Logo

कस्तो सहरलाई स्मार्ट सहर भनिन्छ ?

स्मार्ट सहर भन्नाले प्रविधि सम्पन्न, सफा (प्रदूषणमुक्त तथा व्यवस्थित), हरियाली, पूर्वाधारको भरिपूर्ण विकास तथा सोमा बसोबास गर्ने जनताको जीवनशैली सुधारका लागि नवीनतम समाधान अपनाइएको व्यवस्थित सहरलाई जनाउँछ, जसमा जनतासँग प्रत्यक्ष सरोकार भएका काम–कारबाहीहरू छिटो, छरितो र पारदर्शी ढंगले सबैले महसुस गर्न सक्ने गरी प्रविधिको प्रयोगद्वारा स्थापित सुव्यवस्थित कार्यप्रणाली विद्यमान भएको हुनुपर्छ ।

१. प्रविधि सम्पन्न— सम्पूर्ण सेवा डिजिटल प्रणालीमा आबद्घ भई फेसलेस र पेपरलेस सेवा ।
२. सुशासन (भ्रष्टाचाररहित संयन्त्र)— अटोमेसन प्रणालीमा सञ्चालित ।
३. सफा (प्रदूषणरहित), हरियाली ।
४. सुन्दर (व्यवस्थित बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, भवन, ढल, बाटो, पार्किङ, ट्राफिक, बसपार्क, बजार आदिको उचित व्यवस्थापन) ।
५. व्यवस्थित र वैज्ञानिक शिक्षा, स्वास्थ्य, हस्पिटालिटी, सम्पदा, बैंकिङ, पर्यटन, न्याय÷कानुन, खेलकुद ।
६. आर्थिक सम्पन्न (रोजगारीको अवसर) गरिबी न्यूनीकरण, कलकारखाना, कृषि उत्पादन, सिँचाइ, बजार व्यवस्थापन ।
७. सुरक्षित र वृद्घ, अपांग, महिला तथा बालमैत्री ।
८. भौतिक पूर्वाधारले सुसज्जित ।


डिजिटल क्रान्ति— सूचना प्रविधि युगको सुरुवात
इस्वी संवत् १९४७ मा ट्रान्जिस्टरको आविष्कार भएसँगै एनालग इलेक्ट्रिक तथा मेकानिकल डिभाइसेसहरूमा भएको क्रमिक सुधार तथा परिवर्तनस्वरूप सुरु भएको डिजिटल क्रान्ति इ.सं. १९५०–६० को दशकमा कम्प्युटरको आविष्कार तथा इ.सं. १९८० देखि कम्प्युटरको व्यावसायिक प्रयोग व्यापक रूपमा हुन थालेपछि सूचना प्रविधि युगको सुरुवात भएको मानिन्छ ।

इ.सं. १९९० देखि सुरु भएको इन्टरनेटको सेवा, इ.सं. १९९६ मा आइपुग्दा व्यवसाय सञ्चालनको एक अभिन्न अंग बनिसकेको थियो । इ.सं. २००० मा आइपुग्दा दिन दुगुना रात चौगुनाको हिसाबले इन्टरनेटका प्रयोगकर्ताकोे वृद्घि हुनाका साथै मोबाइल फोन सबैका लागि अपरिहार्य बन्न थालिसकेको थियो । साथै, सोही दौरानमा भएको एनालग टेलिभिजन डिजिटलमा परिवर्तन भएसँगै विकसित मुलुकहरूमा सही मानेमा डिजिटल क्रान्तिको अनुभव गर्न सकिन्छ ।

इ.सं. २०१८ मा आइपुग्दा विश्वका लगभग ५० प्रतिशत जनसंख्याले प्रत्यक्ष या अप्रत्यक्ष रूपमा इन्टरनेटको तथा ७५ प्रतिशतले मोबाइल फोनको प्रयोग गर्न थालेको पाइन्छ ।

आजको दिनसम्म आइपुग्दा हिजोको डेक्सटप कम्प्युटर तथा तारसहितको इन्टरनेट सेवा, आज ल्यापटप, ट्याब्लेट हुँदै स्मार्टफोनमा परिवर्तित भई सम्पूर्ण सेवासुविधा यसैमार्फत संसारको कुनै पनि कुनामा बसेर ताररहित इन्टरनेट सेवाको प्रयोग गरी सञ्चालित हुन थालेका छन् ।

