पूर्वाधार बनेसँगै एक वर्षमा दर्जन होटल खुले, पर्यटक बढ्दै
शैलुङमा पाँच करोडमा पाँच सय मिटर मिनि ग्रेटवाल

दोलखा– दोलखाको पर्यटकीय क्षेत्र शैलुङ डाँडा चिनियाँ ग्रेटवालको अनुभूति लिन सकिने बनेको छ । शैलुङ गाउँपालिका–८ मा पर्ने शैलुङ डाँडासम्म जान मिनि ग्रेटवाल तयार गरिएको हो ।
शैलुङको बेसक्याम्प मानिने कालापानीदेखि डाँडासम्म पुग्न यस्तो बाटो बनाइएको छ । पर्यटन प्रवद्र्धनका लागि शैलुङ गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गरेको हो । संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा शैलुङ डाँडासम्म करिब ५०० मिटर लामो मिनि ग्रेटवालको बनाएको एक वर्ष भएको छ ।
पाँच करोड लागतमा यो वाल बनेको हो । यसलाई शैलुङ वालको नामले पनि चिनिन्छ । मान्छेभन्दा अग्लो दायाँबायाँ पर्खाल लगाइएको छ भने बीचमा हिँड्नका लागि चार मिटर चौडा पैदलमार्ग छ । वाल निर्माण स्थानीय स्तरमा पाइने ढुंगा काटेर गरिएको छ भने बाटोमा पनि स्थानीय ढुंगा बिच्छ्याइएको छ ।
‘पाँच सय मिटरको यो वाल बनेपछि आन्तरिक र बाह्य पर्यटक बढेका छन्,’ शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले भने, ‘यसलाई रंगरोगन गरेर थप आकर्षक बनाउनेछौं ।’ अब पाँच सय मिटर थप यस्तै वाल बनाउँदा शैलुङको तल्लो थुम्कासम्म पुग्न सकिने उनले बताए । थप वाल बनाउने गाउँपालिकाको योजना छ । आन्तरिक स्रोतले गाउँपालिका एक्लैले बनाउन नसक्ने हुँदा संघीय सरकार र प्रदेश सरकारसँग बजेट माग गरिरहेको उनले जानकारी दिए ।
ग्रेटवालको झल्को दिने पदमार्ग बनेपछि पछिल्लो समय शैलुङ पर्यटकको रोजाइमा पर्न थालेको छ । बिदाको दिन, विभिन्न चाडपर्व र शनिबार दैनिक सयौं पर्यटक आउन थालेका छन् ।
पर्यटक बढ्न थालेपछि कालापानी क्षेत्र तथा ढुंगेमा व्यवसायीहरुले होटल, रिसोर्ट निर्माणमा लगानी बढाउँदै छन् । सुरक्षाका लागि प्रहरी पोष्ट समेत स्थापना भएको छ । एक वर्षको बीचमा एक दर्जन होटल खुलेका छन् । कालापानी आसपासमा एक दर्जन सुविधासम्पन्न होटल निर्माण भइरहेका छन् । पर्यटकका सुविधाका लागि निर्माणाधिन होटलमा करोडौं लगानी भएको छ । शैलुङ प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम र भ्रमणहरु पनि भइरहेका छन् ।
सगरमाथादेखि गणेशसम्मका हिमालहरुको अवलोकन, दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, सोलुखुम्बु, ओखलढुंगाजस्ता आधा दर्जन जिल्लाका भूभाग एउटै ठाउँबाट अवलोकन गर्न सकिने भएकाले पनि शैलुङ आउने पर्यटक बढ्दो क्रममा छन् । सुर्योदय र सुर्यास्तको मज्जा लिन पनि पर्यटक शैलुङमा बस्ने गरेका छन् ।
दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ डाँडा पहाडको टाकुरामा साना ठूला सय ओटा थुम्का मिलेर बनेको छ । हरेक समय पर्यटकको मन लोभ्याउने शैलुङ डाँडा समुद्री सतहदेखि तीन हजार १४६ मिटर उचाइमा छ । शैलुङमा प्राकृतिक मनोरम दृश्यावलोकन र धार्मिक पर्यटनका लागि पर्यटकहरु आउने गरेका छन् ।
महाभारत क्षेत्रकै सबैभन्दा उच्च स्थानमा रहेको शैलुङलाई पर्यटकीय क्षेत्र विकास गर्न शैलुङ गाउँपालिकाले प्राथमिकतामा राखेको छ । शैलुङको विकासमा रामेछापको दोरम्बा गाउँपालिकाले पनि जोड दिएको छ । काठमाडौंबाट ११६ किलोमिटरमा कालापानी पुग्न सकिन्छ । अहिले सडक १२ महिना चल्न योग्य भएको छ । बाघखोरसम्म सडक कालोपत्रे छ भने बाघखोरदेखि ढुंगेसम्म ८ किलोमिटर सडक कालोपत्रेको तयारी भइरहेको छ । सडक राम्रो भएका कारण पनि आन्तरिक पर्यटकहरु शैलुङ आउन थालेको स्थानीय गोविन्द्र श्रेष्ठले बताए ।
धार्मिक रुपमा पनि पर्यटक शैलुङ आउने गरेका छन् । शैलुङ्गेश्वर महादेव दर्शन, जुरेढुंगा महादेवको दर्शन, १२ वर्षमा गोदावरी मेलाका साथै भिमसेनको तरबार, पृथ्वीको नाइटो, बुद्धको पाइला भएकाले हिन्दू र बौद्ध धर्मावलम्बीहरु शैलुङ पुग्ने गरेका छन् ।
चिनियाँ राजदूतलाई शैलुङ भ्रमणको निम्तो
चिनियाँ ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको शैलुङ ग्रेटवालसहितको तस्बिर नेपालका लागि चिनियाँ राजदूत चेन सङलाई दिँदै शैलुङ भ्रमणको निम्तो दिइएको छ । गत हप्ता एक कार्यक्रममा फ्रेण्डसिप अन त क्लाउड प्लेटफर्म अफ इन्फ्लुयन्स नेपालका अध्यक्ष सोभित उप्रेतीले निम्तो हस्तान्तरण गरेका हुन् । शैलुङ प्रचारप्रसारको काममा विगतदेखि सक्रिय उप्रेतीले चिनियाँ राजदूत चाँडै शैलुङ जान इच्छुक रहेको बताए । राजदूत शैलुङ पुगे चिनियाँ पर्यटकलाई शैलुङमा आकर्षित गर्न सकिने उनको भनाइ छ ।