Logo

पर्यटन प्रवर्द्धन गर्दै छत्रकोट गाउँपालिका

गुल्मी जिल्लामा रहेका १२ स्थानीय तहमध्ये छत्रकोट गाउँपालिका एक हो । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो गाउँपालिका ऋष्यश्रृङ्गे ऋषिले तपस्या गरेको रेसुङ्गा र श्रृङ्गि ऋषिले तपस्या गरेको श्रृङ्गा लेकको बीचमा पर्ने छत्रदेव मन्दिरको पावन भूमिमा अवस्थित छ । साबिकका गाविसहरू हुँगा, पल्लिकोट, हर्दिनेटा, दिगाम, खज्र्याङ र दौँघा गरी ६ वटा वडा रहेको यो गाउँपालिकाको नामकरण वडा नं ३ स्थित चोयगाको थुम्कोमा रहेको छत्रकोट देवालयको नामबाट गरिएको पाइन्छ ।

यस गाउँपालिकको पूर्वमा रुरुक्षेत्र, पश्चिममा गुल्मी दरबार, उत्तरमा सत्यवती र चन्द्रकोट तथा दक्षिणमा अर्घाखाँची जिल्लाको छत्रदेव र पाल्पा जिल्लाको रैनादेवी गाउँपालिकाहरू पर्छन् । ८७.१ वर्ग किमि क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार १९ हजार ३ सय ५७ (१० हजार ७ सय ४० महिला तथा ८ हजार ६ सय १७ पुरुष) छ ।

छत्रकोट गाउँपालिकाका विभिन्न स्थान धार्मिक तथा महाभारतका घटनाक्रमहरूसँग जोडिएको पाइन्छ । कौरव–पाण्डवको युद्ध समाप्त भएपछि युद्धको समीक्षा गर्ने क्रममा पाण्डव पक्षका भीम र अर्जुनले आफ्नो युद्ध कौशलता र पराक्रमका कारण यो जित सम्भव भएको भनी अभिमानयुक्त अभिव्यक्ति दिएपछि भगवान् श्रीकृष्णले महाभारतको पूरै युद्ध उलुक वाखरिक राज्यका राजाको उच्छेदित शिरले अन्तरदृष्टिबाट सबै देखेको र यसमा कसको कस्तो भूमिका रह्यो भन्नेबारेमा उनैबाट सुन्न आग्रह गरेपछि श्रीकृष्णसहित पाण्डवहरू उक्त राजासामु पुगेछन् । वाखरिक राजाले युद्धमा विजय हासिल गर्नुमा प्रत्यक्ष–अप्रत्यक्ष दुवै रूपले श्रीकृष्णको भूमिका रहेको बताएपछि भीम र अर्जुन आफ्नो अहंकारका कारण लज्जित भएको प्रसङ्ग छ ।

महाभारत युद्धको सत्यतथ्य वर्णन गरेको सुनेपछि भगवान् श्रीकृष्णले तपाईं के चाहनुहुन्छ र कहाँ बस्न चाहनुहुन्छ ? भन्दा वाखरिक राजाको शिरले उच्च शिखर उलुक नगरीमा बस्ने इच्छा जाहेर गरेपछि तथास्तु भनी वरदान दिएछन् र तिमो भक्ति र श्रद्धा गर्ने सबै श्रद्धालु भक्तजनले पीडा, दुःख, संकटबाट मुक्ति पाउनुका साथै सुख, शान्ति र समृद्धि प्राप्त गर्नेछन् भन्ने आशीर्वाद दिएछन् । राजाले पनि श्रीकृष्णको प्रशस्त स्तुतिगान गरेछन् र श्रीकृष्णको निर्देशनअनुसार वाखरिक राजाको शिरलाई अग्लो बाँसको लिङ्गोमा राखी कुरुक्षेत्रबाट उत्तरतर्फ शिरलाई छाता ओढाई ल्याइएको प्रसङ्ग उल्लेख छ । साथै, यसरी यात्रा गर्दै आउने क्रममा अर्घाखाँचीको उलुक भन्ने ठाउँमा उक्त शिरले त्यहीँ बस्ने इच्छा जाहेर गरेकाले उक्त स्थानमा शिखर शैलीको मन्दिर निर्माण गरी मन्दिरभित्र तामाका फाँक (ठूलो आकारको मुख भएको भाँडो) मा शिरलाई स्थापित गरी पूजा गर्ने परम्पराको थालनी भएछ । हालसम्म पनि पुजारीहरू आँखामा कपडाको पट्टी बाँधेर सो फाँकको सरसफाइ गर्ने प्रचलन रहेको स्थानीय जानकारको भनाइ छ ।

