गाउँपालिका कार्यालयमा आगजनी «

गाउँपालिका कार्यालयमा आगजनी

बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । बुधबार ८ बिहान ३ बजेको समयमा गाउँपालिकाको वडा नं ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रमुख डिएसपि डिल्ली नारायण पाण्डेले बताए ।
यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै डिलाशैनी गाउँपालिका ३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरका मूलगेटमा प्रेसर कुकर बम पनि फेला परेको छ । पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ ।
आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका डिएसपि पाण्डेयले बताए । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्