साथै, इ.सं. २००६ मा एमेजन, २००८ मा गुगल तथा २०१० मा माइक्रोसफ्टले सुरु गरेको क्लाउड कम्प्युटिङको सेवासँगसँगै अब अनप्रिमिसेसमा धेरै खर्च गरी कम्प्युटर हार्डवेयर, नेटवर्क तथा सफ्टवेयर खरिद गरी एकै ठाउँमा बसेर सूचना प्रविधिको सेवा सञ्चालन गर्नुपर्ने बाध्यता हटेर गएको छ । आजको दिनसम्म आइपुग्दा यही क्लाउड कम्प्युटिङ सेवाको उच्चतम विकास तथा प्रयोगका कारण अब सम्पूर्ण सूचना प्रविधि ‘इन्टरनेट अफ थिंग्स’का रूपमा विकसित भएको छ ।

इन्टरनेट अफ थिंग्स के हो ?
प्रायःजसो दैनिक जीवनमा सरोकार राख्ने क्षेत्रहरू (जस्तो घरायसी प्रयोजन, बैंक, सरकार, यातायात, कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा आदि) का सेवाहरू अब क्लाउड कम्प्युटिङ तथा इन्टरनेटका माध्यमबाट एकै ठाउँमा एकत्रित भई उपलब्ध हुने प्रणालीलाई इन्टरनेट अफ थिंग्स भनिन्छ । उक्त क्षेत्रहरूमा प्रयोग भएका हार्डवेयर, सफ्टवेयर, सेन्सर तथा नेटवर्किङहरू अब एउटै छातामुनि एकआपसमा कनेक्टेड भई सम्पूर्ण सेवा सिंगल विन्डोमार्फत सञ्चालित हुनेछन् । यसैको व्यवस्थित तथा वैज्ञानिक प्रयोगद्वारा स्मार्ट सहरको अवधारणा विकास हुनेछ ।

स्मार्ट सहरलाई सिस्टमेटिक र विकसित गर्न आइटीको प्रयोग

१. प्रत्येक व्यक्तिका लागि एकल अद्वितीय पहिचान (राष्ट्रिय परिचयपत्रको प्रभावकारी कार्यान्वयन, जसभित्र जन्म प्रमाणपत्र, नागरिकता, राहदानी, ड्राइभिङ लाइसेन्स, प्रहरी प्रतिवेदन, प्यान, मतदाता परिचयपत्र, भूमि दर्ता, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, सिटरोल, बीमाजस्ता सम्पूर्ण पहिचानहरूको एकीकरण, विद्युत, पानी आपूर्ति, सञ्चार— इन्टरनेट-टिभी-सिम, सबै करहरू आदिको समावेश) ।
२. जिपिएसमा आधारित डिजिटल ठेगाना ।
३. अप्टिकल फाइबर र स्याटेलाइटमा आधारित सुरक्षित सञ्चार सेवा ।
४. केन्द्रीय क्लाउडमा आधारित केन्द्रीकृत डाटा केन्द्र (मुख्य, फेलओभर र डिजास्टर रिकभरी) र केन्द्रीय जस्तै समान संरचना भएको प्रान्तीय डाटा केन्द्रहरू ।
५. सम्पूर्ण सरकार र उपयोगिताका सेवाहरूको मोबाइल÷वेबमा आधारित एप्लिकेसनहरू ।
६. एपिआई प्रयोग गरी प्रत्येक सेवाहरूको एकीकरण ।
७. एकल राष्ट्रिय भुक्तानी गेटवेमार्फत अनलाइन भुक्तानी प्रणाली ।
८. अनलाइन डेलिभरी प्रणाली (हुलाक सेवाको प्रभावकारी कार्यान्वयन) ।
नतिजाः भ्रष्टाचाररहित पारदर्शी, भरपर्दो, छिटो, प्रभावकारी अनि कुशल सेवाको प्रवाह ।

