यस्तो बन्दैछ विराटनगर विमानस्थलको टर्मिनल भवन

विराटनगर– विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण तीव्र रुपमा भइरहेको छ । आगामी मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ बिहान ७ बजेदेखि राति १० बजेसम्म दैनिक १५ घण्टा काम भइरहेको निर्माण कम्पनी कोशी÷डाँफे जेभीले जनाएको छ ।
तीन अर्ब १२ करोड रुपैयाँ लागतमा प्रतिघण्टा ५५० यात्रु बस्न सक्ने क्षमता रहेको छ । निर्माणाधीन टर्मिनल भवन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलपछि सबैभन्दा ठूलो हो । भूकम्प प्रतिरोधात्मक ८ हजार ५२५ वर्गमिटरको भवन निर्माण परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ । निर्माण कम्पनीले २०७९ फागुन १ गतेदेखि यसको काम सुरु गरेको थियो । भवन निर्माणमा दैनिक २२५ कामदार परिचालन गरिएको निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर रमेश पौडेलले जानकारी दिए । दुई सिफ्टमा निर्माण भइरहेको विमानस्थलको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सन्जिव खड्काले बताए ।
नयाँ टर्मिनल भवनमा चेकइन काउन्टर १७ वटा, अति विशिष्ट कक्ष, बाल उद्यान क्षेत्र, भिआइपी तथा पत्रकार सम्मेलन कक्ष, भन्सार, अध्यागमन, भन्सार क्वारेन्टाइन तथा व्यावसायिक प्रयोजनका विभिन्न क्षेत्र रहनेछन् । तीन तलाको भवनमा चार लिफ्ट र चारवटा स्केलेटरको सेवासमेत रहनेछ । मेनेजर पौडेलका अनुसार टर्मिनल भवनमा अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनेछ । ‘दुई सिफ्टमा तीव्र गतिमा काम भइरहेको छ,’ पौडेलले भने, ‘आगामी २०८२ मंसिरभित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।’
भवन पूर्ण अपांगमैत्री हुनेछ । विराटनगर विमानस्थलका सू्चना अधिकारी युवराज पौडेलले बिहान ६ बजेदेखि राति १२ बजेसम्म विमानस्थलबाट उडाई सेवा सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार हाल दैनिक दुई हजार यात्रु आवतजावत गर्ने गरेका छन् । विमानस्थलबाट हाल बुद्ध, यती र श्री एयरलायन्सले दैनिक काठमाडौं उडान भर्दै आएका छन् । बुद्धका ९, यतिका ६ र श्री एयरलायन्सका ४ वटा उडान हुँदै आएका छन् । १२२ बिघा क्षेत्रफलमा विमानस्थल फैलिएको छ । २०२५ असार ९ गते विमानस्थल सञ्चालनमा आएको थियो ।
विराटनगरबाट केही समय अगाडि पोखरा, भैरहवाका लागि समेत उडान सुरु गरिएको थियो । तर, अहिले त्यो बन्द छ । विमानस्थल कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष १७ करोड ५६ लाख राजस्व संकलन भएको थियो । सन् २०२४ मा ३ लाख २९ हजार ८९ यात्रु विमानस्थल हुँदै प्रस्थान गरेका थिए । यसैगरी ३ लाख २९ हजार ९४९ यात्रु यो विमानस्थल हुँदै आगमन गरेका थिए । यसमा पाँच हजार ७५४ पटक विमान अवतरण र पाँच हजार ७५६ पटक विमान प्रस्थान गरेका थिए ।
विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न यहाँका उद्योगी र पर्यटन व्यवसायीले लामो समयदेखि माग गर्दै आएका छन् । प्रधानमन्त्री र पर्यटनमन्त्री सहभागी हुने विराटनगरका हरेक कार्यक्रममा उद्योगीहरूले विमानस्थलको विषय उठाउने गरेका छन् । उनीहरूले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसँगै माउन्टेन फ्लाइट पनि विराटनगरबाटै सञ्चालन गर्न माग गर्दै आएका छन् ।
विराटनगरबाट भुटान, भारतको कलकत्ता, बम्बई, बंगलादेश, माल्दिभ्स नजिक पर्ने भएकाले नजिकको उडान विराटनगरबाटै सञ्चालन गर्न माग गर्दै आएको पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ बताउँछन् । ‘हामीले विगत दुई दशकदेखि विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न माग गर्दै आएका छौं,’ उनले भने, ‘अब रनवे धेरै बढाउनु पर्दैन । थोरै लम्बाइ बढाएमा अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ । यसले त्रिभुवन विमानस्थलमा देखिँदै आएको एयर ट्राफिक समस्यामा कमी आउनेछ ।’ विगतमा भारतका कलकत्तालगायत सहरमा यहाँबाट उडान हुने गरेको श्रेष्ठले स्मरण गरे ।