पर्वतमा छ महिनामै १३३ उद्योग बन्द

पर्वत– मुलुकमा देखिएको आर्थिक मन्दिको प्रभाव, बढ्दो पलायनलगायतको प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रुपमा परेको छ । पर्वतमा चालु आर्थक वर्षको पहिलो छ महिनामै १३३ उद्योग बन्द भएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा २३६ उद्योग बन्द भएकोमा चालु आर्थिक वर्षको छ महिनामा १३३ उद्योग खारेज भएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको संख्या उल्लेख्य रहेको छ ।
चालु आर्थिक वर्षमा कार्यालयमा ९९ उद्योग दर्ता भएका छन् । जसमध्ये ४९ वटा उद्योग र ५० वटा बाणिज्य फर्म दर्ता भएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिए । खारेज हुनेमा ६४ उद्योग र ६९ बाणिज्य फर्म रहेका छन् । दैनिकजसो उद्योग दर्ता गर्ने भन्दा बन्द गर्न आउने सेवाग्राहीको संख्या बढ्दै गएको उनले बताए । यसैगरी आर्थिक वर्ष २०८०/०८१ को अन्त्यमा तीन हजार ४१३ उद्योग रहेकोमा अहिले घटेर तीन हजार ३९० पुगेका छन् भने तीन हजार २४७ बाणिज्य फार्म कायम रहेकोमा अहिले तीन हजार १३५ उद्योग रहेको कार्यालय प्रमुख शर्माले बताए ।
६ महिनामै १३५ वटा उद्योग व्यवसायको संख्या कम भएको हो । मुलुकमा देखिएको आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायतका कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख शर्माले बताए । उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुरवि पौडेलले बताए । व्यापार व्यवसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुने क्रम बढेको उनको भनाइ छ ।
लाखौं रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरेपनि पर्याप्त आम्दानी हुन नसकेपछि उद्योग तथा व्यवसायी नै विस्थापित हुनुपरेको उनको भनाइ छ । कोरोना संक्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रमसमेत उल्लेख्य मात्रामा रहेको कार्यालयले जनाएको छ । कोरोना संक्रमणपछि देखिएको चौतर्फी आर्थिक मन्दीको प्रभाव उद्योग व्यवसायमा परेको हो । नेपाल सरकारबाट बेरोजगार समस्या समधानका लागि उद्योग व्यवसायीलाई प्रोत्साहन कार्यक्रम आउन थालेपछि उद्योग दर्ता प्रक्रिया बढ्दै गएपनि सोही अनुपातमा बन्द गर्ने क्रम पनि नरोकिएको उनको भनाइ छ ।
कार्यालय प्रमुख शर्माका अनुसार कृषि, पशुपंक्षी फार्म, फलफूल खेती, गाई–भैंसी पालन, होमस्टे, व्यावसायिक बाख्रा पालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्नेहरु बढ्दै गएका छन् । वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको हुनसक्ने उनले बताए । वाणिज्य फर्मतर्फ भने दर्ताको संख्यासँगै बन्द हुनेको संख्य पनि उच्च रहेको छ ।
कतिपय देशमा बैंक मौज्दात ग्यारेण्टी देखाउनुपर्ने र उक्त मौज्दात देखाउँदा फर्म वा कम्पनीको नाममा देखाउनुपर्दछ । यसका लागि पर्यटन तथा उद्योग कार्यालय वा स्थानीय तहमा फर्म वा उद्योग दर्ता भएको प्रमाणपत्र आवश्यक पर्नेले दर्ता गरेपनि व्यावसायिक दृष्टिकोणले दर्ता गर्नेहरु न्यून रहेको देखिएको छ । पछिल्लो समय उद्योग व्यवसाय दर्ता प्रक्रिया पर्यटन तथा उद्योग कार्यालयसँगै स्थानीय तहबाट पनि हुन थालेको छ ।
दुवै निकायबाट उद्योग दर्ता हुने गरेपछि व्यवसायीहरु कहाँबाट दर्ता गर्ने भन्ने विषयमा अलमल पर्न थालेका छन् । पर्यटन तथा उद्योग कार्यालय पर्वतले चालु आर्थिक वर्षमा २८ लाख ६६ हजार ८७२ रुपैयाँ राजस्वसमेत संकलन गरेको छ । कार्यालयमार्फत यस वर्ष ४२ वटा पर्यटन पूर्वाधारका योजना निर्माण भइरहेका छन् । अहिलेसम्म ३६ वटा योजना सम्झौता भइसकेको र छ वटा सम्झौता हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।