Logo

हस्तकलाका सामग्री बिक्री नहुँदा उद्यमीलाई समस्या

बिर्तामोड– हस्तकलाका सामग्री बिक्री नहुँदा झापा मेचीनगरका उद्यमी समस्यामा परेका छन् । पछिल्लो समय बढ्दो आधुनिकतासँगै आफूहरूले जानेको सीप प्रयोग गरी तयार पारिएका हस्तकलाका सामग्री बजारमा बिक्री नभएपछि उनीहरू समस्यामा परेका हुन् ।

विभिन्न सरकारी तथा गैरसरकारी निकायले स्वरोजगार बनाउन रोजगार नभएका मेचीनगरका महिलालाई व्यावसायिक सीप तथा तालिम प्रदान गरेपछि उनीहरूले आफूहरूले जानेको सीप प्रयोग गरी तयार पारिएका हस्तकलाका सामग्री बजारमा बिक्री नभएपछि अधिकांशले व्यवसाय छोडेका छन् भने सयौं उद्यमीको लगानीसमेत संकटमा परेको छ ।

हस्तकलाका सामग्री बजारमा बिक्री गरी त्यसबाट प्राप्त रकमले घर खर्च धानिरहेकोमा अहिले हस्तकलाका सामग्री बिक्री नहुँदा घरखर्च चलाउन धौधौ परेको उनीहरूको भनाइ छ । मेचीनगरका महिलाहरूले विभिन्न हस्तकलाका सामग्री निर्माण गरेर आम्दानी गर्दै आएको भए पनि पछिल्लो समय बढ्दो आधुनिकतासँगै आफूले तयार गरेका सामग्रीले बजार नपाउँदा आफ्नो व्यवसाय संकटमा परेको मेचीनगर-८ की लक्ष्मी धिमाल बताउँछिन् ।

पछिल्लो समय हस्तकला उद्योग बढे पनि बजार अभावका कारणले घरेलु उद्योगबाट उत्पादित सामग्रीहरू बिक्री हुन नसक्दा धेरैजनाले व्यवसाय नै परिवर्तन गर्ने अवस्थामा पुगेको उनको भनाइ छ । आफूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी हस्तकलाका सामग्री निर्माण गरेको बताउँदै पहिले अत्यधिक बिक्री हुने हस्तकलाका सामग्री पछिल्लो समय बढ्दो आधुनिकतासँगै आफूले तयार गरेका सामग्रीले बजार पाउन छोडेपछि अहिले मागका आधारमा हस्तकलाका सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ ।

स्थानीय सरकारी र गैरसरकारी संस्थाले मेचीनगरका महिलाहरूलाई सिलाई कटाई, प्लाष्टिकको झोला बनाउने, मकैको खोस्टाबाट विभिन्न फूल बनाउने, दुबोको माला बनाउने, परालको जुत्ता चप्पल बनाउने जस्ता तालिम दिए पनि उनीहरूले तालिममा सीप सिकेर ती सामग्री उत्पादन गरे पनि बजारमा बिक्री नहुँदा समस्या भएको बताएका छन् ।

आफूले एक महिने आधारभूत तालिम र १५ दिने एडभान्स तालिम लिएपछि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत मेचीनगर नगरपालिकाको प्राविधिक सहयोगमा ‘लिजा एण्ड एमी ब्याग झोला लघु उद्यम’ सञ्चालन गरेको धिमालले बताइन् । आफूले कपडा तथा रेग्जिनका ब्याग झोला बिक्री गरे पनि आफूले उत्पादन गरेको सामानले बजार नपाएपछि, पेशा नै छाड्ने अवस्थामा पुगेको उनले बताइन् ।

