एनआईसी एसिया बैंकको दोस्रो त्रैमासिक «

एनआईसी एसिया बैंकको दोस्रो त्रैमासिक

 एनआईसी एसिया बैंकले चालू आव २०७६-७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार वित्तीय परिसूचकहरू अत्यन्त उत्साहजनक रहेको जनाएको छ ।
बैंकले चालू आवको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत ( ७७ करोड रुपैयाँ) ले वृद्धि गरी २ अर्ब ९० करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको भन्दै खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (५० करोड रुपैयाँ) को वृद्धिसहित २ अर्ब १ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको पनि जनाएको छ ।
गत वर्षको सोही अवधीको खुद मुनाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो । यस आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्ब रुपैयाँले वृद्धि गरी १६५ अर्ब रुपैयाँ र निक्षेप संकलनतर्फ ६ अर्ब रुपैयाँले वृद्धि गरी १८६ अर्ब रुपैयाँ पु-याउन सफल भएको जनाएको छ ।
बैंकले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्णरूपले पालना गरेको दाबी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्