Logo

दाङमा तीन महिनादेखि उडान बन्द

दाङ– जिल्लामा ३ महिनादेखि हवाइ सेवा बन्द रहेको छ । जिल्लाको एक मात्र टरिगाउँ विमानस्थलमा विमान आउन छाडेसँगै हवाइ सेवा बन्द भएको हो । उडान बन्द भएसँगै जिल्लाबासीले हवाइ सेवाका लागि नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । यहाँका नागरिकले हप्तामा २ दिन हवाइ सेवा पाउँदै आएका थिए । त्यसपछि हप्ताको १ दिन मात्र विमान आउने गरेको थियो ।

तर गत पुस २ गतेदेखि विमान अवतरण गरेको छैन । ३ महिनादेखि विमान सेवा बन्द हुँदा पनि कसैको ध्यान पुग्न सकेको छैन । नियमित उडान हुनुपर्ने भएपनि भएको उडान समेत बन्द भएको छ । वि सं २०११ देखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलमा हाल उडान रोकिएको छ । नेपाल वायु सेवा निगमको जहाज गत पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्स स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए ।

सुनारका अनुसार निगमका विमानको इन्जिनमा समस्या आएपछि नियमति सेवा दिन नसकेको उनले बताए । ‘छिट्टै नै कार्य तालिका प्रकाशन हुन्छ र विमान नियमित उडान हुनेछ’ इञ्चार्ज सुनारले भने । कार्यतालिका आएपछि हप्ताको कति दिन उडान हुने भनेर जानकारी हुने उनको भनाइ छ । टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएको थियो । २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको थियो ।

सीता एयरले २०८० सालमा सेवा सुरु गरेपनि एक वर्ष नपुग्दै बन्द गरेको थियो । पछिल्लो समय नेपाल एयरलाइन्सले हप्तामा एक दिन उडान गर्दै आएको थियो । तीन महिनादेखि पूर्ण रूपमा उडान बन्द रहेको छ । दाङको टरिगाउँ विमानस्थलको लागि आवश्यक जग्गा अधिग्रहण गर्नका लागि एक करोड बजेट विनियोजन भएको छ । जग्गा अधिग्रहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एक करोडको बजेट विनियोजन गरेको हो ।

फागुन १५ गते मन्त्रीस्तरिय निर्णय अनुसार जग्गा अधिग्रहणका लागि थप ९९ करोड रकम सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । टरिगाउँ विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न मात्रै ५ अर्ब लाग्ने स्टिमेट गरिएको थियो । तर, पछिल्लो समय एक अर्ब रकम भए पुग्ने बताइएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलको धावनमार्ग ७५० मिटरमा मात्रै कालोपत्रे गरिएको छ ।

७५० मिटर धावनमार्ग मात्रै कालोपत्रे गरिएकाले साना विमान मात्रै अवतरण गर्न सक्छन् । गत वर्ष मात्रै एक करोड खर्चेरे नयाँ टावर निर्माण गरिएको थियो । अघिल्लो वर्ष दाङ एयरपोर्टमा पहिलो पटक रिफ्युलिङ ट्यांकर ल्याइएको थियो । विस २०११ देखि सञ्चालनमा आएको विमानस्थलको स्तरोन्नतिका माग लामो समयदेखि हुँदै आएको छ । तर यसले सार्थकता पाउन सकेको छैन । लुम्बिनी प्रदेशको राजधानी दाङको यो मात्रै एउटा विमानस्थल हो ।

तर यहाँ एटीआर विमान अवतरण गर्न नसक्दा नेपालगन्ज वा भैरहवा अवतरण गरी मात्रै दाङ आउनुपर्ने बाध्यता छ । पछिल्लो समय गत माघमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल पनि तुलसीपुर आउँदा टरिगाँउ एरपोर्टको विस्तार तथा तुलसीपुर–घोराही सडक खण्ड चार लेन बनाउने कुरा प्रमुख रुपमा उठाएका थिए । वर्षौंदेखि हरेक चुनावमा उम्मेद्वारले आफ्नो प्रमुख चुनावी नारामा टरिगाँउ एरपोर्ट विस्तार छुटाउँदैनन् तर त्यसअनुरुप काम भने हुन सकेको छैन् ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको बताइन् । विमानस्थल पुन: सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । ठूला जहाजका लागि एक हजार २५० देखि एक हजार ५५० मिटर धावनमार्गको लम्बाइ र ३० देखि ५० मिटर चौडाइ आवश्यक पर्ने डीपीआरमा उल्लेख छ ।

धावनमार्गको क्षेत्रफल ३९ बिघा रहेको छ । धावनमार्ग विस्तारका लागि सँगै रहेको कपास विकास समितिको चार बिघा जग्गासमेत विस्तारका लागि ल्याउने प्रक्रिया अघि बढेको बताइएको छ । धावनमार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्रसमेत पठाएको छ । यसअघि तुलसीपुरमा रहेको एरपोर्टको धावन मार्ग विस्तार गर्ने नागरिकस्तरबाट खुत्रुके अभियानसमेत सञ्चालन गरेका थिए । तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अभियान सञ्चालन गरिएको थियो ।

यसमा अन्य उद्योग वाणिज्य संघले समेत सहयोग गरेका थिए । सरकारलाइ दवाव दिन खुत्रुके अभियान सञ्चालन गरिएको उनीहरुको भनाइ छ । एरपोर्टमा गएर विभिन्न सामाजिक संघ संस्थाले दवाव दिन बैठकसमेत सञ्चालन गरेका थिए । नियमित उडान नहुँदा ठूला उद्योगी नआउने गरेको उनीहरुको भनाइ छ । सहज सडक यातायात नहुनु तथा हवाइ सेवा नहुँदा यसको प्रभावले जिल्लाको विकासमा परेको निजी क्षेत्रको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्