पछि यही छत्रकोट गाउँपालिकाको बुकेनी भन्ने ठाउँका एक जना व्यक्तिलाई देवता उत्रिएछन् । उनी हल्लिँदै गएर खर्घाखाँचीको उल्का भन्ने ठाउँमा पुगेछन् र त्यहाँ एउटा पत्थर देवता समाउन पुगेछन् । तिमी मेरो भक्त हुनु भनी दीक्षा पाएका उनी एउटा सानो खुँडा समाएर हल्लिँदै चोयगामै फर्किएछन् । त्यही चोयगाको थुम्कोमा चौतारीको बुट्यानमुनि उक्त शिला र खुँडा राखेर भोकै पूजा गर्ने परम्पराको थालनी भएछ । सो पत्थरलाई उक्त कथनअनुसार छत्रको रूप मानिएको र मन्दिरयुक्त थुम्कोलाई कोट भनिने पम्पराअनुसार छत्र र कोटबाट छत्रकोट नाम रहन गएको पाइन्छ ।

गाउँपालिकाका सबै वडामा आ–आफ्नै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका स्थान छन् । यस गाउँपालिकामा रहेका पर्यटकीय स्थानहरूमा छत्रकोट देवालय, हुँगाको देउती दुर्गा शिवालय मन्दिर, पल्लिकोटको कोटडाँडा, दिगामको कालिका मन्दिर, खज्र्याङको मान्यकोट (मानकोट), मनभाक पौवा, हर्दिनेटाको भगवती मन्दिर, भालुपानी र धरमपानीको रानीपोखरी, दौँघाको काहुलेगढी, वराह मन्दिर, ठूलो पोखरा, आलम मन्दिर आदि पर्छन् । त्यस्तै, छत्रकोट श्रृङ्गामा रहेको विशाल पोखरी एसियाकै बर्सातको पानी जम्मा गर्ने ठूलो ट्यांकीमध्ये एक हो । त्यस्तै, गाउँपालिकाको वडा नं. ३ स्थित छत्रकोट देवालय मन्दिरदेखि भगवती मन्दिर लुम्छासम्म पुग्ने गरी गत पुसबाट जिपलाइन सञ्चालन गरिएको पाइन्छ । गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस, छत्रकोटमा बसौँ बास’ भन्ने नीति नै बनाएर पर्यटकीय गन्तव्य निर्माण र सञ्चालन गर्ने कार्यलाई अघि बढाएको पाइन्छ । साथै, पालिकाले पर्यटन प्रवद्र्धन गर्न पालिकाभित्र संरचना निर्माणसँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक पर्यटनलाई अगाडि बढाउने प्रयास गरेको पाइन्छ ।

छत्रकोट गाउँपालिका विविध जातजातिको बसोबास रहेको बहुधार्मिक, बहुसांस्कृतिक सम्पदा बोकेको रमणीय भू–भाग हो । यहाँ बाहुन, क्षेत्री, मगर, नेवार एवं विविध थरका दलित समुदायका साथै अल्पसंख्यक जातजातिअन्तर्गत कुमाल, बोटे, माझी, मुस्लिम आदिको बसोबास रहेको छ । समुद्री सतहबाट ५ सय ७१ मिटरदेखि १ हजार ६ सय ७६ मिटरसम्मको उचाइमा फैलिएकाले यसको हावापानीमा पनि विविधता छ । पहाडी भागमा अवस्थित भएको हुनाले छत्रकोटको हावापानी समशीतोष्ण मनसुनी प्रकारको छ । हिउँदमा सामान्य जाडो र गर्मी महिनामा सामान्य गर्मी हुनु यहाँको विशेषता हो ।

विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौँ शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत धार्मिक पर्यटकीय क्षेत्रबाट उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्नका लागि धार्मिक पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै धार्मिक पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यो क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र धार्मिक पर्यटन गतिविधि विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । धार्मिक एवं पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाका कारण छत्रकोट गाउँपालिकामा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गरी भविष्यमा यस क्षेत्रमा मानिसको आवागमन वृद्धि हुन सकिनेछ । त्यस्तै, छत्रकोटका विभिन्न पर्यटकीय स्थल समावेश गरी रुरुक्षेत्र, गुल्मी दरबार, तम्घास, रेसुङ्गाजस्ता प्रख्यात धार्मिक स्थलहरूलाई सर्किटको रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

छत्रकोट गाउँपालिकाको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । गाउँपालिकाभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातत्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी यस छत्रकोटका बासिन्दादेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग हो ।

प्रतिक्रिया दिनुहोस्