चामलमा प्लास्टिक जस्तो वस्तु मिसावट भएको दाबी

झापा– झापामा एक उपभोक्ताले खरिद गरेको मन्सुली चामलमा प्लास्टिक जस्तो वस्तु मिसावट भएको घटनाको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरले छानविन गरेको छ । मेचीनगर–७ इटाभट्टाको राधाकृष्ण इण्डस्ट्रिजबाट उत्पादित उत्पादित उज्यालो ब्रान्डको मन्सुली चामलमा प्लास्टिक जस्तो वस्तु मिसावट भएको भन्दै एक उपभोक्ताले प्रहरीमा उजुरी दिएपछि त्यसको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरले छानविन गरेको हो ।
झापा मेचीनगर–१० निवासी पदम राजवंशीले फागुन २८ गते धुलाबारी मोडको किराना पसलबाट ३० केजीको एक बोरा मन्सुली चामल किनेर पिठो बनाएर चाल्दा प्लास्टिकका त्यान्द्रा धेरै मात्रामा भेटिएको र तावामा चामल तताउँदा धुँवासँगै प्लास्टिकको गन्ध आएको बताए । छोराले किनेर लगेको चामलको पिठो बनाएर चाल्दा प्लास्टिकका त्यान्द्रा धेरै मात्रामा भेटिएको र तावामा चामल तताउँदा धुँवासँगै प्लास्टिकको गन्ध आएकाले आफूले इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएको नजरलाल राजवंशीले बताए ।
चामलमा प्लास्टिक मिसावट भएको दावीका साथ प्रहरीमा दिएको उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरले छानविन थालेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका खाद्य निरीक्षण अधिकृत सागरराज पोखरेलले बताए । राजवंशीले उजुरी दिए लगत्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले घटनाबारे छानविन गर्न आफूलाई खटाएको बताउँदै उनले उक्त चामलको नमुनालाई विराटनगरस्थित प्रादेशिक खाद्य प्रयोगशाला पठाइने जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयबाट खटिएका खाद्य निरीक्षण अधिकृत सागरराज पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रहरी, उपभोक्ता अधिकारबादी, व्यवसायी र पत्रकारको रोहवरमा किराना पसलबाट उज्यालो ब्रान्डको चामलको बोरा खोलेर दुई केजी चामल शिलबन्दी गरेर खाद्य परीक्षणका लागि लगेको बताए ।
चामलको नमुनालाई विराटनगरस्थित प्रादेशिक खाद्य प्रयोगशाला पठाइने बताउँदै पोखरेलले प्रयोगशालाबाट जाँच रिपोर्ट आएपछि यस विषयमा थप कार्वाही अघि बढाइने जानकारी दिए । यसमा अखाद्य वस्तुसम्बन्धी ऐन आकर्षित हुने उनले बताए । किराना पसलका सञ्चालकले आफूले राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादिन चामल बोरामा प्याक भएर आउने हुँदा मिसावट बारेमा आफूलाई कुनै जानकारी नभएको जनाए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जाँचको रिपोर्ट नआउञ्जेल मिसावट भएको दावी गरिएको चामल बिक्री नगर्न उक्त पसललाई निर्देशन दिएको खाद्य निरीक्षण अधिकृत सागरराज पोखरेलले बताए । मेची उद्योग वाणिज्य संघका पदाधिकारीले समेत चामलमा प्लास्टिक मिसिएको जस्तो देखिएको हुँदा घटनाको छानविन गरी दोषीलाई कडा कार्वाही हुनुपर्ने स्थानीय सरकारसंग माग गरेका छन् ।