Logo

फेवा महोत्सवमा आगन्तुकलाई होटल आवासमा छुट

पोखरा– नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आयोजना हुने २० औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८२ मा सहभागी हुने स्वदेशी तथा विदेशी पर्यटकलाई होटल आवासमा २० प्रतिशत छुट दिइने भएको छ । चैत ३० देखि सञ्चालन हुने महोत्सवमा आगन्तुक पर्यटकहरूको लागि होटल आवासमा २० प्रतिशतदेखि अन्य पर्यटनका क्रियाकलापमा पनि छुट प्याकेजका कार्यक्रम रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।

महोत्सवका अवसरमा संघअन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दर रेटमा २० प्रतिशत छुटको व्यवस्था हुने कार्यक्रम संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । होटल संघ पोखरा नेपालले आगामी वैशाख १ सम्म पोखरामा आयोजना गर्न लागेको महोत्सवमा रैथाने र परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र खेलकूदका कार्यक्रम, पर्यटक दौड, पप कन्सर्ट, कृषि र हस्तकलाका सामग्रीको प्रदर्शनी र लोकदोहोरीका कार्यक्रम आकर्षणमा रहने उनले बताए ।

स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा सञ्चालन हुने महोत्सवमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित महोत्सव हुन लागेको संघका महासचिव राजेन्द्र ढकालले बताए । पर्यटनको राजधानी पोखरामा पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा हुन लागेको यो महोत्सवले फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं वाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ ।

अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउने र यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय महोत्सवले लिएको छ । संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको र पश्चिम नेपालमा पनि यस्तो अभियान छिटै सञ्चालन गरिने संघले जनाएको छ ।

जाउँ है पोखरा अभियान र फेवा नव वर्ष महोत्सव जस्ता कार्यक्रमकै कारण पोखरा आउने आन्तरिक पर्यटक हाल ४० प्रतिशत पुगेको अध्यक्ष सुवेदीले बताए । पोखराका होटलमा अहिले पाहुनाको समग्र अकुपेन्सी दर ४० प्रतिशत हाराहारी रहेको पनि अध्यक्ष सुवेदीले बताए । पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यहाँको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको संघको दाबी छ ।

सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले फेवा महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । आयोजक संघको सल्लाहकार परिषद्का सदस्य एवं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले सकारात्मक माहौलले पर्यटनलाई अगाडि बढाउन मद्दत पुग्ने दाबी गरे । संघमा ४ सय २५ होटल आबद्ध रहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्