मुख्य विकास–निर्माणको समयमै सिमेन्ट र डण्डीको मूल्यवृद्धि
संसदीय समितिमा उद्योगी र सांसदबीच आरोप–प्रत्यारोप

काठमाडौं– सबैभन्दा धेरै निर्माणका काम हुने समयमा उद्योगीले निर्माण सामग्रीको पटक–पटक मूल्य बढाएपछि विवाद सिर्जना भएको छ ।
उद्योगी–व्यवसायीले वैज्ञानिक कारणबिना आफूखुसी सिमेन्ट र फलामे डण्डीको मूल्य बढाएको भन्दै मंगलबार संसदीय समितिमा भएको छलफलमा चर्को बहस भएको छ । केही सांसदले सरकारको संरक्षणमा उद्योगीले मूल्य बढाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सिमेण्ट र डण्डी उद्योगीलाई बोलाइएको थियो । यसअघि पनि विभिन्न समिति धाइरहेका सिमेन्ट उद्योगीहरुले आफूहरुलाई पटक–पटक समितिमा बोलाएर दुःख दिएको भन्दै आगामी दिनमा नआउने बताएसँगै सांसदहरु आक्रोशित बनेका थिए ।
सरकार र उद्योगीबीच मिलेमतोमै सिमेन्ट र डण्डीको मूल्यवृद्धि गरिएको आरोप लगाउँदै आएका सांसदहरुले उद्योगीसँगै उद्योगमन्त्री दामोदर भण्डारीको पनि आलोचना गरे । उद्योगीको अभिव्यक्ति संसदीय मर्यादाविपरीत भएको भन्दै आलोचना गरेका छन् भने सोही बैठकमा निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबीच पनि आरोप–प्रत्यारोप चल्यो ।
सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्षसमेत रहेका उद्योगी ध्रुव थापाले बैठकको सुरुमै आफूहरुलाई किन बारम्बार बोलाएको भन्ने प्रश्न गरेका थिए । उनले आफूहरुको काम उद्योग चलाउने भएको र बारम्बार संसदीय समितिमा बोलाइए अबदेखि नआउने बताए । थापा यतिमै रोकिएनन्, उनले भारतबाट विद्युत आपूर्ति हुन नसकेको बहानामा रातिको समयमा लोडसेडिङ गरिए सिमेन्टको मूल्य अझै बढाउने भन्दै सांसदहरुलाई चिढ्याए । मूल्यवृद्धिको विरोध गरिरहेका निर्माण व्यवसायीहरुलाई पनि थापाले पुरानै मूल्यमा सिमेन्ट दिन नसक्ने भन्दै समयअनुसार भाउ बढाउनु स्वाभाविक रहेको जिकिर गरे ।
थापाको अभिव्यक्तिले सांसदहरु चिढिए । उद्योगीले आफ्ना अभिव्यक्ति फिर्ता लिएर माफी नमागे बैठक नै छाडेर हिँड्ने चेतावनी कतिपय सांसदहरुले सभापति अब्दुल खानलाई दिए । मन्त्रीको साथकै कारण उद्योगीहरुले एकपछि अर्को गरी मूल्य बढाइरहेको र प्रश्न गर्दा संसदीय समितिमै धम्कीपूर्ण भाषा प्रयोग गर्ने हिम्मत गरेको उनीहरुको आरोप छ । सांसदहरु डीपी अर्याल, रणेन्द्र बराइली, रमा कोइराला, सूर्यमान दोङ, अमृता अग्रहरि, एलपी साँवा लिम्बु, लक्ष्मी महतो कोइरी, रेखा यादव लगायतले उद्योगीको रवैयाको आलोचना गरे । सरकारको भूमिका शंकास्पद रहेको तथा उद्योगीहरुले बिनाआधार मूल्यवृद्धि गरेको आरोप उनीहरुको छ ।
