानीलाई पनि यसै गरी हेर्नुपर्ने हुन्छ । कसैले कुनै क्षेत्रमा गरेको लगानी उत्पादनमूलक हुने तर त्यही लगानीलाई अर्को कुनै व्यक्तिमा स्वामित्व हस्तान्तरण हुनासाथ सो अनुत्पादन क्षेत्रमा गरिएको लगानी भनी गरिने वर्गीकरण न्यायसंगत नहुन सक्छ । दोस्रो बजारमा मूल्य अस्थिरताका कारण पुँजीको प्रतिएकाइ प्रतिफल कम हुन सक्छ, तर सेयर बजारमा गरिएको लगानी अनुत्पादक क्षेत्रको लगानी भने कदाचित होइन ।
सेयर धितोमा ऋण लगानीले समग्रमा लिभरेज असरलाई वृद्धि गर्छ । कुनै कम्पनीको वासलातमै ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वइक्विटी छ भने ३० प्रतिशतमध्येको स्वइक्विटीमा समेत ५० प्रतिशत ऋण प्रवाह हुँदा समग्र बजारमा ८५ प्रतिशतबराबरको ऋण प्रवाह भएको अवस्थालाई दर्साउँछ । सेयर धितोमा प्रवाह गरिने ऋण नेपालको अर्थतन्त्रको प्राथमिकता प्राप्त क्षेत्रअन्तर्गत नराखिएको प्रस्टै छ । यो कदम हालका अर्थमन्त्री पदमा आसिन हँुदा होस् वा विगतमा सो पदमा नहुँदा होस्, उनले सोहीअनुसारको व्यवहार गरेको पाइन्छ । सेयर कर्जालाई अनुत्पादक भनी व्याख्या गरियो भन्दै बजारमा ल्याएको तरङ्ग केवल खतिवडा फोबियाभन्दा अरू केही हुन सक्दैन । विगतलाई समेत हेर्ने हो भने यस वर्षको मौद्रिक नीतिले नै एक करोडसम्मको व्यक्तिगत ओभरड्राफ्टको सीमा ७५ लाखमा सीमित गर्ने कदम चालेको थियो भने सेयर धितोमा दिइने कर्जाको सीमा प्राथमिक पुँजीको ४० प्रतिशतमा सीमित गरिएको थियो । यसले सेयर धितोमा कर्जाको अधिकतम सीमा कायम गरेको थियो । त्यस्तै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा समेत घरजग्गामा अस्वाभाविक मूल्य वृद्धि आएको आकलनसँगै काठमाडौं उपत्यकाभित्रको घरजग्गासमेत लोन टु भ्यालु रेसियोलाई ४० प्रतिशतमा सीमित गरिएबाट अर्थतन्त्रको स्वस्थतामा प्रश्न चिन्न लगाएको पाइन्छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नै पनि प्राथमिकता प्राप्त क्षेत्रमा लगानीको सीमा वृद्धि गरी २५ प्रतिशत पु¥याउनुपर्ने व्यवसायले अनुत्पादक भनिएका क्षेत्रहरूको आयातलाई निस्तेज गरी समग्र कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष भूमिका खेल्ने क्षेत्रको लगानी वृद्धिले भविष्यमा अर्थतन्त्रको वृद्धिलाई मलजल गर्छ । अर्थतन्त्रको वृद्धिले समग्र पुँजीबजारको वृद्धिमा सहयोगी हुनेछ ।
