ह्यारी दम्पतीले ३५ करोड रुपैयाँ फर्काउनुपर्ने

लन्डन-प्रिन्स ह्यारी र उनकी पत्नी मेघान मर्केलले बेलायतको शाही परिवारको सदस्यता त्याग्ने पैmसला गरेका छन् । यसपछि उनीहरू दुवैले शाही उपाधि तथा सार्वजनिक कोषको प्रयोग पनि गर्न पाउनेछैनन् । यसका साथै ह्यारी र उनकी पत्नीले करिब २४ लाख पाउन्ड अर्थात् ३५ करोड रुपैैयाँ फिर्ता गर्नुपर्नेछ ।
यसैगरी मेघनका पिता थोमस मर्केलले आफ्नी छोरीमाथि शाही परिवारको प्रतिष्ठा धुमिल पारेको आरोप लगाएका छन् । मेघनका पिताले च्यानल–५ लाई दिएको अन्तर्वार्तामा भनेका छन्, “प्रत्येक महिलाको सपना राजकुमारी बन्ने हुन्छ र मेरी छोरीको यो सपना पूरा पनि भएको छ । तर, उनी भाग्ने प्रयास गर्दैछिन् ।”
करिब एक सातासम्म चलेको विवादपछि शनिबार बकिंघम प्यालेसले आधिकारिक रूपमा ह्यारी र उनकी पत्नीलाई शाही उपाधि छाड्न भनेको थियो ।
प्रिन्स ह्यारीले आर्थिक आत्मनिर्भरताका लागि शाही परिवारको सदस्यता छोड्ने इच्छा व्यक्त गरेका थिए । उनको यो निर्णयमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयले समर्थन पनि जनाएकी थिइन् ।
बकिंघम प्यालेसका अनुसार यो वर्षको वसन्त ऋतुमा नयाँ व्यवस्था लागू भएपछि ह्यारी र मेघनको शाही परिवारको सक्रिय सदस्यको दर्जा समाप्त हुनेछ ।
उनीहरू केवल ड्युक अफ ससेक्स ह्यारी र डचेस अफ ससेक्स मेघनका रूपमा चिनिनेछन् । यसका अतिरिक्त उनीहरूले शाही उपाधी हिज रोयल हाइनेस र हर रोयल हाइनेसको प्रयोग गर्न पाउने छैनन् ।
बकिंघम प्यालेसका अनुसार ह्यारी र मेघनले विन्डसर क्यासलमा रहेको घरको मर्मतमा भएको करदाताको २४ लाख पाउन्ड पनि फिर्ता गर्नेछन् ।
९३ वर्षीय महारानी एलिजाबेथ द्वितीयका तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, “हामी खुसी छौं कि हामीले मिलेर आफ्ना नाती र उनको परिवारका लागि सिर्जनात्मक तथा सहयोगात्मक बाटो खोजी गरेका छौं । ह्यारी, मेघन र अर्ची सधैं मेरो परिवारको प्रिय सदस्य रहनेछन् ।”