Logo

ठेक्का तोडेर नयाँ ठेक्का खोल्न सर्वदलीय बैठकको निर्णय

दुनै–लासिक्याप सडक तोकिएकै समयमा निर्माण नहुने

वीरेन्द्रनगर– भेरी करिडोरअन्तर्गत डोल्पाको दुनै–ल्यासिक्याप सडक सम्झौता मितिभित्र निर्माण नहुने पक्का भएको छ । सोमबार जिल्लाको सर्वदलीय र सर्वपक्षीय टोलीले उक्त सडकको दुनैदेखि सहरतारा बगरसम्म स्थलगत अनुगमन गरेपछि तोकिएको समयमा निर्माण नहुने रिपोर्ट दिएको छ । निर्माण व्यवसायीले सम्झौता गरेको मितिले अब नौ महिनामात्र बाँकी रहँदासम्म १३ प्रतिशतमात्र काम गरेका कारण तोकिएको समयमा सडकको ट्रयाक नखुल्ने पक्का भएको हो ।

जिल्ला समन्वय समिति श्यामबहादुर रोकायाको संयोजकत्वको अनुगमन समितिले सडकको सबै भाग अध्ययन गरेको थियो । दुनै–ल्यासिक्याप सडक खण्डको २५ किलोमिटर सडक भेरी करिडोरले २०७८ मा ठेक्का लगाएको थियो । सूर्य–श्रेया शान्तिदेवी जेभीले २०७८ चैत्रमा सडक निर्माणका लागि ठेक्का लिएको थियो । कुल २८ करोडमा ठेक्का खोलिएको सडकको निर्माण कम्पनीले भ्याटसहित १३ करोड ४० लाखमा भेरी करिडोरसँग निर्माणका लागि सम्झौता गरेर निर्माणको जिम्मा लिएको थियो ।

करिब ४५ महिनाभित्र सडक निर्माण गरेर करिडोरलाई जिम्मा लगाउने सम्झौतामा उल्लेख छ । तर सूर्य–श्रेया शान्तिदेवी जेभीले ३६ महिना बितिसक्दा समेत भौतिक प्रगति १३ प्रतिशत भएपछि तोकिएको समयमा निर्माण कार्य पूरा नहुने सम्भावना बढेको काइके गाउँपालिकाका अध्यक्ष अंगदकुमार रानाले जानकारी दिए । अध्यक्ष रानाका अनुसार निर्माण कम्पनीलाई विभिन्न मितिमा निर्माण कार्य अघि बढाउन ताकेता गराए पनि वास्ता नगरी चुपचाप बसेको थियो । नागरिकले निर्माण व्यवसायीलाई कामको जिम्मा लिएदेखि झनै दु:ख पाइरहेको बताए ।

निर्माण व्यसायीले अब काम गर्न पाउने समय नौ महिनामात्रै रहेको र यो समयमा काम नहुने भन्दै स्थानीयले सम्झौता रद्द गर्न समेत दबाब दिइरहेका छन् । १३ प्रतिशत कामको अवस्था हेर्दा निर्माण कम्पनीले काम गर्न नसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । प्रजिअ महतले भने निर्माण व्यवसायीले सडक निर्माणका लागि कुनै पनि उपकरण र कामदार नराखेकाले गम्भीर लापरबाही छ । अब छोटो समयमा काम धेरै प्रतिशत हुन्छ भन्ने कुनै आधार देखिँदैन ।’

स्थानीयको आक्रोश रहेको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताए । हरेक दिन दैनिक उपभोग्य सामग्री खच्चडमा महँगोमा ढुवानी गरेर खान बाध्य बनाएको स्थानीयबासी राजकुमार रोकायाले दु:खेसो पोखे । उनले भने, ‘पहिला सहज थियो, अहिले त झनै दु:ख पाएका छौं । कहिले निर्माण हुन्छ सडक, अनि हामीले उपभोग गर्न पाउँछौ ।’

सूर्य–श्रेया शान्तिदेवी जेभीका प्रतिनिधि भीमबहादुर बोहोराले भने हामीले काम गरिरहेकै छौं तर पछिल्लो समय विभिन्न कारण काम नभएर केही कमजोरी भएको हो भन्दै बचाउ गरेका छन् । बोहोरा भन्छन्, ‘निर्माणको काम कडा चट्टान भएकाले पनि भौतिक प्रगति नदेखिएको भन्दै विस्फोटक पदार्थ खरिदका लागि समस्या भएको र ढिलाइ भएकाले काम रोकिएको छ । ठूलाठूला चट्टान छन्, हामीले डोजरले काम गर्ने अवस्था छैन । सबैले विस्फोटक पदार्थका लागि पहल गरे काम सम्पन्न हुनेमा विश्वस्त हुन म अनुरोध गर्दछु ।’

यता भेरी करिडोरले भने निर्माण व्यवसायीले सामान्य डोजरले खन्न सक्ने र चट्टानमा समेत ब्रेकर प्रयोग नगरेकाले काममा समस्या आएको जनाएको छ । जिल्लाको सर्वदलीय सर्वपक्षीय अनुगमनले दुनै–ल्यासिक्याप सडक अलपत्र रहेको र निर्माण व्यवसायी र भेरी करिडोरले लापरबाही गरी निर्माण कार्यको भौतिक प्रगति न्यून भएको अनुगमन टोलीका संयोजक जिल्ला समन्वय समिति रोकायाले जानकारी दिए । राज्यले लगानी गरेको लगानीसमेत लापरबाहीका कारण खेर गइरहेको र सडक निर्माणको कामसमेत समयमा नभएकाले नागरिकले दु:ख पाइरहेको रोकायाले बताए ।

अब बाँकी रहेको नौ महिनामा काम हुने कुरामा विश्वस्त नरहेको र सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि जिल्लाको सर्वदलीय सर्वपक्षीय अनुगमन टोलीले निर्णयसमेत गरेकाले सोहीअनुसार जिल्लाले खबरदारी गरेको समन्वय प्रमुख रोकायाले जानकारी दिए । सडकको निर्माण कार्य अलपत्र रहेकाले काइकेसहित माथिल्लो डोल्पाका नागरिकले सास्ती भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्