Logo

पदमार्गमार्फत ध्वजेडाँडा र खुवालुङ जोड्दै साँगुरीगढी

धनकुटा– धनकुटाको साँगुरीगढी गाउँपालिकाले ध्वजेडाँडा र खुवालुङ जोडेर पर्यटक प्रवर्द्धन गर्न पदमार्ग निर्माण सुरु गरेको छ । खुवालुङ किराँतहरूको सभ्यतासँग जोडिएको स्थान रहेको मान्यता छ । त्यस्तै ध्वजेडाँडा पालिकाको सबैभन्दा अग्लो स्थानसहित महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । अरुण, तमोर र सुनकोशी नदीको संगमस्थान त्रिवेणीमा रहेको खुवालुङलाई महाभारत पर्वत श्रृंखला अन्तर्गतका डाँडैडाँडा ध्वजेडाँडासँग जोड्न लागिएको हो ।

गाउँपालिकालाई दीर्घकालीन पर्यटकीय हवको रूपमा विकास गर्न पदमार्ग निर्माण सुरु गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए । गाउँपालिकाका १० वडामध्ये ६ वटा वडालाई पदमार्गले समेट्ने पदमार्ग ध्वजेडाँडादेखि त्रिवेणी हुँदै खुवालुङसम्मको कुल लम्बाइ ३८.२ किलोमिटर रहेको गाउँपालिकाका इन्जिनियर दिपक राईले जानकारी दिए । करिब दुई दिनमा पदमार्गको यात्रा पूरा गर्न सकिने पदमार्गको सुरुवाति विन्दु ध्वजेडाँडालाई मानिएको छ ।

ध्वजेडाँडाबाट सूर्याेदय र सूर्यास्तको दृश्य हेर्न मिल्ने साथै तराईका समथर फाँटसँगै मकालु, सगरमाथा कुम्भकर्ण, कञ्चनजंगा नेपाल भारत र भुटान गरी तीन देशका हिमाल देख्न सकिन्छ । ध्वजेडाँडाबाट सुरु हुने पदमार्ग वडा नम्बर ५ को ओख्रे बजार, ६ नम्बर वडाको नाम्जे बजार, आत्माघर, जनजाति पार्क, भेडेटार बजार, पाथिभरा मन्दिर हुँदै साँगुरीगढी–७ नम्बर वडाको टोपेटेम्बा, ८ नम्बर वडाको रनफने डाँडा, ९ नम्बर वडाको झण्डीडाँडा, दाक्वुङ, राँके, चारपोखरी, वडुवाडाँडा, १० नम्बर वडाको लिम्बूचौतारा, चाम्राङ, भालेलु, ताङकेरा साङकेम्मा हुँदै त्रिवेणी खुवालुङसम्म रहेको छ ।

यी दुई गन्तव्य जोड्नसके साँगुरीगढी गाउँपालिकाको विभिन्न स्थान जोडिनुका साथै भेडेटार घुम्नमात्र आउने नभई कोशी प्रदेशकै आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ गन्तव्य थप हुने गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा पदमार्गका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकमबाट मार्गको विभिन्न स्थानमा संरचना निर्माण गरिएको थियो । पदमार्गमा पर्ने झाँडीको सरसफाइ, डेढ मिटर चौडा भएको करिब ६ किलोमिटर लम्बाइको फुटट्रयाक, सात किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सुक्खा वाललगायतको संरचना निर्माण गरेको थियो ।

बाँकी संरचना निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो क्षेत्रमा विशेषगरी राई, लिम्बु, मगर जातिको जातीय संस्कार हेर्न सकिन्छ । स्थानीय बालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृष्य, स्थानीय वनस्पति तथा जैविक विविधतालाई नजिकबाट नियाल्न सकिने स्थानीय नगेन्द्र राईले बताए ।

प्रतिक्रिया दिनुहोस्