उदयपुरमा दर्जन पर्यटक गन्तव्य स्थल «

उदयपुरमा दर्जन पर्यटक गन्तव्य स्थल

उदयपुर- नेपाल भ्रमण वर्ष–२०२० मनाइरहदा उदयपुरमा रहेका दर्जन बढी पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न थालिएको छ । जिल्लामा धार्मिक तथा ऐतिहासिक महत्व बोकेका दर्जन बढी पर्यटकीय स्थानमा पर्यटक आकर्षण गर्ने गरी तिनको प्रचार–प्रसार थालिएको हो । उदयपुर- नेपाल भ्रमण वर्ष–२०२० मनाइरहदा उदयपुरमा रहेका दर्जन बढी पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न थालिएको छ । जिल्लामा धार्मिक तथा ऐतिहासिक महत्व बोकेका दर्जन बढी पर्यटकीय स्थानमा पर्यटक आकर्षण गर्ने गरी तिनको प्रचार–प्रसार थालिएको हो । पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थानहरू रौता पोखरी, चौदण्डीगढी दरबार क्षेत्र, उदयपुरगढी, ताप्ली पोखरी, चताराघाटदेखि भोजपुरको लेगुवासम्मको मोटर बोट, उदयपुर सिमेन्ट उद्योग, पूवाञ्चलकै उच्च स्थानमध्येको एक नामेटारको २३ सय मिटर अग्लो चित्रेथाम, २ हजार मिटर अग्लो माझखर्क, सदरमुकाम गाईघाटको ज्ञानविज्ञान कुन्ज, श्रमिक पार्कलगायत दर्जन स्थानहरू पर्यटकलाई आकर्षित गर्न सक्ने भएकाले भ्रमण वर्षको अवसर पारेर प्रचारप्रसार गर्न थालिएको स्थानीय निकायका प्रतिनिधिको भनाइ छ ।
  मैनामैनी मन्दिर र टंकेला गुफा, बेलदोभानको महादेव गुफा, बाराहाको पाँचतले गुफा र लेखानीको बेतिनी भन्ज्याँग पर्यटकको गन्तव्य बनाउने प्रयास थालिएको छ ।     “नेपाल भ्रमण वर्ष–२०२० मा उदयपुरका दर्जनौं स्थान पर्यटकको आकर्षण बन्न सक्छन्,” रौतामाई गाउँपालिकाका गंगाबहादुर मगरले भने, “तर, स्थानीय तहबाट यिनको अझ व्यापक प्रचारप्रसार हुन जरुरी छ ।” जिल्लाको प्रसिद्ध धार्मिकस्थल रौतापोखरी नजिकैका बासिन्दा उनले रौता पोखरीमा पर्यटकलाई आकर्षित गर्न स्थानीय निकायले प्रचारप्रसारका साथै सडक यातायात, संचार, विद्युतलगायतका पूर्वाधार तयार हुँदै गएको बताए ।
उदयपुरका चौदण्डीगढी र उदयपुरगढी ऐतिहासिक तथा सामरिक महत्व बोकेका स्थान हुन् । यी सँगै दोस्रो भेडेटारका रुपमा चिनिने बेतिनी र जिल्लाकै सबैभन्दा अग्लो चित्रेथाम पनि पर्यटकको रुचीका गन्तव्य भित्र पर्न सक्छन् । यी स्थानमा पर्यटन प्रवद्र्धन गर्न स्थानीय निकायले प्रयास गरिरहेका छन् ।“चौदण्डीगढीमा पर्यटकलाई आकर्षित कसरी गर्न सकिन्छ भन्ने कुराको खोजी हामी गरिरहेका छौं”, चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले भने, “हेर्नका लागि भ्यूटावर निर्माणका साथै खानेपानी, सडक, संचार, विद्युतजस्ता पूर्वाधार तयारी भइसकेका छन् ।” उदयपुर जिल्लाको मात्र नभई चौदण्डीगढी नेपालकै एउटा प्रमुख ऐतिहासिक स्थल भएकाले यहाँ पर्यटकको आकर्षण बढाउन सकिन्छ भन्ने विश्वास रहेको उनले बताए । 
“रौता पोखरीको व्यापक प्रचार–प्रसार र पर्यटकको सुविधालाई व्यवस्थित गरेर नेपाल भ्रमण वर्ष–२०२० मा स्वदेशी मात्र होइन, विदेशी पर्यटक आकर्षित गर्ने हाम्रो योजना छ,”  रौतामाई गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर खड्का भन्छन्, “त्यसको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ ।”  

प्रतिक्रिया दिनुहोस्