एनजिओमा करियर बनाउनेहरूको उथलपुथल

विश्वभरि विकासशील देशहरूमा गैरसरकारी संस्था (एनजिओ) हरूले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा महत्ववपूर्ण भूमिका खेलेका छन् । नेपालजस्तो सरकारी संस्थाको पहुँच सीमित भएको देशमा एनजिओले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, गरिबी निवारण र आपत्कालीन सहयोगजस्ता क्षेत्रमा अत्यन्त महत्ववपूर्ण योगदान दिएका छन् । तर, हालै युएसएड र अन्य अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले आर्थिक सहयोगमा कटौती गरेपछि नेपालमा हजारौँ एनजिओ बन्द भएका छन् । यसले संस्थाको अस्तित्वमा संकट उत्पन्न मात्र गरेको छैन, हजारौँ कर्मचारी बेरोजगार भएका छन् र उनीहरू अब निराश र योजनाहीन अवस्थामा छन् । यसले नेपाली समाजमा गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक प्रभाव पारेको छ ।
युएसएड र अन्य अन्तर्राष्ट्रिय दातृ संस्थाहरू जस्तै— युकेएड, नेदरल्यान्ड्स विकास नियोग, जर्मन विकास सहयोग, संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंकले नेपालजस्ता विकासशील देशहरूमा विकासका विभिन्न क्षेत्रमा ठूलो मात्रामा आर्थिक सहयोग प्रदान गरेका छन् । यी संस्थाहरूले गरिबी निवारण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता र आर्थिक विकासजस्ता क्षेत्रहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याएका छन् । नेपालमा धेरै एनजिओ यी दातृ संस्थाहरूबाट प्राप्त अनुदानमा निर्भर छन् ।
युएसएड र अन्य दातृ संस्थाहरूले आफ्नो नीतिमा परिवर्तन गरेर नेपालमा आर्थिक सहयोगमा कटौती गरेका छन् । यसको मुख्य कारण अन्तर्राष्ट्रिय स्तरमा आर्थिक मन्दी, दातृ राष्ट्रको आन्तरिक राजनीति र विकास सहयोगका प्राथमिकतामा परिवर्तन हुन् । सन् १९८९ मा बर्लिन पर्खाल भत्काएर पूर्वी जर्मनी र पश्चिम जर्मनी एक हुनु, सन् १९९० मा सोभियत संघ विघटन हुनुले विश्वमा शीतयुद्ध समाप्त भएपछि विश्वको ध्यान विकासतर्फ मोडिएको थियो । अहिले झन्डै ३० वर्षपछि विकसित देशको बजेट रक्षा क्षेत्रमा खर्च गर्नुपर्ने भएकाले विकास बजेट संकुचन हुन पग्यो, जसले गर्दा धेरै दातृ निकायले विकास बजेट कटौती गरे । यसले गर्दा नेपालमा काम गर्ने धेरै एनजिओ आफ्ना कार्यक्रम जारी राख्न असमर्थ भएका छन् । युएसएड व्यावहारिक रूपमा समाप्त भएको छ, हजारौँ मानिसले आफ्नो जागिर गुमाइरहेका छन् र विश्वभरि लाखौँ जीवन बचाउने सहायता गुमाउने जोखिममा छन् ।
धेरै एनजिओ आफ्ना कार्यक्रम सञ्चालन गर्न दातृ संस्थाहरूमा मात्र निर्भर छन् । उनीहरूसँग आफ्नै आर्थिक स्रोत विकास गर्ने क्षमताको अभाव छ । नेपालको गैरसरकारी संस्था सञ्चालन ऐन, २०३४ ले पनि एनजिओ गैर–नाफामूलक संस्था भएकाले व्यवसाय गरेर अर्थोपार्जन गर्न नपाउने भनेको छ । यसले गर्दा दातृ संस्थाहरूले सहयोग रोक्नासाथ उनीहरू बन्द हुने अवस्थामा पुगेका हुन् ।
नेपाल सरकारले पनि एनजिओको कार्यप्रणालीमा कडा नीति लागू गरेको छ । यसले गर्दा धेरै एनजिओले आफ्ना कार्यक्रम सञ्चालन गर्न गाह्रो महसुस गरेका छन् । सरकारले एनजिओमा पारदर्शिता र जवाफदेहिता बढाउने नाममा धेरै नयाँ नियम लागू गरेको छ, जसले गर्दा संस्थाका लागि कार्यक्रम सञ्चालन गर्न झन् जटिल बनाएको छ ।
