हराएको छोरा १२ वर्षमा फेला «

हराएको छोरा १२ वर्षमा फेला

भैरहवा-सात वर्षको उमेरमा बाबुआमाबाट बिछोडिएका बाँके राप्ति सोनारीका सन्तोषकुमार सुनार घर फर्किएका छन् । आमाबाबु रोजगारीको शिलशिलामा भारतको लुधियाना जाँदै गर्दा रेल चढ्ने क्रममा सन्तोष हराएका थिए ।
उनका बाबु अमर बहादुर सुनारले खोजी गर्नको लागि धेरै पहल गरेको भए पनि उनी फेला पर्न सकेका थिएनन् । मंगलबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बाबुआमासँग हराएका छोराको पुनर्मिलन गराइएको छ । कार्यक्रममा आमा लक्ष्मी सुनार पनि सँगै थिइन् । “बगेको खोला पनि १२ वर्षमा फर्कन्छ भन्थे हो रहेछ, आश मारिसकेको छोरा फिर्ता आयो,” सुनार दम्पतिले भने ।
२०६४ सालमा भारतको लुधियानामा रेलमा चढ्दा छुट्न गएका सन्तोषलाई लखनउमा फेला पारिएको थियो । लखनउमा फेला पार्दा उनको उमेर ११ वर्ष ४ महिना उमेर बताउने उनले आमा बाबुको सही नाम समेत बताउन सकेका थिएनन् । घर नेपाल बताए पनि आमा बाबुको राम्रो परिचय नपाउँदा त्यहाँका स्थानीयले बालगृहमा लगेर बुझाएका थिए । भारतको विभिन्न बालगृह हुँदै राजकीय बालगृहमा सन्तोष पुग्दा त्यहाँ सन्तोष जस्तै विजय तामाङ, राजेश कुमार, सुमित कुमार पनि आफन्तबाट बेपत्ता भएका थिए । राजकीय बालगृहले सन् २०१८ जुन १३ मा भारत स्थित नेपाली राजदूतावासमा खबर गरेको थियो ।
राजदूताबासको पत्रसाथ नेपाली मित्र मञ्चका संयोजक दुर्गा प्रसाद अर्याल र मानव कल्याण मित्र मञ्च नेपालको सक्रियतामा ४ बालकलाई ०७५ साउन ५ गते नेपाल ल्याइएको थियो । नेपालमा ल्याइएका ती चार बालकलाई आफन्त फेला नपर्दा सम्मको लागि जिल्ला प्रहरी कार्यालय र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रको जिम्मा लगाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनीहरुलाई नेपाल अविनास अनाथ आश्रम कोटिहवाको बालगृहमा जिम्मा लगायो । त्यहाँ उनीहरुलाई खाना बस्न सहित अध्ययन गर्ने सुविधा समेत बालगृहले व्यवस्था गरेको थियो । नेपाल ल्याएएको केहि दिनमै सन्तोष बाहेकका तीनजना बालकलाई आफन्तको पहिचान गरि जिम्मा लगाइयो । सन्तोषका आफन्तको कुनै अत्तोपत्तो नभएपछि उनलाई कोटिहवा स्थित पशुपति उच्च माविमा कक्षा ८ मा भर्ना गरियो । कक्षा ८ मा पढ्दै गरेका उनको परिवारको खोजी कार्य भने जारी रहेको थियो । परिवारको खोजी गर्दै जाँदा गाउँलेको सल्लाहमा पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दियो ।
परिवार पुनर्मिलन कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख एसपि हेम थापा, तिलोत्तमा नगरका मेयर बासुदेब घिमिरे, रुपन्देही प्रहरी प्रबक्ता एबं डिएसपी खडक बहादुर खत्री, नेपाली मित्र मञ्च दिल्लीका संयोजक दुर्गा प्रसाद अर्यालले फेला परेका युवालाई स्वदेशमै बसेर काम गर्नु पर्ने बताउँदै प्रहरी, संघसंस्थाको सकृयतामा हराएका बेपत्ता परेकाहरु फेला पर्ने र परिवारलाई बुझाउने काममा सबैको सहयोग जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्