Logo

यो वर्ष विदेशिने आठ लाख पुग्ने

काठमाडौं– चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या आठ लाख पुग्ने देखिएको छ । गत वर्ष झण्डै साढे सात लाख जना रोजगारीका लागि विदेश गएकामा यो वर्षको संख्या ८ लाख पुग्ने देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षका ८ महिना (फागुन २७) सम्ममा काम गर्न विदेश जानेको संख्या ५ लाख २९ हजार पुगेको छ । यो प्रतिमहिना औषतमा ६६ हजार एक सय २५ हो । आगामी दिनमा पनि यही दरमा वैदेशिक रोजगारीमा गए भने कुल संख्या ८ लाख पुग्ने देखिन्छ ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले फागुनसम्ममा ५ लाख २९ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको जानकारी दिए । उनका अनुसार यो वर्ष औषत प्रतिमहिना श्रमस्वीकृति लिनेको संख्या ६६ हजार एक सय २५ पुगेको छ । यसैलाई मात्र आधार मान्ने हो भने पनि यो वर्ष ८ लाख जना वैदेशिक रोजगारीमा जान सक्ने देखिएको निर्देशक सुवेदीले बताए ।

सुवेदीका अनुसार यो फागुनमा मात्र वैदेशिक रोजगारीमा जानका लागि ६६ हजार ४ सय ९१ जनाले श्रमस्वीकृति पाएका छन् । यसमध्ये ५९ हजार ३ सय जना पुरुष हुन् भने बाँकी ७ हजार १९१ जना महिला हुन् । अहिले दैनिक औषतमा २ हजार २ सय ४ जना वैदेशिक रोजगारमा गएका छन् ।

विभागका अनुसार गत आवको फागुनसम्मका तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जाने युवाको संख्या ८१ हजारले बढेको छ । यो औषत प्रतिमहिना १० हजार एक सय २५ जना हो । गत वर्ष फागुनसम्ममा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या ४ लाख ८४ हजार रहेको थियो । यो वर्ष ५ लाख २९ हजार पुगेको हो ।

पछिल्ला वर्षहरुमा आन्तरिक रोजगारीमा संकुचन आएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढदै गएको छ । यो वर्षको मंसिरमा सबैभन्दा बढी युवाले रोजगारीका लागि विदेश जान श्रमस्वीकृति लिएका थिए । विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५ सय ७५ जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । भदौमा संख्या थोरै घटेर ५७ हजार ४ सय ९३ जना भएको थियो ।

यस्तै, असोजमा विदेश जानेको संख्यामा अझै कमी आएको देखिन्छ । असोज चाडपर्वको महिना भएकाले पनि विदेश जाने घटेका हुन सक्छन् । असोजमा ५३ हजार ५ सय २५ जनाले विदेश जान श्रमस्वीकृति लिएका थिए । कात्तिकमा भने विदेश जाने ह्वात्तै बढेको देखिन्छ । विभागका अनुसार गएको कात्तिकमा ७० हजार ९ सय ५० जनाले श्रमस्वीकृति लिएका थिए । मंसिरमा यो वर्षको अहिलेसम्मकै धेरै ८१ हजार १० जना विदेश गएका छन् ।

यस्तै पुसमा पनि औषत संख्यामा वैदेशिक रोजगारीमा गएको देखिन्छ । पुसमा ६७ हजार २ सय ५७ जनाले विदेश जान श्रमस्वीकृति लिएका थिए । माघमा यो संख्या ७१ हजार ४ सय ४१ पुगेको थियो ।

कोभिड कालमा सुस्त भएको वैदेशिक रोजगारी आव २०७८–७९ बाट फेरि लयमा फर्किएको थियो । गत आर्थिक वर्षमा ७ लाख ४१ हजार युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका थिए । आव २०७८–७९ मा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो । यो वर्षको अघिल्ला चार महिना साउन, भदौ, असोज र कात्तिकको तुलनामा पछिल्ला चार महिना मंसिर–फागुनमा विदेश जान श्रमस्वीकृति लिनेको संख्या बढेको छ ।

प्रतिक्रिया दिनुहोस्