अहिले धेरै एनजिओका कार्यक्रम बन्द भएका कारण बेरोजगारी वृद्धि भएको छ । एनजिओ बन्द हुनुको सबैभन्दा ठूलो प्रभाव भनेको बेरोजगारीमा वृद्धि हो । हजारौँ कर्मचारीले आफ्नो रोजगारी गुमाएका छन् । उनीहरूले आफ्नो जीविकोपार्जनका लागि अर्को विकल्प खोज्न गाह्रो महसुस गरिरहेका छन् ।
एनजिओले नेपालमा शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र गरिबी निवारणजस्ता क्षेत्रमा महत्ववपूर्ण भूमिका खेलेका छन् । यी संस्था बन्द हुँदा यी सेवामा ठूलो कमी आएको महसुस हुन थालेको छ । विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिस यी सेवाबाट वञ्चित भएका छन् । एनजिओले नेपाली अर्थतन्त्रमा पनि ठूलो योगदान दिएका छन् । स्थानीय स्तरमा रोजगारी सिर्जना गरेका छन् र स्थानीय बजारलाई सहयोग पुर्याएका छन् । एनजिओ बन्द हुँदा स्थानीय अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ ।
तिनीहरूले तिर्ने करले राज्यको ढुकुटीमा ठूलो योगदान गरेको थियो । एनजिओले सञ्चालन गर्ने सेवाले राज्यको अर्थतन्त्रमा योगदान पुर्याएको छ । उदाहरणका लागि, एनजिओले होटल, रेस्टुराँ सञ्चालन, हवाईजहाजको प्रयोग, ट्याक्सीको उपयोग आदि विभिन्न उद्योगसँग सम्बन्धित गतिविधि गरेर केवल सेवा प्रदान गरेको मात्र हैन, त्यससँगै करको माध्यमबाट सरकारलाई राजस्व पनि प्रदान गर्छन् ।
एनजिओले आफ्ना कार्यक्रम सञ्चालन गर्न दातृ संस्थाहरूमा निर्भर हुनुको सट्टा आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्छ । उनीहरूले स्थानीय स्रोतबाट आर्थिक सहयोग जुटाउने, सामाजिक उद्यम स्थापना गर्ने र दिगो वित्तीय मोडेल विकास गर्ने जस्ता उपाय अवलम्बन गर्न सक्छन् । नेपाल सरकारले एनजिओको कार्यप्रणालीलाई सहज बनाउने नीति लागू गर्नुपर्छ । सरकारले यी संस्थालाई आर्थिक सहयोग प्रदान गर्ने, उनीहरूको क्षमता विकास गर्ने र उनीहरूले सामाजिक सेवा प्रदान गर्न सकून् भन्ने वातावरण सिर्जना गर्नुपर्छ । एनजिओलाई दातृ निकायमा मात्र भर पर्नुको साटो व्यवसाय गर्न सहजीकरण गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले पनि नेपालमा काम गर्ने एनजिओप्रति आफ्नो सहयोग जारी राख्नुपर्छ । उनीहरूले एनजिओको क्षमता विकासमा लगानी गर्ने, उनीहरूलाई दिगो बनाउने र उनीहरूले आफ्ना कार्यक्रम सञ्चालन गर्न सकून् भन्ने वातावरण सिर्जना गर्नुपर्छ । त्यसैगरी स्थानीय समुदायलाई एनजिओका कार्यक्रममा सहभागी बनाउनुपर्छ । यसले गर्दा समुदायले आफ्नो विकासमा सक्रिय भूमिका खेल्न सक्छ र एनजिओलाई पनि आफ्ना कार्यक्रम सञ्चालन गर्न सजिलो हुन्छ ।
