गौरीशंकर संरक्षण क्षेत्रमा स्वदेशीभन्दा विदेशी पर्यटक बढी

देलखा– गौरीशंकर संरक्षण क्षेत्र भ्रमण गर्नेहरूमा स्वदेशीभन्दा विदेशी पर्यटकको संख्या बढी रहेको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा संरक्षण क्षेत्रमा भ्रमण गर्ने विदेशी बढेका हुन् ।
सन् २०२४ मा एक हजार ९०५ जना विदेशीले भ्रमण गरेका छन् । अघिल्लो वर्ष २०२३ मा भने एक हजार ५५० जनाले मात्रै भ्रमण गरेका थिए । सन् २०२४ मा एक हजार ८४४ जना स्वदेशी पर्यटकले मात्रै भ्रमण गरेका छन् । अघिल्लो वर्ष भने दुई हजार ७ जनाले भ्रमण गरेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको तथ्यांकमा उल्लेख छ ।
गत साउनमा आएको बाढी पहिरोले रोल्वालिङ पदमार्गमा पर्ने रोल्वालिङ खोलाका झोलुङ्गे पुलहरू बगाएका कारण पनि केही पर्यटक घट्दा स्वदेशी पर्यटकको संख्यामा कमी देखिएको हो । संरक्षण क्षेत्र प्रवेश गर्ने पर्यटकहरूका लागि संरक्षण क्षेत्र आयोजनाले काठमाडौंसहित सिंगटी, शिवालय र चाकुमा चेकपोष्ट राखेर तथ्यांक संकलन गर्ने गरेको छ । विदेशी पर्यटकहरूले काठमाडौंमै प्रवेश शुल्क बुझाएर आफ्नो विवरण बुझाउँछन् ।
त्यहाँबाट आएकाहरूसँग फिल्डमा रहेका सूचना केन्द्रसहितको चेकपोष्टमा समेत शुल्कसहितको तथ्यांक लिने व्यवस्था मिलाएको आयोजना प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए । गौरीशंकर संरक्षण क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकमध्ये २०२४ मा ८४५ जनाले काठमाडौंबाटै अनुमति लिए भने काठमाडौंबाट छुट्नेहरू मध्ये सिंगटीमा ३१४, शिवालयमा ७१८ र चाकुमा २८ जनालाई अनुमति दिइएको छ । सोही अवधिमा सिंगटीमा एक हजार ८०९ जना, शिवालयमा ७ जना र चाकुमा २८ जना स्वदेशी पर्यटकलाई भ्रमण अनुमति दिइएको छ ।
सिंगटीबाट प्रवेश गर्नेहरू अधिकांश रोल्वालिङ क्षेत्रमा भ्रमणमा जाने गरेका छन् । रोल्वालिङ क्षेत्रमा च्छोरोल्पा हिमताल, दुधकुण्ड, गौरीशंकर हिमाललगायतका हिमश्रृखला रहेका छन् । संरक्षण क्षेत्र भ्रमणमा जानेहरू मध्ये नेपालीले एक सय रुपैयाँ, सार्क मुलुकका नागरिकले एक हजार र अन्य विदेशी पर्यटकहरूले ३ हजार प्रदेश शुल्क तिर्नुपर्छ । पर्यटक भ्रमणमा आए बापत सन् २०२४ मा ५८ लाख ६४ हजार पर्यटन शुल्क संकलन भएको थियो । सन् २०२३ मा भने ४६ लाख ५८ हजार संकलन भएको थियो ।
संरक्षण क्षेत्रले विगतमा स्वदेशीलाई नि:शुल्क प्रवेश अनुमति दिए पनि २ वर्षदेखि सिंगटी चेकपोष्ट हुँदै रोल्वालिङ क्षेत्र जानेहरूसँग भने गत वर्ष २ लाख १९ हजार रुपैयाँ शुल्क असुल गरेको छ । आयोजना प्रमुख दाहालले संरक्षण क्षेत्र रहेका दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाबासीसँग भने कुनै शुल्क नलिएको बताए । सिन्धुपाल्चोकको चाकु चेकपोष्ट र रामेछापको शिवालय चेकपोष्टबाट धेरै स्वदेशीहरूसँग शुल्क नलिएको उनको भनाइ छ ।