Logo

निर्माण क्षेत्रमा बढ्न थाल्यो कर्जा

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ऋणात्मक रहेको निर्माण क्षेत्रको कर्जा प्रवाह वृद्धि माघसम्ममा ९ प्रतिशतले बढेको छ । निर्माण क्षेत्र विस्तारै चलायमान बन्न थालेसँगै बैंक तथा वित्तीय संस्थाबाट यो क्षेत्रमा कर्जा प्रवाह बढेको हो ।

निर्माण कर्जा बढ्दा यसले अर्थतन्त्रलाई पनि गतिशिल बनाउन सहयोग गर्ने बुझाइ छ । राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा साउनमा निर्माण क्षेत्रमा गएको कर्जा प्रवाह वृद्धि ०.४ प्रतिशत ऋणात्मक थियो । असारमा २ खर्ब ७ अर्ब ९९ करोड रुपैयाँ कर्जा निर्माण क्षेत्रमा गएकोमा साउनमा ०.४ प्रतिशत घटेर २ खर्ब ७ अर्ब २२ करोड रुपैयाँ प्रवाह भएको थियो । माघसम्म आइपुग्दा भने निर्माण क्षेत्रमा जाने कर्जा बढेर २ खर्ब २६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यो गत असारको तुलनामा ९ प्रतिशत बढी हो ।

पछिल्लो समय घर कर्जा तथा अन्य निर्माण क्षेत्रमा जाने कर्जाको माग बढ्न थालेको बैंकरहरू बताउँछन् । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले अहिले आवास तथा अन्य निर्माण क्षेत्रतर्फ जाने कर्जाको माग बढिरहेको बताए । उनले भने, ‘निर्माणसँग सम्बन्धित कर्जा बढ्दै गएको देखिन्छ ।’

राष्ट्र बैंकका अनुसार सडक तथा पुल निर्माणतर्फ पनि कर्जा विस्तार उल्लेख्य बढेको छ । माघसम्ममा यस क्षेत्रमा १८ प्रतिशतले कर्जा विस्तार बढेको केन्द्रीय बैंकको तथ्यांक छ । गत साउनमा यस्तो क्षेत्रमा जाने कर्जा १.४ प्रतिशतमात्रै बढेको थियो । २०८१ साउनमा ०.४ प्रतिशत ऋणात्मक रहेको निर्माण क्षेत्रको कर्जा भदौमा १.२ प्रतिशतले बढेको थियो । त्यस्तै, असोजमा २.२ प्रतिशतले बढेको निर्माण क्षेत्रतर्फ कर्जा विस्तार कात्तिकमा १.८ प्रतिशतमात्रै बढेको थियो । त्यतिबेला चाडपर्व लगायतका कारण यस्तो कर्जा बढेको थिएन । तर, त्यसपछि मंसिरमा पनि निर्माण क्षेत्रतर्फ जाने कर्जाको वृद्धिले निरन्तरता पायो । २०८१ मंसिरमा ३.५ प्रतिशतले यस्तो कर्जा बढ्दा पुसमा ७.७ प्रतिशत र माघसम्ममा ९ प्रतिशतले बढेको हो ।

मौद्रिक नीतिले निजी क्षेत्रमा चालु आवमा साढे १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । तर, सात महिनासम्ममा ५.६ प्रतिशतले मात्रै कर्जा वृद्धि भएको छ । यो वृद्धिले निर्माण क्षेत्रलाई टेको दिएको तथ्यांकले देखाउँछ ।

अर्थविद् चन्द्रमणि अधिकारीले अहिले निर्माण क्षेत्रमा लगानी केही बढे पनि नतिजा देखिन केही समय लाग्ने बताए । उनले भने, ‘निर्माण क्षेत्रमा कर्जा बढ्नु भनेको लगानी बढेको हो । अर्थतन्त्रले गति लिनु हो । तर, त्यसको नतिजा देखिन केही समय लाग्छ ।’ विगतमा धेरैजसो मानिसले आफ्नै पैसा प्रयोग गर्ने गरेकोमा ब्याजदर कम भएको अवस्थामा बैंकबाट कर्जा लिएको हुन सक्ने उनी बताउँछन् । साथै सामान्यतयाः चौथो त्रैमासमा निर्माणका काम बढी गर्ने परिपाटी भएकाले सरकारी वा गैरसरकारी क्षेत्रमा त्यहीअनुसार कर्जा बढेको हुन सक्ने उनको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको सात महिनासम्ममा निर्माण क्षेत्रपछि औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा बढेको छ । यो क्षेत्रको कर्जा ९.५ प्रतिशत वृद्धि भएको हो । गत साउनमा यस्तो कर्जा ०.१ प्रतिशतले वृद्धि भएको थियो । सात महिनासम्ममा यस क्षेत्रको कर्जा पनि विस्तारै लयमा आउन थालेको हो ।

यसबाहेक माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.० प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले बढेको तथ्यांक छ ।
पछिल्लो समय बैंकको ब्याजदर घटिरहेको छ । बैंकको आधार दर तथा कर्जाको ब्याजदर घट्दै जाँदा कर्जा लिनेहरू केही बढेका हुन् । तर, निजी क्षेत्रको मनोबल अझै बढिनसकेको जानकारहरू बताउँछन् ।

गत आवको सात महिनासम्ममा ९.०६ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधारदर ६.४६ प्रतिशतमा झरेको छ । यस्तै, विकास बैंकको ११.१३ प्रतिशतबाट घटेर ८.५२ प्रतिशत र वित्त कम्पनीहरूको १२.७० बाट घटेर ९.३९ प्रतिशत औसत आधार दर भएको छ । २०८१ माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.५५ प्रतिशत, विकास बैंकहरुको ९.९० प्रतिशत र वित्त कम्पनीहरुको १०.८८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्