महँगोमा कच्चा पदार्थ खरिद गरी सस्तोमा बिक्री गर्न नसक्ने उनको भनाइ छ । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको विभिन्न सीपमुलक तालिम प्राप्त गर्ने अधिकांशले रोजगारी पाएका छन् भने केहीले आफै उद्यम स्थापना गरेका छन् । आफूहरूले उत्पादन गरेको सामग्री बिक्री गर्न समस्या रहेको उद्यमी आरती राजवंशीले बताइन् । उनले आफूहरूले उत्पादन गरेका सामानहरू बिक्री बितरण गर्न सजिलो होस् भन्ने उद्देश्य राखेर सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्ने बताइन् ।

अहिले धेरै महिलाले विभिन्न तालिम लिए पश्चात आत्मनिर्भर बन्ने बाटोमा लागेका भए पनि उत्पादित सामग्रीले बजार नपाउँदा निराश बनेको उनी बताउँछिन् । विदेशबाट आयातित सामग्रीहरू गाउँघरमा मात्र नभएर सहरभरी छ्याप्छ्यप्ती पाउन थालेपछि हस्तकला व्यवसाय धरापमा पर्न थालेको उनको भनाइ छ ।

धेरैजसो हस्तकलाका सामान बनाउने उद्यमीहरूले गुणस्तरमा ध्यान नदिन समस्या आउने गरेको उनको भनाइ छ । धेरै जसो हस्तकलाका सामान बनाउने उद्यमीहरू व्यावसायिक रूपमा अघि बढेपछि त्यो समानको उचित बजार नपाएर समस्यामा पर्ने गरेको मेचीनगरकी उद्यमी देवका भण्डारीले बताइन् । सीप र क्षमता भएर पनि आफ्ना उत्पादनले बजार नपाउँदा आफूहरूलाई समस्या भएको उनले बताइन् ।

बजारमा बाहिरबाट आएका सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु घरेलु उद्योगलाई चुनौति भएको उनको भनाइ छ । उद्यमी रन्जु कार्कीले आफूले उद्यमी बन्नका लागि कपडा तथा रेग्जिनका व्याग झोला बनाउने तालिम लिएपछि तालिम लिएर आफ्नै घरमा कपडा तथा रेग्जिनका ब्याग झोला निर्माण गरे पनि बिक्री गर्न बजार नपाएपछि निकै समस्या परेको बताइन् ।

स्थानीय तहले हस्तकलालाई बजार व्यवस्थापन गरिदिए आफू जस्ता महिलालाई आयआर्जनमा सजिलो हुने उनको भनाइ छ । नयाँ प्रविधिका साथ हस्तकलाका सामग्री उत्पादनलाई बढवा दिन सकेमा व्यवसाय संकटमा नपर्ने उद्यमी सरला कार्की बताउँछिन् । हस्तकलाका सामग्रीको प्रवर्द्धनका लागि सरकारी निकायको चासो हुनुका साथै कडाइका साथ अनुगमन गर्नु पर्ने उनको भनाइ छ ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले आफूहरूले मेचीनगर नगरपालिकाका महिलाहरूलाई स्वरोजगार बनाउन तालिम प्रदान गरेको बताइन् । तालिम लिएपछि उनीहरूले व्यवसाय गरेको बताउँदै उनले यसले महिलालाई आत्मनिर्भर बनाएको जानकारी दिइन् । महिला सशक्तीकरण गर्न चेतनाको विकास गराउँदै व्यापक रूपमा तालिमको आवश्यकता महसुस गरी स्थानीय सरकारले व्यावसायिक रूपमा लाग्ने गरी तालिम सञ्चालन गर्ने गरेको उपप्रमुख उप्रेतीको भनाइ छ ।

महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उनीहरूलाई स्वरोजगार बन्ने बाटो समेत खुलेको उनको भनाइ छ । उनीहरूले उत्पादन गरेका सामग्रीको बजारका लागि स्थानीय सरकारले पहल गर्ने मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् । सीपमूलक तालिमका लागि सरकारले वार्षिक लाखौँ रुपैयाँ खर्च गर्ने गरे पनि तालिम लिएपछि उत्पादन गरिएका सामग्रीको बजारीकरणका लागी सरकारले पहल गर्नु पर्ने उद्यमीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्