मुलुकका पाँच भन्सार नाकाबाट निकासी ठप्प
प्लाइउड निर्यातमा भारतीय बीआईएस अवरोध

काठमाडौं– नेपाल–भारत व्यापारमा नेपालबाट कुनै वस्तुको निर्यात उच्च दरमा भए एकाध बहाना झिकेर त्यसलाई निरुत्साहित गर्ने भारतीय प्रचलन रहँदै आएको छ ।
भारतले नेपाली वस्तुको निर्यातमा भन्साररहित सुविधा दिएको छ । यो सुविधाबाट नेपाली व्यवसायीले धेरै फाइदा पनि उठाएका छन् । तर, बेलाबेलामा भारतीय पक्षले निर्यात निरुत्साहित गर्न विभिन्न बहाना बनाउने गरेको छ । पछिल्लो पटक यसको मारमा प्लाइउड निकासी परेको छ ।
भारतले अहिले नेपाली प्लाइउड निकासीका लागि ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस) लिनुपर्ने नियम बनाएको छ । यो सर्टिफिकेट नभएका कारण अहिले मुलुकका पाँच नाकाबाट नेपाली प्लाइउड निकासी ठप्प भएको छ ।
नेपालका काँकडभिट्टा, विराटनगर, भैरहवा, कृष्णनगर र नेपालगन्जबाट भारततर्फ प्लाइउड र यसबाट बनेका केही सामान निर्यात हुँदै आएको थियो । भारतले अनिवार्य गरेको सर्टिफिकेट अभावमा यी सबै नाकाबाट निकासी रोकिएको हो ।
अहिले काँकडभिट्टाको पानीट्यांकी नाकामा भारतीय कर जिएसटी तिरेर प्लाइउड लोड भएका ३० भन्दा बढी ट्रक अलपत्र परेका छन् । भारतीय भन्सारले जिएसटी लिए पनि प्लाइउड बोकेका ट्रक जान अनुमति दिएको छैन ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले यी ट्रकलाई जान दिने व्यवस्था मिलाउन अनुरोध गर्दै भन्सार विभागसमक्ष पत्राचार गरेको छ । नेपालस्थित भारतीय दूतावासले पनि कर तिरेर सामान लोड गरेका यी ट्रकलाई जान दिने व्यवस्था गर्न भारतीय निकायहरुलाई पत्राचार गरेको छ ।
व्यापार सन्धिको भावना विपरीत
मीनकुमार नवोदित
विराटनगर– पूर्वको प्रमुख भन्सार नाकामध्ये विराटनगरस्थित रानी भन्सार नाकाबाट प्लाइउड निर्यात रोकिएको छ ।
भारतले प्लाइउड निर्यातका लागि बीआईएस (ब्युरो अफ इन्डियन सर्टिफिकेट) लिनुपर्ने भनेपछि विराटनगरस्थित रानी नाकाबाट हुँदै आएको निर्यात रोकिएको हो ।
यसअघि पूर्वको काँकडभिट्टासहित देशका भैरहवा, कृष्णनगर र नेपालगञ्जबाट निर्यात रोकिएको थियो । नेपालका उद्योगीलाई भारतले आगामी मे २८ सम्म साना तथा मझौला उद्योगले बीआईएस लिनु नपर्ने सूचना जारी गरेको थियो । तर, यसअघि निकालिएको सूचना बीआईएस लिने म्याद थपको भएको भन्दै निर्यात रोकिएको हो । कोशीका प्लाइउड उद्योगीहरूलाई भारत जोगबनी भन्सारका असिस्टेन्ट कमिसनर (एसी) विकास श्रीवास्तवले बीआईएस अनिवार्य लिनुपर्ने जवाफ दिएपछि प्लाइउड रोकिएको उद्योगीहरूले बताएका छन् ।
भारतले नेपालका साना तथा मझौला उद्योगले बीआईएस लिनु नपर्ने यसअघि निकालेको सूचनामै उद्योगी भर परेका थिए । तर, अहिले उक्त सूचना लिनु नपर्ने नभई म्यादसम्ममा लिइसक्नुपर्ने व्याख्या गरेको छ । त्यसपछि प्लाइउड निर्यात हुँदा जाँचपास नगर्ने आइतबार साँझ कोशीका उद्योगीलाई जोगबनी भन्सारले जानकारी दिएको हो । नेपाल प्लाइउड संघ कोशी प्रदेशका अध्यक्ष सीताराम अग्रवालले भारतीय भन्सार जोगबनीले प्लाइउडको जाँचपास नगर्ने जानकारी दिएको बताए । काँकडभिट्टासँग जोडिएको भारतीय भन्सार पानीट्यांकीले पनि त्यहीअनुसार नै जाँचपास नगरेको उद्योगीलाई एसी श्रीवास्तवले जानकारी दिएका हुन् । तर, बीआईएस पाएका उद्योगीको उत्पादन भने रोकिने छैन । मोरङका ग्रिन प्लाइ र सेन्चुरी प्लाइ उद्योगले बीआईएस पाएका छन् । अध्यक्ष अग्रवालका अनुसार देशभर ८० वटा उद्योग सञ्चालनमा छन् ।
