ढलकै छेउमा अर्को ढल बनाइँदै

धनगढी– धनगढी उपमहानगरपालिकाको चार वटा वडाको डुबानको समस्या समाधानका लागि ६ लेन सडकको ढलकै छेउमा अर्को ढल बनाइँदै छ । मोहनापुल–अत्तरिया ६ लेन सडकको दुवैतर्फको ढल सडकको मात्रै पानी निकास गर्ने गरी निर्माण गरिएपछि दुवैतर्फको ढलको छेउमा अर्को ढल बनाउनु परेको हो । वर्षाैंदेखि डुबान पर्दै आएका धनगढीका वडा नं. २, ३, ४ र १३ मा जम्ने बर्खाको पानीको निकास सडकको ढलबाट नहुने भएपछि अर्को ढल निर्माणको योजना आएको संघीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
मोहना पुलदेखि गेटासम्म ६ लेन सडकको दुवैतर्फ ढल निर्माण गर्ने गरी डिपीआर तयार भएको इकाईका इन्जिनियर पुष्पराज भट्टले बताए । उनले यो वर्ष सडकको पूर्वी किनाराको ढल निर्माणका लागि तीन करोड ८० लाख र पश्चिमतर्फको ढल निर्माणका लागि एक करोड ५२ लाख रुपैयाँ विनियोजन भएकाले मोहना पुलदेखि धनगढी चौराहासम्म ढल निर्माणको ठेक्का लगाई निर्माण गर्न थालिएको बताए । इकाईले गत माघ ९ गते ढल निर्माण कार्य शिलान्यास गरेको थियो ।
– ६ लेन सडकको ढलबाट धनगढीको डुबानको समस्या समाधान नभएपछि १३ करोड लगानीमा अर्को ढल बनाउन ठेक्का लगाइएको छ ।
– दुई निकायबीच समन्वय नभएकाले दोहोरो खर्च गरी दोहोरो काम गर्नुपरेको हो: इन्जिनियर पन्त
दुई महिनामा करिब अढाइ सय मिटर ढल निर्माण भइसकेको इन्जिनियर भट्टले बताए । उनका अनुसार पश्चिमतर्फ एक हजार ४५० मिटर ढल निर्माण गर्न सात करोड ४४ लाखमा एमबी शुभलक्ष्मी आदर्श जेभीलाई र पूर्वतर्फ एक हजार ३६५ मिटर ढल निर्माण गर्न ६ करोड पाँच लाखमा सनराइज चन्द्र विकाश मष्टा जेभीसंँग सम्झौता भएको छ । उनले ३० महिनाको अवधिमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको भए पनि सोभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीले काम गरिरहेको बताए । ६ लेन सडकको दुवैतर्फ चौराहासम्म नाली बनेपछि वडा नं. २, ३ र ४ को डुबानको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
इन्जिनियर भट्टले बर्खामा ती वडामा जम्मा हुने पानी ढलमार्फत मोहना नदीमा फाल्ने गरी गहिरो नाली निर्माण भइरहेको बताए । सडक, भवनलगायतका संरचना निर्माणले गर्दा धेरै पहिलेदेखि धनगढीका ती वडा डुबान पर्दै आएको भए पनि ६ लेन सडकको ढलबाट डुबानको समस्या समाधान नहुने भएकाले अर्को ढल निर्माण गर्न परेको इन्जिनियर भट्टले बताए । ‘सडक अग्लो बनेको छ, सडकको नाली पनि हाइटमै बनेको छ,’ उनले भने, ‘सडकको नाली बनाउँदा सडककै पानीमात्र काट्ने उद्देश्यले निर्माण गरिने भएकाले यसले ढलको काम गर्दैन ।’
लामो समय सडक निर्माणको क्षेत्रमा काम गरेका सेवा निवृत्त इन्जिनियर महेन्द्र पन्तले विभागबीच समन्वय नहुँदा एकै ठाउँमा २/२ वटा ढल निर्माण गर्नुपर्ने अवस्था आएको बताए । ‘सडक बनाउँदा नै बस्तीको पानीसमेत निकास गर्ने गरी सडकको ढलको डिजाइन गरिएको भए यस्तो अवस्था आउने थिएन,’ उनले भने, ‘डुबानको समस्या भएको ठाउँमा सडकको ढल निर्माण गर्दा बस्तीको पानीसमेत निकास गर्ने गरी डिजाइन गर्नुपर्ने नीतिसमेत बनाउन आवश्यक छ ।’
एक विभागअन्तगतको कार्यालयले काम गर्दा अर्को विभागको कार्यालयसँंग सम्पर्क समन्वय नगरी काम गर्ने भएकाले यस्ता समस्या ६ लेनमा मात्रै नभई खानेपानी, सडक, ढल, टेलिफोन, विद्युतलगायत पूर्वाधारको काममा समस्या आउने गरेको इन्जिनियर पन्तले बताए । ‘पहिले नै दुवै निकायबीच समन्वय भएको भए डुबानको समस्या समाधान गर्नमा समेत उपयोग हुने गरी सडकको ढल निर्माण गर्न सकिन्थ्यो,’ उनले भने, ‘यस्तो गर्दा थोरैमात्रै लागत वृद्धि हुन्थ्यो । दोहोरो ढल निर्माण गर्दा लागत पनि दोब्बर हुनुका साथै ठाउँ ठाउँमा बनिसकेको संरचना भत्काउनुपर्ने अवस्था आउँछ ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले आयोजना कार्यालय खडा गरी ६ लेन सडक बनाएको थियो भने सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाईले बस्तीको पानी निकासका लागि ६ लेन सडकमा सर्भिस लेन बनाउन छुट्याएको भागमा ढल निर्माण गरिरहेको छ । इकाईले ढल निर्माण गर्दा सर्भिसले भने निर्माण गर्ने छैन । ढल निर्माणपछि सामान्य पटानमात्रै गरिने इकाईले जनाएको छ । ढल निर्माण गर्दा सडक क्रसिङ पर्ने ठाउँमा बनिसकेको सडकसमेत भत्किने भएको छ ।