युएसएड र अन्य दातृ संस्थाहरूले आर्थिक सहयोगमा कटौती गरेपछि नेपालमा हजारौँ एनजिओ बन्द भएका छन् । यसले गर्दा धेरै कर्मचारी बेरोजगार भएका छन् र उनीहरू अब निराश र योजनाहीन अवस्थामा छन् । यसले नेपाली समाजमा गम्भीर सामाजिक, आर्थिक र मनोवैज्ञानिक प्रभाव पारेको छ । यो समस्याको समाधानका लागि एनजिओहरूले आत्मनिर्भर बन्ने, सरकारले सहयोग पुर्याउने, अन्तर्राष्ट्रिय दातृ संस्थाले सहयोग जारी राख्ने र स्थानीय समुदायलाई सहभागी बनाउने जस्ता उपाय अवलम्बन गर्नुपर्छ । यसरी मात्र हामी एनजिओको अस्तित्वलाई बचाउन सक्छौँ र उनीहरूले प्रदान गर्ने सामाजिक सेवालाई जारी राख्न सक्छौँ ।
आफ्नो एनजिओको जागिर गुमाउनुपरेको अवस्थामा अब के गर्ने ? भन्ने प्रश्नले धेरैलाई सताएको छ । आफूले नियन्त्रण गर्न सक्ने कुरामा ध्यान दिनु जरुरी छ र नसक्ने कुरामा चिन्ता गरेर डिप्रेसनको सिकार हुने होइन । त्यसैले यसलाई एक अवसरको रूपमा प्रयोग गर्न सक्नुपर्छ, सकारात्मक अवसरका रूपमा लिनुपर्छ । परिवर्तन सामान्य नियम हो । विकासको क्षेत्रमा सधैँ परिवर्तन भइरहन्छ । एनजिओमा काम गर्ने कर्मचारीले अस्पष्टतामा बस्ने क्षमता राख्न सक्नुपर्छ, असुविधामा पनि बाँच्न सिक्नुपर्छ ।
एनजिओमा काम गरेका कर्मचारी आफूलाई निजी क्षेत्रमा प्रवेश गर्न कोसिस गर्दै छन् भने एनजिओको शब्दावली परिवर्तन गरी गैर–नाफामुखी मानसिकताको केही भाग हटाउनु जरुरी छ । एनजिओमा बोल्ने भाषा र निजी क्षेत्रमा बोल्ने, सोच्ने भाषा र शैली एकदम फरक छ । यो पूर्ण रूपमा फरक संसार हो र उद्देश्य पूर्ण रूपमा फरक छ । आफूले गरिआएको गैर–नाफामुखी काम र आफ्नो गैर–व्यावसायिक व्यवहारलाई निजी व्यवसाय र नाफामा कसरी अनुवाद गर्न सकिन्छ, महत्ववपूर्ण कुरा हो ।
यो सुरुमा अलि अनौठो लाग्न सक्छ । एनजिओमा काम गर्नेहरूको नाफाका लागि मात्र काम गर्ने बानी छैन । यसलाई अझ आशावादी वा सकारात्मक तरिकाले सोच्नका लागि आम्दानी प्रवाहका बारेमा रचनात्मक बन्ने र आफ्नो कामलाई आर्थिक मापन गर्न सकिने गरी उद्यम सञ्चालन गर्नु जरुरी छ । वर्षौंसम्म अँध्यारो क्षणका बारेमा अरूलाई सबैभन्दा आशावादी बनाउनेले आफ्नो लागि पुनरुत्थान गर्न र दातृ निकायमा कम निर्भर नागरिक बन्न समाजलाई एक प्रकारको प्रेरणाको स्रोत बन्नु जरुरी छ ।
संसार परिवर्तनशील छ, संसार निरन्तर परिवर्तन हुन्छ र यो यसको साथमा विकसित हुने एनजिओकर्मीको लागि अवसर पनि हो । एनजिओकर्मीहरूलाई सुझाव छ, ‘तपाईं फेरि परिवर्तन गर्न सक्नुहुन्छ ।’ यस क्षणमा सेवानिवृत्त नभएसम्म एनजिओकर्मीहरूले आफ्नो करियर समाधानका विविध प्रयास गर्नुपर्छ । वास्तवमा मान्छे जुन दिशामा जानु खोज्छ, जुन समाजमा रहन चाहन्छ त्यो सधैँ चाहेजस्तो, सोचेजस्तो नहुन सक्छ । त्यसैले विगतबाट पाठ सिकेर एक कदम पछाडि फर्केर दुई कदम अगाडि पाइला चाल्ने प्रयत्न गर्नुपर्छ ।
जब आफूसँग अर्को विकल्पका बारेमा स्पष्ट विचार छैन भने आफ्नो भविष्यका बारेमा अनिश्चित महसुस हुनु र करियर परिवर्तनको अवस्थामा चुनौतीजस्तो महसुस हुनु स्वाभाविक छ, जसले आफूलाई आत्मविश्वासका साथ अगाडि बढ्न कोसिस गर्छ । जीवनको बाटो परिवर्तन हुँदा विचलित नभई अनिश्चित भविष्यलाई सुनिश्चित बनाउन कोसिस गर्छ र जीवनमा उसैको पोल्टामा सफलता पर्छ । एनजिओमा काम गर्नेहरूको नियन्त्रणमा अझै धेरै कुरा छन् । आफ्नो ज्ञान र सीप नयाँ क्षेत्रमा कसरी रूपान्तरण गर्ने भन्ने कुरामा चिन्तन गर्नु आवश्यक छ ।