ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाहरूको जोड «

ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाहरूको जोड

स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरूका उत्पादनहरूको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रूपमा मंगलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरूका लागि ट्रेडमार्क तथा बौद्घिक सम्पत्ति संरक्षण’ विषयक एकदिने कार्यशाला गोष्ठीका सहभागीहरूले यस्तो बताएका हुन् ।
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात् विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरूमा डब्लूटीओको नियम कानुनअन्तर्गत रही आफ्ना उत्पादनहरू अन्य सदस्य मुलुकहरूमा निर्यात गर्दै आएको बताउँदै भने, “यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरू अन्य मुलुकहरूमा समेत उत्पादन हुन्छन् । यसरी उत्पादित वस्तुहरू मूल रूपमा नेपालबाट उत्पादन सुरु भए पनि अन्य मुलुकहरूले यस्ता वस्तुहरूको प्रतिलिपी उतारगरी उत्पादन गरी दिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तुहरू समेतमा नेपालको हक कायम नभई दिँदा भविष्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्न सक्ने र हाम्रा उत्पादनहरूले उल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।”
नेपालमै उद्गम भएका कतिपय निर्यातयोग्य वस्तुहरूमा हाम्रो स्वामित्व कायम गर्नु अपरिहार्य भएकोमा जोडदिँदै उनले भने, “हालसम्म पेटेन्ट अधिकारका बारेमा नेपालका अधिकांश लघु, घरेलु तथा साना उद्यमीलाई बौद्घिक सम्पत्तिको संरक्षणका बारेमा जानकारी समेत छैन, उनीहरूलाई ट्रेडमार्क र ब्रान्डसम्बन्धी चेतना जगाउनुपर्छ ।”
उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बौद्धिक सम्पत्ति भनेको अत्यन्तै महत्वपूर्ण कुरा भएकोमा जोड दिँदै भने, ‘उद्योगको कुरा गर्दा कुल जीडीपीको छ प्रतिशत छ । साना व्यवसायीले उत्पादन गर्छन, दुःख गर्छन, थुप्रै सामानको सिर्जना हुन्छ, सिर्जनामा उनीहरूकै ट्रेडमार्क सुरक्षित हुँदैन ।”
ट्रेडमार्क भनेको उद्योगी व्यवसायीको आफ्नो सम्पत्ति भएको भन्दै यसको बेलैमा संरक्षण गर्न जरुरी भएको बताउँदै उनले भने, “औद्योगिक सामानहरू उत्पादन हुन्छन् तर तिनको पेटेन्ट दर्ता अत्यन्तै कम हुनुको पछाडि सचेतनाको अभाव र समयको अभावले हुनसक्छ । तर, यो विषयमा व्यवसायी बेलैमा सचेत हुन जरुरी छ ।”
कार्यक्रममा उद्योग विभागका कानुन उपसचिव टंकबहादुर महतले ट्रेडमार्कको अवधारणा, महत्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा बौद्घिक सम्पत्तिको संरक्षणको अवधारणा र प्रभावकारिताका साथै वस्तु डिजाइन तथा बौद्घिक सम्पत्तिका अन्तर्राष्ट्रिय अभ्याससम्बन्धी प्रस्तुति गरेका थिए । कार्यक्रममा विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र बौद्घिक सम्पत्तिको संरक्षणका विषयमा प्रस्तुति गरे ।
एकदिने कार्यशाला गोष्ठीमा लघु, घरेलु तथा साना उद्योगहरूका उत्पादनमा लागेका करिब एक सयजना व्यवसायीहरूको सहभागिता रहेकको कार्यक्रमका सहजकर्ता रुपक सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्