Logo

पोखरा आउने पर्यटकलाई सहुलियत प्याकेज

पोखरा– पोखरा महानगरपालिकाले चीनको सिचुवानदेखि पोखरा आउने पर्यटकलाई सहुलियत प्याकेज दिने भएको छ । सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरेको पोखरा भ्रमण वर्षमा सहुलियत दिन लागिएको हो । अन्तर्राष्टिय क्षेत्रमा नेपालको पर्यटन प्रवर्द्धन गर्न पोखराबाट एक टोली चीन जाने भएको छ । चीनको सिचुवान प्रान्तको छेन्दु सहरदेखि चैत ५ सम्म १ सय २७ जना चिनियाँ पर्यटक लियर सिचुवानको एअरलाइन्स पोखरा आउने भएको हो ।

मंगलबार बिहान चिनियाँ यात्रु लिएर पोखरा विमानस्थलमा अवतरण गर्ने सिचुवानको उक्त विमानमा पोखरा क्षेत्रका पर्यटन व्यवसायीसहित पोखरा महानगरका मेयर धनराज आचार्य तथा केही पत्रकारको टोली सहभागी हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । पोखरा क्षेत्रबाट १ सय २७ जना प्रमोशन टुर तथा केही महत्त्वपूर्ण चीनका सहरहरूमा अध्ययन अवलोकन तथा बी टु बीलगायतका कार्यक्रम हुने तयारी गरिएको उनले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक रूपमा चीनको सिचुवान एअरलाइन्सले छेन्दुदेखि पोखरासम्म चार्टर्ड फ्लाइट गर्ने हुँदा कम्तीमा पनि पोखरा क्षेत्रबाट ३ वटा फ्लाइटमार्फत ३ सय ५० जनाभन्दा बढी पर्यटक चीनमा जाने छन् । चीनबाट १ हजार २ सय ५० जना चिनियाँ पर्यटकहरू पोखरा लाउने तयारी गरिएको परिषद्ले जनाएको छ । परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एअरलाइन्ससँगको सहकार्यमा सिचुवान एअरलान्सले परीक्षण कालको चाटर्ड फ्लाइट गर्ने भएको हो ।

उक्त परीक्षणकाल सफल भएमा उक्त विमानले नियमित पोखरामा अन्तर्राष्टिय हवाई उडान गर्ने सम्भावना धेरै रहेको परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । सरकारी निकायसँगको समन्वय र निजी क्षेत्रको सहकार्यमा सुरु भएको कार्यक्रमलाई सफल पार्न उनले सबैमा आग्रह गरे । चीनको सिचुवान भ्रमणमा निस्कन प्रति व्यक्ति करिब १ लाख २३ हजारको प्याकेजमा ७ रात ८ दिनको चीन भ्रमणको प्याकेज रहेकोे परिषद्ले जनाएको छ ।

पहिलो व्यावसायिक चाटर्ड उडानमा पोखरा महानगरपालिकाका मेयर आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिवहादुर भट्टराई, परिषद्का अध्यक्ष पहारीलगायत पर्यटन संघ संस्थाका अध्यक्ष तथा कार्यसमिति र समग्र पर्यटन व्यवसायी र केही पत्रकार उक्त उडानमा सहभागी हुने छन् । चीनबाट सिधै पोखरा आउने चिनियाँ पर्यटकहरूको लागि पोखरा र पोखरादेखि यस आसपास क्षेत्रमा भ्रमण गर्दा केही सहुलियत तथा प्याकेजसमेत ल्याएको परिषद्का महासचिव जीवनराज सापकोटाले बताए ।

अन्नपूर्ण केबवलकारमा सराङकोट क्षेत्र तथा सराङकोट धामसहितको क्षेत्रमा अवलोकनको लागि जाने पर्यटकहरूको लागि सिचुवानको पहिलो फ्लाइटमा आउने चिनियाँ पर्यटकलाई २५ प्रतिशत छुट दिने उनले बताए । अन्य फ्लाइटमा आउने चिनियाँ पर्यटकहरूलाई भने १५ प्रतिशत छुटको व्यवस्था गरिएको अन्नपूर्ण केबलकारका प्रबन्ध निर्देशक दिनेश पौडेले बताए ।

त्यसैगरी पोखरा आउने पर्यटकहरूको लागि नाट्टा गण्डकीले विषेश छुट प्याकेजमा पोखरा क्षेत्र, लुम्बिनी, सौराह र पोखराका विभिन्न पदमार्गमा लैजाने गरी तयारी गरेको छ । पहिलो चरणमा आफूहरूले १० प्रतिशत छुटमा प्याकेज तयार पारी चिनियाँ पर्यटकहरूको लागि प्रस्ताव पठाएको नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले बताए । विभिन्न ट्रेकिङ रूटमा जाने पर्यटकहरूको लागि टान गण्डकीले समेत सहुलियतमा प्याकेज तयार पारेको छ ।

यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने पोखराका मेयर आचार्यले बताए । अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्नको लागि पटक पटक राज्यका विभिन्न निकायहरू सहित प्रधानमन्त्रीसमेत लाई ध्यानाकर्षण गरी रहँदा पनि उडान सुचारु हुन नसकेपछि निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको सानो प्रयासले सिचुवानको विमानमार्फत पोखरामा ३ महिने चाटर्ड फ्लाइट गर्न लागिएको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक भट्टराईले बताए ।

नेपाली नयाँ वर्षको अवसरमा संघले पोखरामा पर्यटकलाई स्वागत गर्न केही समयअघि पूर्वसम्मको भ्रमण गरी निम्तो दिएको छ । केही समयपछि पश्चिम हुँदै भारतको बोर्डर सिटीसम्म पुग्ने योजना बनाएको छ । महानगरले सुरु गरेको पोखरा भ्रमण वर्ष निजी क्षेत्रको लागि भएकोले उक्त अभियानलाई सफल पार्न होटल संघ पनि पर्यटकीय विभिन्न गतिविधिमा सहकार्य र समन्वय गर्दै अघि बढ्ने अपेक्षा गरिएको छ । पोखरामा हाल भारतीय करिब १०, तेस्रो मुलुकका करिब १० र आन्तरिक पर्यटक २० प्रतिशत रहेको आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्