प्लाइउड उद्योग संघले निर्यातका लागि लिनुपर्ने बीआईएसका लागि आवेदन भने दिएका छन् । यसका लागि लाग्ने शुल्कसमेत बुझाइसकेको बताइएको छ । भारत सरकारले आन्तरिक उत्पादन र आयातित वस्तु सबैमा बीआईएस हुनुपर्ने कानुन कडाइपूर्वक कार्यान्वयनमा ल्याएको उद्योगीहरू बताउँछन् ।
वार्तामा श्रीवास्तवले बीआईएस नलिएका नेपालका प्लाइउड उद्योगको उत्पादन अब जाँचपास नहुने कुरा बारम्बार दोहोर्याएको अग्रवालको भनाइ छ । भारत सरकारले आन्तरिक उत्पादन र आयातित वस्तु सबैमा बीआईएस हुनुपर्ने कानुनलाई प्रभावकारी बनाइरहेको छ ।
यसैबीच भारतको उद्योग संवद्र्धन तथा आन्तरिक वाणिज्य विभागले २०२४ नोभेम्बरमा जारी गरेको सूचनामा प्लाइउडका लघु, साना तथा मझौला उद्योगले २०२५ फेब्रुअरी २८ सम्म बीआईएस लिनु नपर्ने जनाएको थियो । यही सूचनाअनुसार नेपालमा उत्पादित प्लाइउडले भारतीय बजारमा प्रवेश पाइरहेको थियो । विभागले फेब्रुअरी २८ मा अर्को सूचना जारी गर्दै लघु, साना तथा मझौला उद्योगले आगामी मे २८ सम्म बीआईएस लिनु नपर्ने जनाएको छ । सोही सूचनाअनुसार भारतका पानीट्यांकी र जोगबनी भन्सारले नेपालको प्लाइउडको जाँचपास गरिरहेका थिए ।
प्रदेश अध्यक्ष अग्रवालले द्विपक्षीय व्यापार सन्धिअनुसार भारतका भन्सार कार्यालयले नेपालको प्लाइउड रोक्न नमिल्ने जिकिर गरेका छन् । ‘भारत सरकारले आफ्नो मुलुकभित्रका साना तथा मझौला उद्योगलाई दिएको सुविधा नेपालका साना तथा मझौला उद्योगलाई पनि उपलब्ध गराउनुपर्ने सन्धिमा उल्लेख छ,’ अग्रवालले भने, ‘त्यसैले भारतीय भन्सारले नेपालका प्लाइउडमा गरेको अवरोध सन्धिको मर्म र भावना विपरीत छ ।’
अर्थतन्त्रमा ठूलो क्षति
तुलसीप्रसाद निरौला
बिर्तामोड– नेपालको पूर्वी नाका काँकडभिट्टाबाट एक सातादेखि भारततर्फ प्लाइउड निकासी बन्द भएको छ ।
भारतीय मापदण्ड लागु नभएको भन्दै भारत सरकारले बीआईएस प्रमाणित नभएका नेपाली प्लाइउडलाई रोक लगाएको हो । यसकै कारण प्लाइ निकासी बन्द भएको हो ।
भारतले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै २०२५ फेबु्रअरी २८ पछि प्लाइउडमा बीआईएस प्रमाण अनिवार्य गरिएको जनाएको थियो । त्यसपछि पुनः सूचना जारी गर्दै नेपालको प्लाइउड भारतमा बिक्री गर्नका लागि बीआईएस प्रमाणपत्र लागु हुने म्याद ६ महिना बढाएर अगष्टसम्म पुर्याइएको थियो । तर, मार्च ११ तारिख (फागुन २८) देखि बिनासूचना बीआईएस प्रमाणपत्र र चिन्ह नभएका नेपाली प्लाइउडलाई भारत प्रवेशमा रोक लगाएका कारण निकासी बन्द भएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताए ।
