कर्णाली नदीमा जलयात्राको लहर

धनगढी– गर्मी सुरु भएसँंगै कर्णाली नदीमा जलयात्रा गर्नेको लहर बढ्न थालेको छ । कर्णाली नदीमा चल्ने र्याफ्ट र स्टिमरमा जल सयर गर्ने दिनप्रतिदिन बढिरहेको व्यवसायी बताउँछन् । उनीहरूले जलयात्रा गर्न दैनिक सयौं आन्तरिक पर्यटक चिसापानी र टीकापुर पार्क पुग्न थालेको बताए । चिसापानीबाट कर्णालीमा र्याफ्ट चलाइरहेको सत्ति कर्णाली र्यापिड एड्भेन्चर प्रालिका सञ्चालक विष्णुप्रसाद जैशीले दिनहुँ सयौं मानिस र्याफ्ट चढेर जल सयर गर्न पुग्ने गरेका छन् ।
उनले बिदाको दिन हजारौंका संख्यामा चिसापानीमा आन्तरिक पर्यटक आउने गरेको बताए । र्याफ्टिङ गरेवापत प्रतिव्यक्ति दुई सय रुपैयाँ लिने गरेको सञ्चालक जैशीले बताए । उनले बिदाबाहेकको दिन दैनिक पाँचदेखि १० हजार रुपैयाँको टिकट बिक्री हुने गरेको बताउँदै होलीको दोस्रो दिन शनिबार परेकाले बिदा मनाउन हजारौंको संख्यामा मानिस आएको बताए । उनले सो दिन २८ हजार रुपैयाँको टिकट बिक्री भएको बताए । र्यापिड एड्भेन्चरले कर्णालीमा १० वटा र्याफ्ट राखेको छ ।
‘१० वटै र्याफ्ट एकै पटक नदीमा चल्दैन,’ सञ्चालक जैशीले भने, ‘आवश्यकता अनुसार हामीले नदीमा ल्याउँदै जान्छौं । बिदाको दिन नदीमा र्याफ्टको संख्या बढाउँछौं । अरु दिनमा तीनवटा र्याफ्ट नदीमा हुन्छ । एक र्याफ्टमा एक पटकमा १० जनालाई सयर गराउँछौं ।’ उनका अनुसार र्याफ्टमा सयर गर्न बुकिङ सुविधा पनि राखिएको छ । चिसापानीदेखि टीकापुर पार्कसम्मको यात्राका लागि एउटा र्याफ्ट १५ हजार रुपैयाँमा बुक गर्न सकिने सञ्चालक जैशीले बताए । उनले र्याफ्टबाट टीकापुर पार्कमा उत्रिसकेपछि त्यहाँबाट चिसापानीसम्म फर्किन कम्पनीले नै गाडी व्यवस्था गर्ने बताए ।
चिसापानीबाट टीकापुर पार्कसम्म तीन घण्टामा पुग्न सकिने बताउँदै सो रुटमा जलयात्राका क्रममा बर्दिया राष्ट्रिय निकञ्जका जनावर, जलपञ्छी, सोना जातिले बालुवामा सुन खोजेको लगायत दृष्य हेर्न पाइने बताए । तर, दुई सय रुपैयाँको टिकट लिएर र्याफ्टिङ गर्ने जलयात्रीलाई चिसापानी पुलको तल माथि गराउने गरेको छ । कतिपय र्याफ्ट विभिन्न ठाउँमा कार्यक्रमका लागि समेत बुकिङमा जाने गरेको बताउँदै उनले नियमित रूपमा ६ जना रिभर गाइड काम रहेको बताए । उनले कम्पनीसँंग ४० जना रिभर गाइड पटके रूपमा काम गरिरहेको बताए ।
यसैगरी, टीकापुर पार्कमा स्काई वड एड्चेन्चर स्पोटर्स प्रालिले टीकापुर पार्क क्षेत्रबाट कर्णाली नदीमा मोटर स्टिमर चलाएको छ । टीकापुर पार्क घुम्न आउने मानिसलाई जलयात्रा गराउने उद्देश्यका साथ स्काई वडले तीन महिनादेखि सो क्षेत्रमा मोटर स्टिमर सञ्चालन गरिरहेको छ । स्काई वडका योगेश शाहले बिदाको दिनमा पार्क घुम्न आउनेले मोटर स्टिमर चढेर जलयात्रा गर्ने गरेको बताए । प्रतिव्यक्ति २५० रुपैयाँ टिकट निर्धारण गरिएको बताउँदै उनले विद्यार्थीलाई दुई सय रुपैयाँमा लगाइएको बताए ।
कर्णाली नदीमा जलयात्रा र बीच मार्केटको सम्भावना भए पनि तीनै तहका सरकारले कर्णाली नदीमा उक्त कार्यका लागि पूर्वाधार निर्माण गर्नुका साथै नीति र ऐन, कानुन नबनाएकाले कर्णालीमा बगिरहेको पानीबाट राज्यले लाभ लिन सकेको छैन । कर्णालीमा जलयात्राका साथै बीच मार्केट व्यवस्था गरेर आन्तरिक पर्यटक र बाह्य पर्यटक ल्याउन सकिने भए पनि सरकारले ध्यान दिएको छैन । कर्णाली नदीको तराई क्षेत्रमा जलयात्रा तथा पहाडी क्षेत्रमा साहसिक जलयात्राका लागि पूर्वाधार बनाउन सकिए कर्णालीको पर्यटन प्रवर्द्धन गर्न सहज हुने सञ्चालक जैसीले बताए ।
हुम्लादेखि सुरु हुने कर्णाली नदी टीकापुर पार्कसम्मको करिब १८० किमि लामो छ । सो भागमा र्याफ्टिङ र केही भागमा सहजरूपमा मोटर बोटसमेत सञ्चालन गर्न सकिने उनले बताए । कर्णाली नदीको जलयात्राप्रति बाह्य र आन्तरिक पर्यटकको अभिरुचि बढाउन सकेमा यस क्षेत्रले पर्यटनबाट ठूलो लाभ लिन सक्छ । पर्यटकलाई कर्णालीको जलयात्रामा आउन नदीमाथि बनेको एसियाकै नमुना ह्याङ्गिङ ब्रिज चिसापानी पुलले थप मद्दत पुर्याइरहेको छ । चिसापानी पुलमा फोटो खिच्ने, टीकटक, रिल बनाउने मानिसको दिनहुँ भीड लाग्ने गरेको छ ।