सेयरमा गरिएको ऋण लगानी पक्कै पनि राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र होइन । यसलाई नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका, २०७४ को निर्देशिका नं। १७ अन्तर्गत समावेश गरिएको छैन । यसमा प्रथमिकता प्राप्त क्षेत्रका रूपमा विपन्न वर्ग तथा तोकिएका उत्पादनशील क्षेत्रको रूपमा व्याख्या गरिएको छ । तोकिएका क्षेत्रहरूमा कृषि, ऊर्जा, पर्यटन, घरेलु तथा साना उद्योगलाई समेटिएको छ । विपन्न वर्गबाहेकका क्षेत्रमा गरिएको लगानी प्राथमिकता प्राप्त क्षेत्र हुनका लागि सो लगानी प्रत्यक्ष लगानी हुनुपर्ने अथवा अप्रत्यक्ष लगानीलाई गणना नगरिने व्यवस्थाबाट विगतदेखि नै सेयर लगानीमा कर्जालाई प्रथमिकता प्राप्त क्षेत्रभन्दा बाहिरको लगानीका रूपमा वर्गीकरण गरिएको पाइन्छ । यस अर्थमा सेयर धितोमा कर्जालाई नेपालको अर्थतन्त्रमा विगतमा समेत प्राथमिकता प्राप्त क्षेत्रका रूपमा लिएको पाइँदैन । यस अर्थमा हालका अर्थमन्त्रीको धारणा विगतका अर्थमन्त्रीको धारणाभन्दा अलग छैन । तर, सेयर बजारलाई अनुत्पादक क्षेत्रको लगानी भनेर परिभाषित गरिनु सरासर तथ्यभन्दा बाहिरको वकालत भन्न सकिन्छ । यसलाई राष्ट्रिय प्राथमिकता अप्राप्त अप्रत्यक्ष उत्पादनमूलक क्षेत्रको लगानीका रूपमा परिभाषित गरिनु आवश्यक छ । यसो नगरिए पुँजी निर्माणको कोसेढुंगाका रूपमा रहने पुँजीबजारप्रति आमलगानीकर्ताको आस्था गुम्ने अवस्था आउन सक्छ । हाल अर्थमन्त्रीका अभिव्यक्ति मध्यनजर गर्दा उनी बजारप्रति नकरात्मक होइन कि पुँजी बजारलाई थप स्वस्थ र पारदर्शी बनाउने पक्षमा छन् भन्ने ठम्याउन कुनै कठिन छैन । बीबीसी नेपाली सेवामा दिएको अन्तर्वार्तामा घरजग्गा, सेयरबजार र मोटर गाडीमा गरिएको ऋण लगानीका बारेमा बोलेको पाइन्छ, जसको आशय अब बैंकको ऋण घरजग्गा खरिद गर्न र बिक्रीबाट आएको रकम केवल सेयर कारोबारमा लगाउने खेललाई इङ्गित गरेको पाइन्छ । उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरी समग्र अर्थतन्त्रका अवस्थाहरूलाई बलियो बनाउने र कालान्तरमा समग्र अर्थतन्त्रमा वृद्धि ल्याउने प्रयत्नका रूपमा उनको भनाइलाई लिन सकिन्छ । विगतको पुँजी बजारको चक्र र युवराज खतिवडाको पदीय अवस्थालाई समेत जोडेर हालको बजारलाई विश्लेषण गर्ने गरेको पनि पाइन्छ, तर सो विश्लेषणमा समयगत वस्तुस्थितिलाई समेत दृष्टिगत गरिनु आवश्यक छ । खतिवडा गर्भनर हुँदा देश दसवर्षे द्वन्द्व र द्वन्द्वपश्चात्को संक्रमणमा थियो, राजनीतिक एजेन्डाले मुख्य स्थान लिएको थियो भने आर्थिक समृद्धितर्फ राजनीति केन्द्रित थिएन । नेपालको वित्तीय व्यवस्थालाई अन्तर्राष्ट्रिय जगत्ले कालोसूचीमा राख्ने सन्त्रासका बीच गभर्नर नियुक्त भएका थिए । देशमा साँच्चिकै तरलताको चरम अभाव थियो, जसको समाधान गर्नु उनको मुख्य ध्येय थियो । तर, हाल बजारमा विगतको जस्तो अवस्था छैन । राष्ट्र बैंकसँग ११ महिनाको आयात धान्न पुग्ने मुद्रा सञ्चिति छ । विगतमा ठूलो लगानी गरेका परियोजनाहरू अर्थतन्त्रमा थप योगदान दिन सक्ने अवस्थामा आइपुगेका