Logo

सार्वजनिक ऋणको आकार २६ खर्ब ७६ अर्ब

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्ममा मुलुकको कुल सार्वजनिक ऋणको आकार २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असारमा २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋण फागुनसम्ममा आउँदा २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको हो ।

यो कुल गाहस्थ्र्य उत्पादन (जिडिपी) को तुलनामा ४६.९१ प्रतिशत हो । कार्यालयका अनुसार चालु आवका ८ महिनामा सरकारले ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण उठाएको थियो । यही अवधिमा सरकारले १ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ ऋण तिरेको थियो ।

यसअनुसार यो आठ महिनामा कुल ऋण २ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ बढेको छ । यो वर्ष विदेशी विनिमयदरमा भएको परिवर्तनका कारण मुलुकमाथि ६६ अर्ब २९ करोड रुपैयाँ ऋणको दायित्व थपिन पुगेको छ । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने बाह्य ऋण १३ खर्ब ६० अर्ब ४६ करोड भएको छ ।

कुल सार्वजनिक ऋणको आन्तरिक ऋणको हिस्सा ४९.१६ प्रतिशत र बाह्य ऋणको हिस्सा ५०.८३ प्रतिशत पुगेको छ । कार्यालयका अनुसार फागुनसम्ममा सरकारले २ खर्ब ६९ अर्ब १५ करोड आन्तरिक ऋण र ६५ अर्ब ४७ करोड रुपैयाँ बाह्य ऋण उठाएको छ । यस्तै फागुनसम्ममा सरकारले एक खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँ आन्तरिक र २४ अर्ब ५० करोड रुपैयाँ बाह्य ऋण भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्