Logo

छेन्दुदेखि पोखरासम्म चार्टर्ड उडान

पोखरा– चीनको छेन्दुदेखि पोखरासम्म चार्टर्ड उडान हुने भएको छ । चीनको सिचुवान एअरलाइन्सको विमानबाट पोखरा आउने चिनियाँ पर्यटकलाई मंगलबार पोखरामा स्वागत तथा पोखराबाट सिचुवान प्रन्तको छेन्दु सहरमा प्रस्थान गर्ने पोखराका पर्यटन व्यवसायीलाई बिदाइ गरिन लागिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष २ महिनाभन्दा बढी समय हुँदा पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडान नहुँदा चीनको सिचुवान एअरलाइन्सले कम्तीमा पनि १० वटा व्यावसायिक चार्टर्ड फ्लाईट गर्ने क्रममा मंगलबार पहिलो फ्लाइट गर्ने भएपछि पोखरा पर्यटन परिषद्ले आगन्तुक पाहुनालाई पोखरामा स्वागत तथा पोखराबाट चीन प्रस्थान गर्ने पोखरेलीहरूलाई बिदाइ गर्ने कार्यक्रम तय गरेको हो ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्ष गाँठको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक चार्टर्ड उडान हुने भएपछि पोखराका पर्यटन व्यवसायीहरू उत्साहित भएको परिषदका अध्यक्ष तारानाथ पहारीले बताए । थ्री यू थ्री सेभेन थ्रि सिक्स नम्बरको सिचुवान एअरलाइन्सको विमानबाट चीनदेखि १ सय २७ जना र पोखरादेखि १ सय २३ जना चीनको छेन्दु प्रस्थान गर्ने परिषद्ले जनाएको छ ।

पोखराका मेयर धनराज आचार्यसहितको टोली चीनको छुन्दु प्रस्थान गर्ने भएका छन् । टोलीमा पर्यटन तथा केही पत्रकारसमेत सहभागी हुने छन् । गण्डकी प्रदेशको मेरुदण्डको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन नसकेकोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सुचारु गर्न, पोखराको पर्यटनलाई थप चलायमान गराउने हेतुले पोखराका पर्यटन व्यवसायीहरूले मित्र राष्ट्र चीनको सिचुवान एयरमा पोखराबाट छेन्दु सहरमा सिधा हवाई उडान गर्ने महाअभियान कार्यक्रम सञ्चालन गरेको परिषद्को दाबी छ ।

छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर्ड उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि जाने भएको कार्यक्रम संयोजक एवं परिषद्का महासचिव जीवनराज सापकोटाले बताए । नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझोउ, इमी, लेसान, छोङछिङलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागी हुने उनले जनाए । करिब ९ करोड जनससंख्या रहेको छेन्दु सहर र पोखराको पर्यटन प्रवर्द्धनमा उक्त अभियानले धेरै मद्धत पुग्ने संयोजक सापकोटाले बताए ।

मंगलबारदेखि सञ्चालन हुने उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने पोखराका मेयर आचार्यले विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्नको लागि पटकपटक राज्यका विभिन्न निकायसहित प्रधानमन्त्रीसमेत लाई ध्यानाकर्षण गरिरहँदा पनि उडान सुचारु हुन नसकेपछि निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको प्रयासले सिचुवानको विमानमार्फत पोखरामा ३ महिने चार्टर्ड फ्लाइट गर्न लागिएको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले बताए । उक्त अभियानलाई सफल पार्न सबैको साथ आवश्यक भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्