Logo

सिचुवान एयरलाइन्सले पोखरामा तीन महिना चार्टर्ड उडान गर्ने

पोखरा– करिब २३ अर्ब लगानीमा दुई वर्षअघि निर्माण सम्पन्न भई उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म पनि नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन सकेको छैन । तीनै तहका सरकार हुँदै प्रधानमन्त्रीसमक्ष नियमित हवाई उडान गर्न माग गरेका पोखरेलीको माग सुनुवाइ भएको छैन ।

यसैबीच पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्को पहलमा तीन महिना चीनको छेन्दुक शहरबाट सिचुवान एयरलान्सले परीक्षण चार्टर्ड उडान गर्ने भएको छ । तीन महिनासम्म साप्ताहिक रुपमा हुने उडान राम्रो भएमा सिचुवान एयरलाइन्सले नियमित उडान गर्ने भएको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो चैत ५ गते (मार्च १८ तारिख) देखि छेन्दुक शहरदेखि उडान हुने उनले जनाए ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदुतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा कम्तिमा १० वटा चार्टर्ड उडान हुने गरी तयारी गरिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । साप्ताहिक रुपमा चार्टर्ड फ्लाइट हुने दुबैतर्फका पर्यटन व्यवसायी, निजी क्षेत्रका व्यवसायी सहितका पत्रकार एवं अन्य व्यक्तिहरुको लागि सहुलियत दरमा प्याकेजिङ हुने भएको परिषद्का अध्यक्ष पहारीले जनाए । प्रतिव्यक्ति करिब १ लाख २३ हजारको प्याकेजमा ७ रात ८ दिनको चीन भ्रमणको प्याकेज हुने भएको परिषद्ले जनाएको छ ।

यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने आशा राखिएको पोखराका मेयर धनराज आचार्यले बताए । अबको तीन महिनामा करिब १ हजार २ सय ५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाई मार्ग हुँदै सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने प्रयास रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेशनल छेन्दुले जानकारी गराएका छन् । सुरुवाती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट सुरु गरेर यसलाई व्यावसायिक उडानमा परिणत गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको कम्पनीहरुले उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय विमान सुचारु गर्नको लागि पटक पटक राज्यका विभिन्न निकायहरु सहित प्रधानमन्त्री समेतलाई ध्यानाकर्षण गरिरहँदा पनि उडान सुचारु हुन नसक्दा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले सानो प्रयास गरेको परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । यो अभियानलाई सफल पार्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

पहिलो चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायत पर्यटन संघसंस्थाका अध्यक्ष तथा कार्यसमिति र समग्र पर्यटन व्यवसायीहरु सहभागी हुने भएका छन् । ७ रात ८ दिनसम्मको उक्त कार्यक्रममा विषेश गरी सिचुवान प्रदेशको छेन्दु लुझोउ, इमि लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटनका विकास, विस्तारबारे जानकारी लिइनेछ । पोखराका पर्यटन व्यवसायीहरुले भने पोखरादेखि लुम्बिनी, सौराहा, विभिन्न पदमार्गसम्मका प्याकेज कार्यक्रम तयार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्