डेढ अर्ब लगानीमा पोखरामा कोसेली घर निर्माण हुने

पोखरा– पर्यटकीय नगरी पोखरामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा कोसेली घर निर्माण हुने भएको छ । दुवै दातृ निकायको सहयोगमा निर्माण हुने उक्त परियोजनाको सोमबार एक समारोहका बीच उक्त कोसेली घरको शिलान्यास गरिएको हो ।
पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत कोसेली घर निर्माण गरिने भएको छ । करिब १ अर्ब ५० करोडको लागतमा निर्माण हुने उक्त परियोजनाको सोमबार एक समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्ने पोखरा महानगरले जनाएको छ । १ अर्ब ४८ करोडभन्दा बढीको उक्त परियोजनाले पोखरा क्षेत्रको नमुना परियोजना हुने विश्वास गरिएको छ । १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेसनल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाडौंले पाएको छ ।
परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिज उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ । शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका समयमा फोहोरलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहमार्फत पुन: प्रयोगमा आउने सामाग्री निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण समेत हुने विश्वास व्यक्त गरे ।
हरित रोजगारी सृजनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्त्वपूर्ण योगदान गर्ने उनले बताए । उनले भने, ‘यसले सामुदायिकस्तरमा रोजगारी सृजना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसर समेत प्रदान गर्नेछ ।’ विदेश पलायन भइरहेको युवा शक्ति र गृहिणी महिलाका लागि समेत हरित रोजगारी सृजना महत्त्वपूर्ण रहेकोे उल्लेख गर्दै प्रमुख आचार्यले यस परियोजनाले युवालाई रोजगारीसँग जोड्ने फोहोरबाट मोहोर पनि आर्जन हुने दाबी गरे । नगर प्रमुख आचार्यले परियोजनाको पहिलो चरणमा तीन हजार बढी प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सृजना हुने दाबी गरे ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइका बीचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरे । नेपालको पर्यटन राजधानी पोखरामा रिसाइकल र अपसाइकलमार्फत हरित रोजगारी सृजनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोषेढुंगा सावित हुने कोङ्ले उल्लेख गरे । ग्रिन जब क्रियसन संसारमा निकै प्रभावकारी परियोजनाका रूपमा अगाडि आएको उनले बताए ।
संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताए । परियोजनामार्फत ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गरी नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गरिने उनले जनाए ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सृजनामा समेत यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सृजनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यो परियोजना पोखराका लागि रोजगारी सृजना, सिकाइ प्रवर्द्धन र उत्पादनका हिसाबले महत्त्वपूर्ण हुने बताए ।
फोहोर मैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण मानिन्छ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमलाई बढवा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । ३० अगस्ट २०२३ मा नगर प्रमुख आचार्य र कोइकाका उपप्रमुख युन यंग लीबीच सम्झौता भएको महानगरले उल्लेख गरेको छ ।