सेयरमा देखिएन सुधार, नेप्सेमा १०.१४ अंकको गिरावट

काठमाडौं– गत साताको अन्तिम कारोबार दिन बिहीबार बढेको सेयर बजार यो साताका दुवै दिनमा ओरालो लागेको छ । आइतबार २१.६३ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा आएको हो ।
सोमबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार यसमा पनि घटेर पाँच अर्ब ४० करोडको कारोबार भएको हो । यो रकम आइतबारको तुलनामा एक अर्ब ४३ करोड रूपैयाँ कम हो । सोमबार ३३१ वटा कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच भएको छ ।
यस्तै ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको सेयर घटेको छ। १३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । सोमबार राप्ती हाइड्रोको प्रतिसेयर मूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेको छ। यसको सोमबार प्रतिकित्ता मूल्य ६३५ रूपैयाँ कायम भएको छ । यस्तै, सामुदायिक लघुवित्तको मूल्य ८.०३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ५८२ सय रूपैयाँ पुगेको छ ।
सोमबार महालक्ष्मी विकास बैंकको मूल्य सर्वाधिक ५.६३ प्रतिशतले घटेको छ । यसको प्रतिकित्ता मूल्य ४१९ रूपैयाँमा झरेको छ । यस्तै, घलेम्दी हाइड्रोको मूल्य ४.५८ प्रतिशतले घटेर प्रतिकित्ता २९७ रूपैयाँ ७० पैसामा झरेको छ । सोमबार भएका कारोबारमध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
यसको प्रतिकित्ता ९८४ रूपैयाँमा ४३ करोड ९३ लाख रूपैयाँको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा १.५० प्रतिशत कम हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ । यो कम्पनीको प्रतिकित्ता एक हजार २८९ रूपैयाँमा ३० करोड ७४ लाख बराबरको सेयर कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ । विकास व्यापार समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ । अरु बाँकी सबै समूहको परिसूचक घटेको छ । यही कारण समग्र रुपमा नेप्से परिसूचक ओरालो लागेको हो ।