स्मार्ट सहरमा भ्रष्टाचारको न्यूनीकरण कसरी हुन्छ ?
स्वचालित तथा अटोमेटेड स्मार्ट ई–गभर्नेन्स (फेसलेस र पेपरलेस) प्रणाली नै भ्रष्टाचार न्यूनीकरणको एक मात्र उपाय हो ।
मोबाइल एप– नागरिक बडापत्र
क्यु म्यानेजमेन्ट
पेमेन्ट गेटवे
सरकारी स्कुल, कलेज, अस्पताल तथा विभिन्न अरू क्षेत्रलाई सबलीकरण
करका फाइदा
मोबाइल इन्फ्रा एम्बुलेन्स
सरकारी सेवाका लागि कल सेन्टर
न्यायालय, प्रहरी प्रशासन राजनीति मुक्त
सानातिना कार्यहरू सरकारद्वारा नै सञ्चालन
हरेक क्षेत्रमा स्वतन्त्र रूपमा विज्ञहरूको छनोट गरी समावेश ।

स्मार्ट सहरको अवधारणाको विकास तथा वैज्ञानिक प्रयोगद्वारा अंगीकार गर्नुपर्ने सेवासुविधा
१. नेसनल आइडीः यसमा प्रत्येक नागरिकको तीनपुस्ते विवरण, ठेगाना, अध्ययन, पारिवारिक विवरण, जन्म, विवाह, मृत्यु, बसाइँसराइ आदि सम्पूर्ण कुराको जानकारी रहनेछ र सोही विवरणलाई निर्वाचन प्रणाली तथा सम्पूर्ण सरकारी काम–कारबाहीमा लिंक्डअप गरिनेछ ।

२. स्मार्ट लाइसेन्सः यस प्रणालीअनुसार सवारी साधन, सवारी धनी तथा सञ्चालकको सम्पूर्ण विवरण चिप्स कार्डमा समावेश हुनेछन् । लाइसेन्स कहिले एक्स्पायर हुने, सवारी कर कहिलेसम्म तिरेको छ, ट्राफिक नियमको उल्लंघन गरेको छ, छैन आदिको विवरण यसै कार्डमा समावेश गरिनेछ र सोको विवरण यातायात व्यवस्था कार्यालय तथा ट्राफिक, पुलिस कार्यालयमा लिंक हुनेछन् ।

३. बिजुली तथा पानीको स्मार्ट मिटर (घरमा भएको मिटर डिजिटल हुनुका साथै बिजुली तथा खानेपानी अफिसबाट डाइरेक्ट एक्सेस गरी उपभोक्तालाई डिजिटल बिलिङ पठाउने) तथा अनलाइन पेमेन्टको सुविधा ।

४. इन्टेलिजेन्ट ट्राफिक म्यानेजमेन्टः बाटोमा रहेका हरेक ट्राफिक लाइट, सिसिटिभी तथा नोटिफिकेसनको सिस्टम डिजिटल माध्यमबाट कन्ट्रोल तथा उपलब्ध हुने ।

५. डिजिटल ट्राभल कार्ड तथा सर्भिसः यसअन्तर्गत प्रत्येक यात्रीको विवरण तथा यात्रा शुल्क समावेश गरी हरेक पटक यात्रा गर्दा टिकट काट्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् र यात्रा गर्दा ठगिने कार्य सधैँका लागि बन्द हुनेछ ।

६. स्मार्ट फ्युल कार्डः यसअन्तर्गत सेवाग्राही, सेवाप्रदायक संस्था— फ्युलपम्प सञ्चालक, आयल निगम तथा सम्बन्धित सरकारी निकायहरू समावेश हुनेछन् । यसको प्रयोगबाट इन्धन आपूर्ति व्यवस्थित हुनुका साथै पम्पले कम इन्धन दिई ठगी गर्ने कार्य तथा इन्धनको सप्लाई तथा आपूर्ति सिस्टमेटिक रहन्छ ।

७. बैंक कार्ड तथा अनलाइन पेमेन्टः व्यक्ति तथा संस्थाको सम्पूर्ण आर्थिक विवरण, नगद मौज्दात, ऋण विवरण, सेयर कारोबार आदि बेहोरा समावेश हुनेछन् ।