सरकारले प्लाइउड निर्यातमा नगद अनुदान दिने निर्णय गरेपछि उद्योगीले गत आर्थिक वर्षदेखि प्लाइ निर्यातलाई आक्रामक बनाएका थिए । पछिल्लो समय भारतमा अत्यधिक मात्रामा नेपाली प्लाइउड निर्यात भइरहेको अवस्थामा भारतले गुणस्तर प्रमाण चिन्हको झमेला झिकेर निर्यात रोकेपछि उद्योगीमा निराशा छाएको उनको भनाइ छ । यही अवस्था रहे केही दिनमै अधिकांंश उद्योग बन्द हुने अवस्था आउने बताउँदै उनले नेपाल सरकारले भारत सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने माग गरे ।
अध्यक्ष घिमिरेले आफूहरुले निर्यात खुलाउन भारतीय भन्सारमा गएर कुरा गरिरहेको जानकारी दिए । उनले भने, ‘हामी भारतीय अधिकारीहरूसँग लगातार संवादमा छौं । नेपालका प्लाइउड उद्योग र यहाँका उत्पादनप्रति उहाँहरू सकारात्मक हुनुहुन्छ ।’ भारतीय भन्सारका कर्मचारीले नेपालसँग भएको सन्धिको मर्म नबुझ्दा प्लाइउड निकासी अवरुद्ध भएको उनको भनाइ छ ।
नेपालमा प्लाइउडका ८० उद्योग छन् । सबैभन्दा बढी कोशी प्रदेशमा ३४ वटा उद्योग छन् । प्लाइउडको उत्पादनमा ७० देखि ७५ प्रतिशत स्वदेशी कच्चा पदार्थको प्रयोग भइरहेको उनको दाबी छ । गत वर्ष पौने ५ अर्बको प्लाइउड निकासी गरिएको र यो वर्ष करिब ८ अर्बको निकासी गर्ने लक्ष्य रहेको अध्यक्ष घिमिरेले जनाए । नेपालबाट निकासी हुने १० वस्तुको सूचीमा रहेको प्लाइउड उत्साहजनक रूपमा भारततर्फ निकासी भए पनि अहिले एक्कासी आएर भारतले रोकिदिएको मेची उद्योग वाणिज्य संघका कार्यालय प्रमुख गोपाल बस्नेतले बताए । मेची भन्सार कार्यालयबाट जाँचपास भई भारतीय भन्सार प्रकृया पूरा गरी जीएसटीसमेत बुझाएर निकासीको क्रममा रहेका प्लाइउड लोड गरिएका ३० भन्दा बढी मालवाहक ट्रक मार्च ११ देखि भारतको पानीट्यांकीमा रोकिराखेको उनले बताए ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले बीआईएस प्रमाणपत्रका लागि प्रक्रिया पूरा गर्न समय लाग्ने जनाउँदै भारतलाई कडाइ नगर्न दबाब बढाए पनि एक्कासी निकासी बन्द गरेको बताए । उनले भने, ‘वर्षेनी अर्बौंको विदेशी मुद्रा आर्जन हुने प्लाइउड निर्यात रोकिँदा नेपालको अर्थतन्त्रमा ठूलो क्षति हुन्छ । यस विषयमा नेपाल सरकार र व्यवसायीहरुले भारत सरकारलाई दबाब दिनुपर्छ ।’
नेपालमा उत्पादित प्लाइउडको नमुना भारतको पटना, दिल्ली र कोलकातामध्ये जता नजिक हुन्छ, त्यहाँको प्रयोगशालामा पठाएर परीक्षण गराउनुपर्ने झञ्झट थपिएको बताउँदै उनले त्यसका लागि भारत सरकारले अझै समय थप्नुपर्ने माग गरे । नेपालमा उच्च कोटीको प्रयोगशाला नभएको कारण देखाउँदै भारतले आफ्नै मुलुकको प्रयोगशालामा गुणस्तर जाँच्नुपर्ने बाध्यता सिर्जना गरेको छ । आईएसआई चिन्ह र प्रमाणपत्रका लागि उद्योगमा प्रयोगशाला स्थापना गर्दा २० लाखभन्दा बढी आर्थिक भार थपिने उनले जानकारी दिए । नेपालमा उत्पादित उत्तिसबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको भए पनि भारतले गुणस्तर प्रमाण चिन्हका नाममा निर्यात रोकेपछि नेपालका उद्योगहरु धरासायी हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
