शपथअघि एमाले–माओवादी सांसदलाई प्रशिक्षण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद (जबज) नभएको भए माओवादीको रक्षा सम्भव नभएको बताएका छन् । शनिबार नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूको संयुक्त बैठकमा सहभागीहरूलाई सम्बोधन गर्दै उनले यदि मदन भण्डारीले जनताको बहुदलीय जनवाद आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव नभएको भन्दै माओवादीले जनयुद्ध नगरेको भए आज यो ठाउँमा नआइपुग्ने बताए ।
अब मिलेर समाजवादको रक्षा गर्नुपर्छ भन्दै उनले विकास र समृद्धिको लक्ष्य पूरा गर्नुपर्ने पनि बताए । “चाहेर वा नचाहेर पनि हामी एकअर्का परिपूरक भएरै यहाँसम्म आइपुगेका हौं,” उनले भने, “हाम्रो संघर्षले नै गणतन्त्र र संघीयता आएको हो ।”
यस्तै, संयुक्त बैठकमा सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित सांसदहरूको जिम्मेवारी ठूलो भएको बताए । उनले संसदमा एमाले र माओवादीको बहुमत गाई र त्रिशूल खेलेर नपाएको भन्दै जनताको भारी मतले यो आकार आएको बताए । ओलीले भने, “त्यसैले देश विकास गरेर देखाउनुपर्छ ।”
यसैगरी नागरिकतामा जन्ममिति फरक परेर सबैभन्दा बढी उमेरका सांसदका रूपमा बाँकी सांसदलाई सपथ गराउन लागेका महेन्द्र राय यादवप्रति पनि उनले व्यग्ंय गरे । यादवको खास जन्म मितिभन्दा नागरिकतामा उल्लेखित मिति अगाडि भएका कारण जेष्ठ सदस्यका रुपमा उनले आइतबार सांसदहरूलाई शपथ खुवाउँदै छन् । उनले अदालतदेखि अस्पतालसम्म नागरिकताको विवाद भएकोमा व्यंग्य गर्दै अदालत, अस्पताल, माइतीघरमा नागरिकताको विवाद रहेको र हुँदाहुँदा अहिले संसदमा पनि नागरिकताको विवाद देखिएको बताए । उनले भने, “धन्न मचाहिँ एकै दिनमा जन्मिएको रहेछु ।”
बैठकमा भाग लिन प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल पनि पुगेका थिए । आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनी फरार रहँदै आएका छन् । प्रहरीले खोजी गरिरहेको बताएको छ तर, सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन् ।
निर्वाचनपछि संसदको पहिलो बैठक भोलि बस्दैछ । त्यसअघि प्रतिनिधिसभाका सांसद्हरूको सपथ आज हुँदैछ ।