यस वर्ष २२ हजार मेट्रिक टन आलु उत्पादन

पर्वत– क्षेत्रफल विस्तार र अनुकूल मौसमका कारण यस वर्ष पर्वतमा आलु उत्पादन वृद्धि हुने भएको छ । आलुमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु विस्तार कार्यक्रमअन्तर्गत पर्वतमा हिउँदे सिजनमा १४ सय ५० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ । यतिबेला कृषकलाई आलु खन्न र थन्क्याउन भ्याइनभ्याई भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले आलु उत्पादन हुने केन्द्रको अनुमान छ । जसअनुसार हिउँदे सिजनमा मात्र करिब २२ हजार मेट्रिक टन आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । सरदर प्रतिकेजी ४० रुपैयाँका दरले कृषकले आलु बिक्री गर्दा झण्डै ८७ करोड आम्दानी हुने केन्द्रले जनाएको छ ।
पर्वतमा गत आर्थिक वर्ष विसं २०८०/०८१ मा एक हजार ३९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । जसमा २० हजार ३३० मेट्रिक टन आलु उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीका अनुसार खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत जिल्लाभरका आलु पकेट क्षेत्रका कृषक उत्पादनमा लाग्न प्रोत्साहित भएका छन् ।
ज्ञान केन्द्रले विभिन्न पकेट क्षेत्रमा गरी ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा एक करोड ४७ लाख अनुदान वितरण गरेको छ । आलुको बीउ खरिदमा ७० प्रतिशत, यान्त्रीकीकरणमा ५० प्रतिशत, सिँंचाइ पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा प्याकेजिङमा ७५ प्रतिशत अनुदान दिइएको सूचना अधिकारी सुवेदीले बताइन् ।
जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिकाका १६ वटा कृषक समूहले आलु उत्पादनमा अनुदान लिएका छन् । अनुदान पाउन कम्तीमा पनि कृषक समूहले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा सामूहिक आलुखेती गरेको हुनुपर्छ । मोदी गाउँपालिकाका वडा नं. ४, ५, ६, ७, ९ मा पर्ने लेसपार, क्याङ, छापा, बाजुङलगायतमा करिब ४५० रोपनी क्षेत्रफलमा ८ वटा कृषक समूहले खायन आलुको खेती गरेका छन् ।
कुश्मा नगरपालिकास्थित आलु पकेट क्षेत्र मानिने पाङ, खुर्कोट, आर्थरलगायतका स्थानमा २२५ रोपनीभन्दा बढी क्षेत्रफलमा आलु उत्पादनमा सामूहिक रूपले कृषकहरू जुटेका छन् भने फलेवास नगरपालिकाको मुडिकुवा, शंकरपोखरी, कुर्घा, लिमिठाना, चिर्दीखोला लगायत स्थानका कृषकले २२० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा आलुखेती गरेका छन् । यसैगरी दक्षिण पर्वतको पैयुँ गाउँपालिकाको हुवास क्षेत्र, महाशिला गाउँपालिकामा ६ वटा कृषक समूह आलु उत्पादनमा लागेका छन् ।
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले गत वर्षभन्दा यस वर्ष आलुको उत्पादन बढी हुने बताए । यतिबेला कृषकलाई आलु थन्क्याउने चटारो रहेको भन्दै अबको एक महिनापछि आलु उत्पादनको यकिन तथ्यांक आउने बताए । उनले आलुबाट कृषकहरू आत्मनिर्भर हुनुका साथै आर्थिक रूपमा समेत राम्रो उपलब्धि मिलेको उनको भनाइ छ ।