मेची भन्सारको राजस्व बढ्यो «

मेची भन्सारको राजस्व बढ्यो

बिर्तामोड-पछिल्लो समय पेट्रोलियम पदार्थ र बंगलादेशमा उत्पादित पेय तथा खाद्य पदार्थको आयात बढेसँगै मेची भन्सार कार्यालय काँकरभिट्टाले राजश्व असुलीमा वृद्धि गरेको छ ।
काँकरभिट्टा भन्सारले संकलन गर्ने कुल राजस्वको ४० प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको र बंगलादेशबाट आयातित पेय पदार्थ, खाद्य वस्तुलगायतले पनि कूल राजस्वको ४० प्रतिशत ओगटेकाले पछिल्लो समय राजस्व संकलन वृद्धि भएको भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए ।
नेपाल, भारत, बंगलादेश र भुटानबीच अत्यावश्यक पदार्थलाई ‘फस्ट इन, फस्ट आउट’ गर्ने सहमति भएसँगै अहिले निर्वाधरुपमा पेट्रोलियम पदार्थको आयात भएकाले राजस्व असुलीमा पनि उल्लेखनीय प्रगति भएको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्ष ०७४-७५ को माघसम्ममा पेट्रोलियम पदार्थबाट मात्रै २ अर्बभन्दा बढी राजस्व संकलन भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत अर्यालले बताए ।
आर्थिक वर्ष ०७४÷७५ को सुरुका दुई महिना साउन र भदौमा कार्यालयले लक्ष्यको तुलनामा राजस्व असुली गर्न सकेको थिएन । कार्यालयको तथ्यांकअनुसार साउनमा १६ दशमलव ७० प्रतिशत र भदौमा ५ दशमलव ७ प्रतिशत राजस्व गुमेको थियो । ६४ करोड ४६ लाख ४० हजार रुपैयाँ राजस्व असुली गर्नुपर्ने दबाव भए पनि कार्यालयले साउनमा ५३ करोड ६९ लाख ६३ हजार ९ सय ३२ रुपैयाँ (८३ दशमलव ३० प्रतिशत) मात्र असुली गरेको थियो ।
यस्तै भदौमा महिनामा ७३ करोड ६७ लाख ३१ हजार असुल गर्नुपर्नेमा ६९ करोड २७ लाख १९ हजार ८ सय ६१ रुपैयाँ (९४ दशमलव ०३ प्रतिशत) मात्र संकलन भएको थियो ।कार्यालयले असोजमा लक्ष्यको तुलनामा १३ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । असोजमा ६४ करोड ४६ लाख ४० हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य भए पनि ७२ करोड ८८ लाख ९६ हजार ९ सय ९८ रुपैयाँ (११३ दशमलव ०७ प्रतिशत) संकलन भएको थियो ।
कात्तिक र मंसिरमा कार्यालयलाई भन्सार विभागले ७३ करोड ६७ लाख ३१ हजार लक्ष्य दिए पनि कात्तिकमा ६५ करोड ७० लाख ८४ हजार ८ सय ७२ रुपैयाँ (८९ दशमलव १९ प्रतिशत) र मंसिरमा ६७ करोड ७६ लाख ५४ हजार ८१ रुपैयाँ (९१ दशमलव ९८ प्रतिशत) राजस्व संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो दुई महिनामा कार्यालयले लक्ष्यको तुलनामा राजस्व असुली गर्न नसकेपछि विभागले पुस र माघमा सोही लक्ष्यलाई यथावत राखेको थियो । तर, पुसमा ८७ करोड १९ लाख ७० हजार ३ सय ८३ (११८ दशमलव ३६ प्रतिशत) र माघमा ९४ करोड ८७ लाख ८ सय ९ रुपैयाँ (१२८ दशमलव ७७ प्रतिशत) राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत अर्यालले जानकारी दिए ।
चालू आर्थिक वर्ष २०७४-७५ को माघ मसान्तसम्म विभागले कार्यालयलाई ४ अर्ब ९७ करोड २९ लाख ३५ हजार राजश्व असुलीको लक्ष्य दिएको र सो अवधिमा काँकरभिट्टा भन्सार कार्यालयले ५ अर्ब ११ करोड ३९ लाख ९० हजार ९ सय ३६ रुपैयाँ असुली गरेको छ ।विभागले कार्यालयलाई चालू आर्थिक वर्षमा ९ अर्ब २० करोड ९१ लाख ३८ हजार रुपैयाँ लक्ष्य दिएको छ ।

तुलसीप्रसाद निरौला

प्रतिक्रिया दिनुहोस्