गुणस्तर सर्टिफिकेटको बहानामा भारतले प्लाइउड निर्यात रोक्दा पूर्वी नेपालका झापा, मोरङ, सुनसरी र इलाममा सञ्चालित दर्जनौं भेनियर उद्योग बन्द हुने र त्यहाँ कार्यरत ६० हजारभन्दा बढीको रोजगारी गुम्ने नेपाल भेनियर उत्पादक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिनेश शाक्य बताउँछन् । भेनियर प्लाइउडको कच्चा पदार्थ हो । यो पातलो काठको वस्तुलाई प्रविधिको सहयोगमा टाँसेपछि प्लाइउड बन्छ । झापा र मोरङमा ३४ वटा प्लाइउड उद्योग सञ्चालनमा छन् । प्लाइउड खासगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउन प्रयोग गरिन्छ । यो नरम प्रजातिका र छिटो वृद्धि हुने कुकाठ, उत्तिस, कदम, आँपलगायत प्रजातिका रूखबाट उत्पादन गरिन्छ।
व्यापार घाटा बढ्ने
मनोरञ्जन शर्मा
भैरहवा– ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) गुणस्तर चिन्ह लिनुपर्ने भएपछि १९ दिनदेखि नेपालबाट भारततर्फ प्लाइउड, बोर्ड एवं प्लाइबाट बन्ने ढोकाको निकासी रोकिएको छ । भारत निकासीमा गति लिँदै गरेको प्लाइउड निकासी रोकिएपछि उद्योगी अप्ठयारोमा परेका छन् ।
भारतले गत वर्षदेखि नै प्लाइलगायत वस्तुको निकासीमा अवरोध गरेको थियो । एक वर्षभित्र बीआईएस गुणस्तर चिन्ह प्राप्त गर्नुपर्ने शर्तसहित भारतले निकासी खोलेको थियो । भारतले २०२४ मार्च १ देखि कार्यान्वयनमा ल्याएको बीआईएस नीतिका कारण निकासी रोकिएकोमा भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै आगामी एक वर्षसम्म बीआईएस नचाहिने उल्लेख गरेपछि प्लाइउड निकासी खुलेको थियो ।
राजपत्रअनुसार ठूला उद्योगका नाममा सन् २०२५ फेब्रुअरी २८ देखिमात्र गुणस्तर चिन्हसम्बन्धी आदेश लागु हुने र साना तथा मझौला उद्योगका हकमा २०२५ मे २८ र लघु उद्योगका नाममा २०२५ अगष्ट २८ देखि आदेश लागु हुनेमा प्लाइ उद्योगलाई ठूला उद्योगका रुपमा लिँदै फेब्रुअरी २८ (फागुन १६) बाट नै प्लाइ निकासी रोकिएको छ ।
पश्चिम नेपालबाट सबैभन्दा बढी प्लाइ निकासी हुने कृष्णनगर, भैरहवा र नेपालगन्ज भन्सार नाकाबाट निकासी ठप्प रहेको भन्सार कार्यालयका अधिकारीहरुले जनाएका छन् । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भैरहवा नाका हुँदै प्लाइउड निकासी रोकिएको बताए । भारत सरकारले बीआईएस अनिवार्य गरेपछि प्लाइ उद्योगहरुले बीआईएस प्रमाणपत्र नभएका कारण निकासी गर्न नपाएको रेग्मीको भनाइ छ । उनका अनुसार भैरहवा नाका हँुदै आर्थिक वर्ष २०८०–८१ मा २८ करोड ४२ लाख रुपैयाँबराबरको प्लाइउड, बोर्ड र प्लाइका ढोका भारत निकासी भएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा यो नाका हुँदै ३३ करोड ३१ लाख रुपैयाँबराबरको प्लाइ एवं प्लाइजन्य वस्तु भारत निकासी भएको छ । फागुनको मध्यमै निकासी रोकिँदा राजस्वभन्दा पनि व्यापार घाटा बढ्ने रेग्मीले जनाएका छन् ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले नेपालगन्ज नाकाबाट समेत प्लाइउड निकासी रोकिएको बताए । ‘धमाधम निकासी भइरहेको थियो । बीआईएसका कारणले रोकिएको छ,’ खड्काले भने । नेपालगन्ज नाकाबाट आर्थिक वर्ष २०७९–८० मा १४ करोड १२ लाख रुपैयाँको प्लाइ तथा प्लाइजन्य वस्तु भारत निर्यात भएको थियो । त्यसैगरी २०८०–८१ मा २९ करोड ९३ लाखको निर्यात भएको थियो । चालु वर्षको आठ महिनामा यो नाका हँुदै १४ करोड ७१ लाखको निकासी भएको छ ।