‘मूल्य किन एकाएक वृद्धि भयो ? मूल्यवृद्धि हुन केही न केही वैज्ञानिक आधार चाहिन्छ । त्यसैले अहिलेको वृद्धि त्यत्ति प्राक्टिकल छैन,’ रास्वपा कार्यवाहक अध्यक्षसमेत रहेका सांसद डीपी अर्यालले भने, ‘हामी तपाईंहरुका लागि छलफल गरिरहेका हुन्छौं । तर, तपाईंले यहाँ आउँदैनौं भनेर धम्की दिनुभयो । यो कुरा शोभनीय भएन ।’ सांसद रणेन्द्र बराइलीले कसको आडमा धम्कीपूर्ण भाषा बोलेको भन्दै उद्योगी थापाको आलोचना गरे । सांसद एलपी साँवा लिम्बूले सिमेन्ट र डण्डीको मूल्य बढ्नुपर्ने कारण नरहेको बताए । ‘साउनयता कच्चा पदार्थको मूल्य कति बढ्यो ? बैंकको ब्याज कति भयो ? कामदारलाई थप कति दिनुभयो ? सरकारले यो बीचमा कति ट्याक्स बढायो ?’ उनले प्रश्न गर्दै भने, ‘यी प्रश्नको चित्तबुझ्दो जवाफ नदिई मूल्य बढाउन पाइँदैन ।’ अर्का सांसद लक्ष्मी महतो कोइरीले उद्योगीले उद्योगमन्त्रीको आड पाएर मूल्य बढाउनुका साथै धम्कीपूर्ण भाषा बोलेको आरोप लगाए ।
सांसद सूर्यमान तामाङ दोङले समितिको बैठकमा उद्योगीले धम्की दिँदा आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने बताए । ‘तपाईंहरुको धम्की आपत्तिजनक छ । धम्की फिर्ता नलिने भए हामी यहाँ नबसौं,’ उनले भने, ‘तपाईंले विद्युत प्राधिकरणको बक्यौता नतिरेको आरोप छ । आफ्नो कमजोरी लुकाउन अहिले लोडसेडिङ देखाउनुभएको छ । त्यसैले यो मान्य छैन ।’
सांसद अमृतादेवी अग्रहरिले सिमेन्ट र डण्डीको मूल्यवृद्धिमा उद्योग मन्त्रालयको साथ रहेको आरोप लगाइन् । ‘उद्योग मन्त्रालयले नै दोषीको भूमिका निभाइरहेको छ । मन्त्रालयको साथ नपाई उद्योगीले लगातार मूल्य बढाउन सक्छन् ?’ उनले भनिन्, ‘आम जनतालाई ठग्न पाइँदैन । उद्योगीहरु गलत छन् । यसको जिम्मेवारी मन्त्रालयले लिनुपर्छ ।’ सांसद रमा कोइराला पौडेलले बैठक सभापतिले बोलाएको कि उद्योगीले भन्दै व्यंग्य गरिन् । ‘सिमेन्ट उत्पादकको कुरा मान्य छैन । सिमेन्ट र डण्डीको भाउ लगातार बढाइँदा किन मौन बसेको ?’ सांसद रेखा यादवले उद्योगमन्त्री दामोदर भण्डारीसँग प्रश्न गरिन् । बिचौलियासँग मन्त्रालय बिक्यो भन्ने बजारमा सुनेको उल्लेख गर्दै उनले स्टील उद्योगले फागुन २५ यता डण्डीको मूल्य पटक–पटक गरेर मिलेमतोमा प्रतिकिलो १० रुपैयाँ बढाएको बताइन् । सिमेन्ट उद्योगीले यसअघि नै प्रतिबोरा २५० रुपैयाँ बढाइसकेको सांसदहरुको भनाइ छ ।
मूल्य बजारले नै निर्धारण गर्छः मन्त्री भण्डारी
सिमेन्ट र डण्डीको मूल्यवृद्धिमा विभागीय मन्त्रालयको कुनै संलग्ना नरहेको दाबी गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मूल्य बजारले नै निर्धारण गर्ने जवाफ दिए । सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार रहेको उनको भनाइ छ ।
समिति बैठकमा सिमेन्ट उद्योगी र सांसदहरूबीच सिमेन्टको भाउबारे भएको चर्काचर्कीपछि उनले उद्योगमन्त्री भएका कारण उद्योगीको पक्षमा बोल्नैपर्ने बाध्यता रहेको बताए ।
सिमेन्टको भाउ वृद्धिबारे अध्ययन कार्यदल बनेको र सो कार्यदलले अबको एक सातादेखि १० दिनभित्र सिमेन्ट उत्पादन लागतबारे यथार्थ सार्वजनिक गर्ने उनले जानकारी दिए । ‘सरकारको प्राथमिकता भनेको नीतिमा भएको जटिलता हटाउने हो, वस्तुको मूल्य त बजारले नै निर्धारण गर्छ,’ उनले भने, ‘खुला बजारमा वस्तुको मूल्य व्यवसायीले निर्धारण गर्छ । हामीले अवलम्बन गरेको कानुनी व्यवस्थाले यही भनेको छ ।’