Logo

प्रभु स्टील्सको शेयर लिलामीमा

काठमाडौं- जलविद्युत क्षेत्रमा ठूलो लगानी गर्दै आएको प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर लिलामीमा आएको छ । कम्पनीले बुधबार एक सूचना प्रकाशित गरी सो शेयर लिलामीमा राखेको हो । कम्पनीको उक्त शेयर प्रति कित्ता रु. ६० माथि बढाबढ मूल्यमा खरिद गर्नु पर्नेछ ।

आवेदकले आवेदन दिँदा न्यूनतम १००० कित्ता देखी अधिकतम् सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले गत २४ माघ २०८१ देखी १:१ एक का दरले २८ फागुन २०८१ सम्म हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर बिक्री वितरण पछि बाँकी रहेको जम्मा १३,१७,०३० कित्ता शेयर लिलामीमा राखिएको छ ।

यो लिलामीमा (बुधबार) चैत्र ६ देखि यही चैत्र २० गतेको बैंकिङ समयसम्म सहभागिता जनाउन सकिनेछ । यस कम्पनीले दोस्रो बजारमा समेत ठूलो लगानी गर्दछ । कम्पनीले माथिल्लो दोर्दी खोला जलविद्युत आयोजना २५ मेगावाट, सुपर आँखुखोला जल विद्युत आयोजना २५.४ मेगावाट र सिद्धार्थ केवलकार लिमिटेडमा लगानी गरेको छ ।

यस कम्पनीको मुख्य लगानी रहेको सिद्धार्थ केवलकार सञ्चालनमा आएको छाटो अवधिमा नै एकलाख पचास हजार भन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटकहरुद्वारा केवलकारका साथसाथै ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्त्वका बिभिन्न स्थलहरुको अवलोकन गरिसकेका छन् ।

कम्पनीले आफ्नो लगानी विस्तार गर्नेक्रममा केही दिनअघि मात्रै ”माथिल्लो म्याग्दी जलविद्युत आयोजना ३७ मे.वा.”मा प्रभु ग्रुप्स अन्र्तगतको यस प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले रु. ४५ करोड भन्दा बढी लगानी गर्ने गरी सम्झौता समेत गरिसकेको छ । कम्पनीले विभिन्न उत्पादन मूलक उद्योग, होटल, टुरिजम लगायत ठूला परियोजनामा लगानी गर्ने उद्देश्य राखी सम्झौताको अन्तिम चरणमा रहेको जनाएको छ ।

यस कम्पनीले सर्व साधारणका लागि रु. ९८ करोडको सार्वजनिक शेयर निष्कासन (आईपीओ) गर्न कुमारी क्यापिटल लाई बिक्री प्रबन्धक नियुक्त गरी सकेको छ । कम्पनीको लिलामीको शेयरमा आवेदन दिन चाहने व्यक्ति वा संस्थाहरुले लिलामीको शेयरमा आवेदन दिँदा प्रभु स्टील्स कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा. ३२, तिनकुने, काठमाडौंस्थित कार्यालयमा नै दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्