कृष्णनगर भन्सारबाट पनि निकासी रोकिएको कार्यालयका सूचना अधिकारी लेखनाथ भट्टराईले बताए । यो नाका हुँदै सबैभन्दा बढी प्लाइउड निकासी भारततर्फ हुने गरेको छ । गत वर्ष यो नाकाबाट मात्रै १ अर्ब बढीको प्लाइ निकासी भएको थियो । श्याम प्लाइ उद्योग रुपन्देहीका सञ्चालक विनय गोयलले बीआईएस नहँुदा निकासी रोकिएको जनाउँदै पहलका लागि सरकारसँग आग्रह गरे । ‘बीआईएसका लागि महिनौं अघिबाट निवेदन दिए पनि काम भएको छैन । निरीक्षण गर्न पनि आएका छैनन् । अब सरकारले पहल गर्नुपर्छ,’ गोयलले भने ।
हिमालयन प्लाइ इण्डस्ट्रिज रुपन्देहीका निर्देशक धिरेन्द्र बरईले प्लाइउड निकासी नहुँदा समस्या भएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष रोहित अग्रवालले सिमेन्ट निकासी रोकिएको समयमै प्लाइउडको समेत निकासी रोकिएको भन्दै सरकारले छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट पहल गरी समस्या समाधान गर्न आग्रह गरे ।
नेपालबाट भारततर्फ प्लाइउड, प्लाइबोर्ड र प्लाइका ढोका निकासी भएको छ । ६० प्रतिशत प्लाइउड, २०–२० प्रतिशत बोर्ड र ढोका निकासी हुँदै आएको छ ।
नेपाल र भारतबीच सन् २००१ मा भएको व्यापारिक सन्धिबमोजिम नेपालबाट निर्यात हुने प्लाइउडलाई भारतीय पक्षले रोक्न मिल्दैन । सन्धिमा नेपालका लघु, साना तथा मझौला उद्योगलाई भारतले पनि यस्तै उद्योगका रूपमा मान्यता दिने उल्लेख छ । भारतले सन्धिको मर्मलाई नबुझ्दा प्लाइउड निकासी रोकिएको हो । पहिला प्लाइउड भारतबाट पैठारी हुने गरेकोमा हाल उद्योगी–व्यवसायीले स्वदेशमै उद्योग स्थापना गरेका छन् । उद्योगले उत्पादन गर्न थालेपछि भारतबाट आयात रोकिई उल्टै निकासी हुन थालेको हो । सरकारले प्लाइ निकासीमा अनुदान दिने कार्यक्रम ल्याएको र नेपालसँग जोडिएका भारतीय जिल्लाहरुमा नेपाली प्लाइउड लोकप्रिय बनेका कारण यी दुई नाकाबाट प्लाइ तथा प्लाइजन्य वस्तु भारत निकासी बढेको हो ।
नेपाली प्लाइको माग नेपालसँग सीमा जोडिएका भारतीय जिल्लाहरुमा बढी छ । यिनै जिल्लामा निकासी गर्न नेपाली व्यवसायी आकर्षित भएका हुन् । अहिले प्लाइउड उद्योगीहरुले कृष्णनगर र भैरहवा नाका हुँदै भारत निकासी गरिरहेका छन् । नेपालगन्ज नाकाबाट पनि प्लाइउड निकासी फेरि सुरु भएको छ । कृष्णनगर नाकाबाट यस्ता वस्तु बढी निकासी भएको देखिन्छ ।
चन्द्रौटा–कृष्णनगर औद्योगिक करिडोरमा पशुपति, जय अम्बे, अटल, श्रीगणेश, कैलाश, श्रीकृष्ण, त्रिमूर्ति, नेपाल इन्डो तथा गणपति प्लाइ उद्योग सञ्चालनमा छन् । यी उद्योगले प्लाइ तथा फ्लस डोर भारत निकासी गर्दै आएका थिए । भैरहवा भन्सार नाका हुँदै श्याम प्लाइ उद्योग, हिमालयन र सदिक्षा सः मिलले भारततर्फ निकासी गर्दै आएकोमा अहिले बीआईएसका कारण निकासी बन्द भएको हो ।