कृषि विकास बैंक ५३ औं वर्ष प्रवेश «

कृषि विकास बैंक ५३ औं वर्ष प्रवेश

अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि विकास बैंकको ५३ आंै वार्षिकोत्सव समारोहको भव्यताका साथ डिजिटाइजेसन पद्धतिबाट उद्घाटन गरेका छन् । समारोहका प्रमुख अतिथि अर्थमन्त्रीले डिजिटाइजेसन पद्धतिबाट बैंकका दुर्गम स्थानमा रहेका कृषि विकास बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरहरू (शाखा बर्जू, आमबारी, रवि, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउँ, सुकटिया, ओदानकू महावै र एक्सटेन्सन काउन्टर धुलिखेल) गरी १६ वटा कार्यालयको समेत उद्घाटन गरेका थिए ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खतिवडाले कृषि विकास बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभई आजसम्म आइपुग्दा र कृषि विकास बैंकको कर्जाको आकारलाई हेर्दा सानाभन्दा साना किसानहरूलाई करिब ८० प्रतिशत कर्जा प्रवाह भएबाट कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गरेको विषयको सराहना गर्दै भविष्यमा पनि कृषिको व्यवसायीकरण गर्न र सहुलियतपूर्ण कर्जा प्रवाहको मात्रालाई बढाउन आग्रहसमेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालको आर्थिक अवस्था सवल सुदृढ ढंगले अगाडि बढी रहेकाले सबै लगानीकर्ताहरूलाई ढुक्कसँग लगानी गर्नु हुन आग्रह गर्दै उनले सरकारले सरकारी बैंकलाई सक्षम बलियो प्रतिस्पर्धी बैंकका रूपमा देख्न चाहेको बताए । कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणि सिवाकोटीले समारोहलाई सम्बोधन गर्दै बैंकले कृषि क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै नेपाल सरकारले लागू गरेको सहुलियत पूर्ण कर्जा प्रवाहको मात्रालाई आगामी दिनमा बढाउन आग्रह गर्दै बैंकिङ व्यवसाय आफैंमा जोखिम व्यवसाय भएकाले सचेतपूर्वक आन्तरिक नियन्त्रण प्राणालिलाई थप बलियो बनाउनसमेत आग्रह गरे ।
साथै, वार्षिकोत्सव कार्यक्रममा नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल, पूर्वअध्यक्ष तथा महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, बैंकका पूर्वउपमहाप्रबन्धक शंकरमान श्रेष्ठले कृषि विकास बैंकले गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा थप बलियो बैंकका रूपमा रहन सकोस् भनी शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्