नुवाकोटडाँडामा सोलारमार्फत खानेपानी «

नुवाकोटडाँडामा सोलारमार्फत खानेपानी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ र चौरजहारी नगरपालिका–१४ मा पर्ने नुवाकोट डाँडामा खानेपानी पुगेको छ । कालाखोला घोर्लेगोठ नुवाकोटडाँडा सोलार लिफ्टिङ खानेपानी तथा सरसफाई समिति मार्फत आयोजना निर्माण गरिएको हो ।
खानेपानी योजनामार्फत नाउली, नालेचौरसहित खड्काटोल, डाँडागाउँ, नुवाकोटडाँडा लगायत टोल खानेपानीको पहुँच पुगेको छ । त्रिवेणी गाउँपालिका ९ का ७४ र चौरजहारी नगरपालिकाका ४० घर परिवारमा खानेपानीको धारा जडान गरिएको छ । त्रिवेणी गाउँपालिका–९ को हिमालय मावि र नुवाकोटडाँडास्थित प्रहरी चौकी पनि खानेपानी आयोजना बनेपछि लाभान्वित भएको छ ।
खानेपानी योजनाका लागि उपभोक्ता, स्थानीय सरकार र सरोकारवालाको लगानी रहेको छ । गाउँभन्दा माथि पानीका मुहान नभएपछि गाउँमुनिको कालाखोलाबाट पानी डाँडामा पु-याइएको छ । सोलार प्रविधिको प्रयोग गरी लिप्टमार्फत कालाखोला, घोर्लेगोठ, नुवाकोटडाँडा खानेपानी आयोजना निर्माण गरिएको हो ।
निर्माण समितिका सचिव सन्तोस ओलीले १ करोड ३१ लाख रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको जानकारी दिए । समितिका अनुसार नेपाल रेडक्रस सोसाइटीको ६४ लाख ४८ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको १७ लाख ३२ हजार, त्रिवेणी गाउँपालिकाको ७ लाख र चौरजहारी नगरपालिकाको ४ लाख ५० हजार रुपैयाँ लगानीमा आयोजना बनेको हो । आयोजनामा स्थानीयले ३३ लाख ३० हजार बराबरको जनश्रमदान र उपभोक्ताबाट १ लाख ४९ हजार रुपैयाँ संकलन गरिएको थियो । आयोजनामा १९ किलोवाटको सोलार प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्