आठ महिनामा १० अर्ब १७ करोड राजस्व

बिर्तामोड– झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाले १० अर्ब १७ करोड ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उक्त राजस्व संकलन भएको हो ।
चालु आवको साउनदेखि फागुनसम्ममा मेची भन्सार कार्यालय काँकडभिट्टा कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर पनि विविध कारणले १० अर्ब १७ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी किशोर हुमागाईले जानकारी दिए ।
गत साउनदेखि फागुनसम्मको भन्सार राजस्व असुली वार्षिक लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत रहेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव २४ प्रतिशत बढी हो । कार्यालयको अभिलेख अनुसार चालु आर्थिक वर्षको आठ महिनामा साउन महिना बाहेक अन्य कुनै महिना पनि राजस्व असुलीले लक्ष्य हासिल गर्न सकेको देखिदैन् । साउनमा १ सय ६ दशमलव शून्य ६ प्रतिशत राजस्व संकलन भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।
मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आव २०८०/८१ मा ७८ दशमलव ४० प्रतिशत, आव २०७९/८० मा ७० दशमलव १५ प्रतिशत, आव २०७८/७९ मा १ सय ११ दशमलव २४ प्रतिशत, आव २०७७/७८ मा १ सय ८ दशमलव शून्य ३ प्रतिशत र आव २०७६/७७ मा ६३ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको गरेको छ । आव २०७८/७९ र आव २०७७/७८ बाहेक बाँकी आर्थिक वर्षहरूमा कार्यालयले लक्ष्यको तुलनामा राजस्व असुली गर्न असफल भएको उनले बताए ।
चालु आवको फागुनमा मात्र कार्यालयले ८८ दशमलव ७२ प्रतिशत राजस्व संकलन गरेको बताउँदै उनले फागुनमा १ अर्ब ४८ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भए पनि १ अर्ब ३२ करोड १३ लाख रुपैयाँमात्र राजस्व संकलन गरेको जानकारी दिए । राजस्व संकलनका दृष्टिले कोशी प्रदेशमा मेची भन्सार भन्सार विराटनगरपछिको दोस्रो ठूलो भन्सार मानिने गरिइएको छ ।
कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सार कार्यालय काँकडभिट्टाबाट हुने मेची भन्सार कार्यालय काँकडभिट्टाका भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडालले बताए । पूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थको आयात न्यून हुनु, सुपारी आयातमा कोटा प्रणाली लागु हुनु र आयातीत कोइला ठप्प हुँदा त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा परेको छ ।
काँकडभिट्टाको मुख्य राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, सुपारी, पेट्रोलियम पदार्थ, क्लिंकर तथा बंगलादेशबाट आयातित पेयपदार्थ, खाद्यवस्तु तथा कोइलाले समेत राजस्व असुलीमा ठूलो मद्दत पुगेको छ । नेपालले लामो समयदेखि कोलकत्ता बन्दरगाह प्रयोग गर्दै आएकोमा पछिल्लो समय भारतको आन्द्र प्रदेशमा पर्ने विशखा पटनम बन्दरगाह प्रयोग गर्न थालेपछि पूर्वी नाकाबाट व्यापार घटेको व्यवसायीहरूको भनाइ छ ।
विशखा पटनम बन्दरगाहमा ठूला जहाजहरू आउँछन् । व्यवसायीलाई निक्कै सहज हुन्छ । त्यसैले पनि यो नाकाबाट हुने व्यापार क्रमश: घट्दै गएको आकलन गरिएको छ । २०७२ सालको महाभूकम्पबाट तातोपानी र रसुवा नाकामा अवरोध भएपछि कोलकत्ता हुँदै चिनियाँ सामान आयात हुने गरेकोमा अहिले ती नाका पनि सञ्चालनमा आएका कारण यस नाकाबाट हुने राजस्व असुली कम भएको अनुमान गरिएको छ ।
नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै अत्याधिक मात्रामा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिंकर, हवाइ स्प्रिड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटिङ आयल मोबिल, मोटरका ब्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युबहरूलगायतका विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।
त्यस्तै नेपालको पूर्वी नाका काँकडभिट्टा हुँदै मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी, फलामे संरचनाहरू, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाइउड, क्राफ्ट पेपरलगायतका वस्तुहरू नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।