डोल्पाको ठूलीभेरीमा नगर बस सञ्चालन

वीरेन्द्रनगर– सडक सञ्जालसँग गत वर्षमात्रै जोडिएको डोल्पामा नगर बस सञ्चालनमा आएको छ । ठूलीभेरी नगरपालिकाले नगर बस सञ्चालन गरेर यात्रु ओसारपसार सुरु गरेको हो । गत सोमबारदेखि ३२ सिट क्षमताको बसले जुफाल, दुनै र त्रिपुराकोटसम्मको रुटमा यातायात सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत दिलप्रकाश रोकायले जानकारी दिए ।
डोल्पा–जाजरकोट सडक खण्डअन्तर्गत भेरी नदीमा बेलिब्रिज बनेपछि २०८० वैशाख अन्तिमतिर डोल्पा सदरमुकाम दुनैमा बस पुगेको थियो । २०७६ मा राष्ट्रिय सडक सञ्जालले छोएको डोल्पामा जीप भने २०६९ मै गुड्न थालेका थिए । सुरुमा हेलिकोप्टरबाट ल्याइएका दुईवटा जीप दुनै आसपास गुड्थे । जिल्लामा ठूलीभेरी–९ डागीबाडाबाट जुफाल विमानस्थलसम्म करिब एक किलोमिटर र त्रिपुराकोट बजारबाट त्रिपुरासुन्दरी मन्दिर र पालिकाको केन्द्रसम्म जाने डेढ किलोमिटर सडकमात्रै कालोपत्रे छ ।
स्थानीयलाई यातायातको सहज सुविधा दिने उद्देश्यले नगरबस सञ्चालनमा ल्याइएको रोकायको भनाइ छ । उनका अनुसार जिल्लामा निजी सवारीसाधनले मनपरि भाडा लिने गरेका छन् । सेवाग्राहीले नगरपालिका कार्यालय पुग्न पनि चर्को भाडा तिनुपर्ने अवस्था छ । पालिकाले तत्कालका लागि दुई सयसम्म भाडा तोकेको छ । ‘नागरिकलाई सस्तोमा सहज सुविधा दिन पालिकाकै बस सञ्चालन गरेका हौं,’ उनले भने, ‘कार्यपालिका बैठकबाट भाडा घटाउने विषयमा छलफल गर्नु पर्नेछ । गाडीका कर्मचारी, तेल र मर्मत खर्च उठे पुग्छ । अरु फाइदा, घाटा हेरेका छैनौं ।’
ठूलीभेरी नगरपालिकाको कार्यालय जुफालबाट सदरमुकाम दुनैसम्म १२, दुनैदेखि विमानस्थल हुँदै त्रिपुरासुन्दरीको त्रिपुराकोटसम्म करिब १७ गरी २९ किलोमिटरमा बस सेवा सञ्चालनमा आएको हो । यसलाई विस्तार गर्ने योजना बनाइरहेको अधिकृत रोकायले बताए । यो दूरीमा यात्रा गर्दा यसअघि जीपमा सर्वसाधारणले पाँच सय रुपैयाँ भाडा तिर्दै यात्रा गर्न बाध्य थिए ।
नगर बसमा भने कम भाडामा यात्रा गर्न पाउँदा सर्वसाधारण खुसी भएका छन् । बसले नागरिकको चाप हेरेर बिहानबाट साँझसम्म ओहोरदोहोर गर्छ । बस सञ्चालन भएपछि स्थानीयलाई कृषि उपज बजार लैजान र कार्यालय पुग्ने कर्मचारीलाई पनि सहजता भएको छ । ठूलीभेरी–९ का मानबहादुर डाँगीले बस चलेपछि पाँच सय भाडा तिनुपर्ने बाध्यता हटेको सुनाए । नगरपालिकाले ५४ लाख रुपैयाँमा बस खरिद गरेको हो ।
‘स्थानीयलाई दैनिक कामको लागि पुग्नुपर्ने सरकारी कार्यालय सबै सदरकुमाममै, विमानस्थलमा पनि जानैपर्ने,’ नगर प्रमुख बुढाले भने, ‘यहाँ चल्ने बोलेरो जीपमा चाहिएको बेला चढ्न नपाइने, भाडा महँगो, पाँच जनाको सिटमा धेरै बोक्ने गरेको थियो ।’ स्थानीयको सहजताका लागि सस्तो, सुलभ सेवा दिने उद्देश्य नगरबस सञ्चालन गरेको उनले बताए । डोल्पाको शे–फोक्सुण्डो, डोल्पोबुद्ध, काइके र छार्का ताङसोङ गाउँपालिकामा सडक सुविधा छैन ।
ठूलीभेरी र त्रिपरासुन्दरी नगरपालिका तथा मुड्केचुला, जगदुल्ला गाउँपालिकाका सबैजसो वडामा ट्रयाक खुले पनि केही ठाउँमा मात्र बस चल्ने अवस्थाको सडक बनेको छ । कर्णालीमा मुगुको छायारारानाथ नगरपालिका, रुकुम पश्चिमको चौरजहारी र दैलेखको चामुण्डा बिन्द्रासैनीले पनि नगर बस सञ्चालन गरेका छन् ।