पर्यटन पूर्वाधार बनाउन भुमेथानमा चार करोडका योजना

पर्वत– पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ स्थित धार्मिक तथा पर्यटकीय स्थल भुमेथानमा चार करोडका पुर्वाधार निर्माण गर्न थालिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले संघीय सरकारको चार करोड रुपैयाँ बजेटमा बहुवर्षीय ठेक्का लगाएर विभिन्न संरचना निर्माण गर्न थालेको हो ।
भुमेथान, शिवालय क्षेत्र पूर्वाधार निर्माण योजनामार्फत पर्यटकीय संरचना निर्माण गर्न लागेको कार्यालयका इन्जिनियर गोपीचन्द्र आचार्यले जानकारी दिए । योजनाअन्तर्गत भुमेथान परिसरमा ग्यावियन तथा मेसिनरी पर्खाल निर्माण, ढुंगा बिच्छ्याउने, शौचालय निर्माण र भुमेथानदेखि बराह शिवालय मन्दिर जानका लागि आकर्षक पदमार्ग निर्माण गरिने भएको छ । पाँचसय मिटर लामो रहेको उक्त पदमार्गको चौडाई तीन मिटर हुनेछ ।
पदमार्गमा ढुंगा छापेर आकर्षक बनाइने भएको छ । यसैगरी शिवालय क्षेत्रमा टेवा पर्खाल निर्माण गर्ने योजना रहेको कार्यालयका इन्जिनियर आचार्यले जानकारी दिए । १८ महिनाको अवधिमा निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य रहेको उनले बताए । गौशाला, देवालय शिवालय र भुमेथान क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माण थालिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।
गाउँपालिकाको मुख्य धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको उनको भनाई छ । धाईरिङ भुमेथान स्थित भुमेठाकुरको दर्शन, पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वासले वर्षेनी करिब पचास हजार भन्दा बढी भक्तजनहरु यहाँ आउने उनले बताए ।
अध्यक्ष आचार्यले भने, ‘यस क्षेत्रमा रहेका धार्मिक स्थलमा पूर्वाधार निर्माण गरी गौशाला, देवालय, शिवालय, भुमेथान, कालाञ्जर पर्वत र जलजला क्षेत्रलाई जोडेर धार्मिक सर्किटको रुपमा विकास गर्ने पालिकाको योजना रहेको छ ।’ संघ, प्रदेश र स्थानीय तहको लगानीमा अहिले कालाञ्जर, जलजला र गौशाला क्षेत्रमा पनि करिब आठ करोड भन्दा बढी लगानीमा पूर्वाधार निर्माण सुरु गरिएको उनले बताए ।
प्रशिद्ध धार्मिक स्थल भुमेथानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले ११ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पहिलो चरणमा संघीय सरकारले चार करोड बजेट स्वीकृत गरी योजना अघि बढेको जलजला गाउँपालिका ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताए ।
भुमेथान क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि धार्मिक पर्यटक आगमनमा थप वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष आचार्यले बताए । भुमेथानको दर्शन गर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्कीलगायतका जिल्लाका साथै यस क्षेत्रबाट बसाई सराई गरेर बाहिर गएकाहरुको उल्लेख्य सहभागिता रहने गर्दछ । यहाँ हरेक मंगलबार र शनिबार पुजाआजा गरिँदै आएको छ ।