छन् । यसले थप रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्न सहयोग पुग्नेछ । अबको अवस्था भनेको आयात प्रतिस्थापनमा जोड, रोजगारीको सिर्जना, थप लगानी वृद्धि, सञ्चालित आयोजनाको कार्यान्वयन, सरकारी साधनस्रोतको समुचित वितरण र खर्च गर्ने क्षमतामा वृद्धि, उत्पादनमूलक क्षेत्रमा पुँजीको आपूर्ति र तीव्र आर्थिक विकासका लागि थप वैदेशिक लगानी वृद्धिमा अर्थमन्त्रीको चासो र कार्यदक्षताको आवश्यकता हो । यदि आफ्नो नैतिकताबाट विचलित भएनन् भने उनी यसका लागि दक्ष छन् । उनलाई उच्च राजनीतिक तहको समर्थन छ । सरकार करिब दुईतिहाइ बहुमतका साथ दरिलो अवस्थामा छ । राजनीतिक समस्याहरू एक हदसम्म सन्तुलनमा छ । उनका लागि चुनौती भनेको उनी टेक्नोक्य्राट हुन, वित्त नीतिभन्दा वित्तीय नीति निर्माणमा धेरै समय खर्चेका व्यक्ति हुन् । तसर्थ राजनीतिक कूटनीतिलाई सन्तुलनमा राख्दै वित्त र वित्तीय नीतिको सीमालाई दृष्टिगत गरी समष्टिगत विवेकशील नियमका आधारमा अर्थमन्त्रीको हैसियतमा आफूलाई स्थापित गर्न सक्नु उनको व्यक्तिगत र समग्र अर्थतन्त्रको हितमा रहन्छ ।
समग्र भन्नुपर्दा, अर्थमन्त्रीको कार्यदिशा अर्थतन्त्रलाई स्वस्थ, सबलीकृत र दिगो वृद्धितर्फ छ भन्ने कुराको आकलन गर्न सकिन्छ । उनका जुन अभिव्यक्तिहरू आमसञ्चार माध्यममा आएका छन्, ती अभिव्यक्तिमा पुँजीबजारमा विगतको वित्त नीति र मौद्रिक नीतिमा उल्लिखित विषयभन्दा बाहिरका कुरा उठाउनुभएको पाइँदैन । हाल अर्थतन्त्रमा केही असन्तुलन छ, जसलाई सन्तुलनमा ल्याउन सरकारी विकास खर्चमा नियमितता ल्याउनुका साथै राजस्वको दायरामा वृद्धि र प्रणालीगत सुधार गर्नु जरुरी छ । त्यस्तै हुन्डीको कारोबार हुने अर्थतन्त्रहरूसँग बैंकिङ पहुँच र प्रणालीगत विकास र हुन्डीलाई निस्तेज पार्ने कदम साथै विदेशी लगानीका लागि समन्वयकारी भूमिका निर्वाह गर्न सकेको अवस्थामा अर्थतन्त्र चलायमान हुनेछ । थप चलायमान बनाउन उनको विज्ञताले अतिरिक्त काम गर्नेछ । यस्तो अवस्थामा साना लगानीकर्ताहरूले आफ्नो थैलो मजबुत गर्ने र थैलोभित्र कतै बिग्रेको चिज-वस्तु त छैन, ध्यान दिने समय हो । समग्र अर्थतन्त्रको विकाससँगै सेयर बजार स्वस्थ अवस्थाको वृद्धि निकट भविष्यमा देख्न सकिन्छ, जुन वृद्धि जगैदेखि दरिलो भएर आउनेछ । खतिवडाले आगमन चलखेल गर्ने व्यक्तिका लागि कठिन हुन सक्ला तर लगानीका लागि स्वर्णिम समय हुने आकलन गर्न सकिन्छ । कुनै पनि परिवर्तन अगाडि त्यसप्रति नकारात्मक टीकाटिप्पणी आउनु सामान्य हो । यस्तो तरल अवस्थामा चलखेल गर्नेले ठाउँ पाएको महसुस गरी सलबलाउने प्रयत्न गर्नेछन्, जसप्रति आमलगानीकर्ता सजग रहनुपर्छ ।
९लेखक लगानी तथा जोखिम विश्लेषक हुन् ।