८. डिजिटल हेल्थ कार्ड तथा हेल्थ सर्भिसः यसअन्तर्गत हरेक व्यक्तिको स्वास्थ्य विवरण तथा स्वास्थ्य क्षेत्रबाट पाएको तथा लिएको स्वास्थ्य सुविधाको विवरण राखिनेछ ।

९. स्मार्ट शिक्षाः यस प्रणालीअनुसार देशभरका सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थीको रेकर्डहरू केन्द्रीकृत गरिनेछ, जसबाट हरेक विद्यार्थीको प्रगति विवरण एउटै छातामुनि उपलब्ध हुनेछन् । साथै, शिक्षालाई डिजिटल प्रणालीमा परिवर्तन गरी पुस्तकको भारी झोला बोकी विद्यालय जाने परिपाटीको अन्त्य हुनेछ ।

१०. स्मार्ट कृषि तथा सिँचाइः यसको प्रयोगले बाह्रै मास बेमौसमी खेतीको सुरुवात भई अरूसँगको आत्मनिर्भरताको अन्त्य हुनेछ । बजार व्यवस्थापनलगायत उब्जनीको सही सदुपयोग भई कृषकको जीवनस्तर माथि उठ्नेछ । सिँचाइको प्रभावकारी व्यवस्थापन हुनेछ ।

११. स्मार्ट इनर्जीः यसमा पानीबाट निकालिएको बिजुलीको उच्चतम व्यवस्थापनका साथै सोलार र हावाबाट उत्पादित बिजुलीलाई नेसनल ग्रिडमा जोडी उचित व्यवस्थापन गरी सदाका लागि लोडसेडिङको अन्त्य हुनेछ ।

१२. स्मार्ट पर्यटन-सम्पदाः पर्यटकीय दृष्टिकोणले उच्च प्राथमिकतामा परेका हरेक क्षेत्रलाई जिआइएस तथा जिपिएसको प्रयोग गरी एप्लिकेसनमार्फत हरेक पर्यटकको मोबाइलमा जानकारी उपलब्ध गराइनेछ, जसले पर्यटन विकासमा उच्चतम लाभ दिनेछ ।

१३. स्मार्ट फोहर व्यवस्थापनः सेन्सरयुक्त फोहोरको वर्गीकरणसहितको भण्डारण विन तथा सिस्टमजडित गार्वेज ट्रकको प्रयोग ।

१४. स्मार्ट ट्रान्सपोर्ट, मोबिलिटी, पार्किङः जिपिएस तथा सेन्सर र गेटवेमा आधारित सुरक्षित ट्रान्सपोर्ट तथा पार्किङ ।

यसका अतिरिक्त सम्पूर्ण सरकारी निकायका कामकारबाही डिजिटल प्रणालीमा परिवर्तन गरी ई–गभर्नेन्सको माध्यमद्वारा जनतालाई छिटो, छरितो र पारदर्शी हिसाबले उपलब्ध गराउनुका साथै जनतालाई अनावश्यक दुःख दिने कार्यको अन्त्य हुनेछ । साथै, फोहोर व्यवस्थापन, प्रदूषणरहित सुन्दर सहर, बाटोघाटो, घरनक्सा, कर प्रणालीसमेतलाई डिजिटल रूपमा एकआपसमा कनेक्टेड भई सुव्यवस्थित सरकार सञ्चालन तथा सुविधा सम्पन्न नागरिक भई आनन्दपूर्वक जीवनयापन गर्न मद्दत मिल्नेछ ।

अन्त्यमा, भइरहेको सहरलाई स्मार्ट सहरको रूपमा क्रमशः विस्तार गर्न तथा नयाँ सहरलाई सुरुवातदेखि नै स्मार्ट सहरको गाइडलाइन्सअनुसार विकसित गर्न सकिनेछ । यसका लागि सेन्ट्रलाइज डाटा सेन्टर, सुरक्षासहितको फाइबर अप्टिक्स नेटवर्किङ, सुरक्षित इन्टरनेट तथा इन्ट्रानेट कनेक्टिभिटी, स्मार्ट लाइटिङ सिस्टम, अन्डरग्राउन्ड केबलिङ तथा डक्टिङ सिस्टम, स्मार्ट पार्किङलगायत सरकारी सेवा केन्द्रहरूको विकास, विस्तार तथा तालिम अपरिहार्य रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्