कैलाली र कञ्चनपुरको सीमामा रोकिएन तस्करी

धनगढी– कैलाली र कञ्चनपुरको सीमामा अझै पनि चोरी तस्करी रोकिएको छैन । भारतीय बजारबाट चोरी तस्करी बढ्दै गएको कारण सीमामा तस्करीको क्रम जारी रहेको हो ।
जिल्ला भन्सार कार्यालय कैलालीका अनुसार प्रहरीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ११ करोड ८० लाख रुपैयाँको माल सामान बरामद गरी भन्सारको जिम्मा लगाएको छ । यो अवधिमा एक हजार ३४९ वटा तस्करीको मुद्दा दर्ता भएको जिल्ला भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ८४ लाख रुपैयाँमा मालसामान भन्सार छली ल्याइएको एक हजार ४७६ वटा भन्सार छलीको मुद्दा दर्ता भएको थियो ।
चोरी तस्करी बढेपछि यसको प्रत्यक्ष असर भन्सार राजस्व संकलनमा परेको छ । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनाले चोरी पैठारीका कारण भन्सार राजस्वको लक्ष्यमा असर गरेको बताए । विभिन्न अध्ययनले भन्सारबाट आयात र चोरी पैठारी ५०/५० प्रतिशत रहेको देखाएको बताउँदै उनले चोरी पैठारी नियन्त्रण हुन सकेमात्रै अहिलेको भन्सार लक्ष्य पूरा हुन सक्ने बताए । चालु आवको ७ महिनामा वार्षिक लक्ष्यको ४१ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
जिल्ला भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दर्ता भएका मुद्दामध्ये ७२० वटा मुद्दाको फैसला भएको छ । ती मुद्दाहरूमा ६ करोड ४९ लाख रुपैयाँको सामान तस्करी गरी ल्याएको अभियोग पत्र दर्ता भएको थियो । यसैगरी, भन्सार कैलालीले तस्करी गरी ल्याएका सामानको ४६० वटा लिलाम गरेको छ । यसबाट भन्सारले एक करोड दुई लाख आम्दानी गरेको भन्सार कैलालीका मुद्दा फाँटका नायब सुब्बा पहलबहादुर केसीले बताए ।
पछिल्लो समयमा प्रहरीले दैनिक रूपमा भन्सार छलीको सामान ल्याएर भन्सार कार्यालयलाई बुझाइरहेको छ । भन्सार कार्यालयका नायब सुब्बा केसीका अनुसार कपडा, चिनी, मिठाई, चकलेट, सूर्ती, बिडी, मलखाद, मोबाइल, मोबाइल पार्टस्, आलु, प्याज, गहुँ, प्लाष्टिक झिल्ली, कूलर, ब्रोइलर कुखुरा, हार्डवेयरका सामान, ब्याट्री, सवारी साधनका पार्ट पुर्जालगायतका सामानहरू बढी चोरी पैठारी हुने वस्तुमा पर्छन् । उनले चोरी पैठारीमा प्रयोग गरिएको मोटरसाइकल, गाडीसमेत प्रहरीले भन्सार कार्यालयमा बुझाउने गरेको बताए ।
भारतसँग कैलालीको सिमाना जोडिएको क्षेत्रबाट मात्रै नभई कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सिमाना जोडिएका नाका क्षेत्रबाट चोरी पैठारी हुन थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले सिमानाकामा प्रहरीले सक्रियता बढाएको कारणले पनि भन्सार छलीका सामान बरामद हुने दर बढेको बताए । उनले भारतसँग सिमाना जोडिएको जिल्लाका हरेक नाकामा प्रहरी खटिएको बताए । उनले नाकामा खटिएको प्रहरीले दिनहुँ चोरी तस्करी गरी ल्याएको सामान बरामद गर्ने गरेको बताए ।
नेपाली बजारमा महँगी बढेको र चाडपर्वको बेला बजारमा माग बढी हुने भएकाले व्यापारीहरूले बढी सामान आयात गर्ने गरेको र यो समयमा चोरी पैठारी पनि बढी हुने गरेको भन्सार कार्यालयले जनाएको छ । नायब सुब्बा केसीले चाडपर्वको बेला माग बढी हुने भएकाले स्वाभाविक रूपमा चोरी पैठारी बढ्ने गरेको बताए । चोरी पैठारी बढ्दै गएको भए पनि नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका निकायले यस विषयमा चासो दिएको देखिदैँन् ।