सिमरा सेजमा प्लाष्टिकको प्लाइउड उद्योग खुल्यो

बारा– विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सिमरा सेज’मा प्लाष्टिकको प्लाइउड उद्योग सञ्चालनमा आएको छ । कमसल स्तरको प्लाष्टिकलाई गालेर प्लाइउड निर्माण गर्ने बायोकम नेपाल नामको उद्योग सञ्चालनमा आएको हो । विश्व बैंकको करिब २० करोड लगानीमा सुर्ती, चकलेट, चाउचाउ, बिस्कुट तथा कमसलस्तरको प्लाष्टिक खोललाई पुन: प्रयोग गरेर बनाइने प्लाइउडबाट कुर्ची, टेबललगायतका घरायसी प्रयोजनमा प्रयोग गर्न सकिने खालको निर्माण सामग्रीहरू बनाउन सकिन्छ ।
यसले उत्पादन साम्रगीको ब्रान्डको नाम रिकेल्म नेपाल राखेको छ । ८ एमएमदेखि सबैभन्दा मोटो २२ एमएमसम्मको उक्त उद्योगमा प्लाइउड उत्पादन हुन्छ । उत्पादित प्लाइउडबाट स–साना साम्रगीदेखि घर ढलानमा प्रयोग गर्न सकिने प्लाष्टिकको प्लाइउड वातावरण मैत्री हुनुका साथै काठलाई प्रतिस्थापन गर्न मद्दत पुग्ने उद्योगका व्यवस्थापक राज महर्जनले बताए । सेजभित्र उद्योग सुरक्षित हुने भएकोले एक बिगाहा जग्गा भाडामा लिएर उद्योग स्थापना गरेको बताउँदै महर्जनले उत्पादित साम्रगी तत्कालका लागि स्वदेशकै बजारमा बिक्री गरिने बताए ।
उद्योगले कवाडी व्यवसायी संघ तथा फोहर मैला व्यवसायी संघमा काम गर्ने कम्पनी तथा व्यक्तिहरूमार्फत प्लाष्टिक संकलन गरेको छ । वातावरणमा रहेका कमसल प्लाष्टिकलाई पुन: प्रयोग गरेर प्लाइउड निर्माण गरिने सो उद्योगमा करिब आधा दर्जन गैह्रसरकारी संस्थाहरूले समन्वय गरेर काम गरेका छन् । उद्योग प्रशासनले आन्तरिक उत्पादनका लागि हाल २६ जनालाई रोजगारी प्रदान गरेको छ ।
नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले सेज आसपास रहेका सहर, बजार, राजमार्गमा जथाभावी फलिएका प्लाष्टिकजन्य फोहरलाई संकलन गरेर पुन: प्रयोग गर्दा यसले ती स्थानहरू सफा हुने बताए । बारा–पर्सा औद्योगिक करिडोरसँगै रहेको सिमरा सेजमा थपिने उद्योगहरूले यहाँको रोजगार र व्यापारसमेत बढाउँदै लैजाने शर्माले बताए ।
उद्योग सञ्चालन भएसँगै स्थानीय तहहरूको फोहर संकलन गर्ने व्यवसायीहरूले फोहर संकलनवापतको मूल्य स्थानीय सरकारबाट र उक्त वस्तुको उद्योगमा बिक्रीबाट दोहोरो मूल्य पाउने र वातावरण सफा गर्न सहयोग पुग्ने शर्माले बताए । सेजका कार्यकारी निर्देशक छत्रबहादुर कटुवालले सिमरा सेज भित्र निर्यातजन्य उद्योगहरू सञ्चालनमा आइसकेकोले उद्योगहरूका लागि सेज भित्रका भवनहरूमा बैंक, बीमा र भन्सार सुविधाको लागि बोर्डमा निर्णय भइसकेकोले यसै साता सूचना प्रकाशन गरिने बताए ।