Logo

पर्यटन दशक घोषणा अन्तिम चरणमा

काठमाडौं– सरकारले पर्यटक दशक मनाउने तयारी गरेको छ । सन् २०२५–२०३५ लाई पर्यटन दशकको रुपमा मनाउने तयारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तिम चरणमा पुर्‍याएको हो । यसका लागि मन्त्रालयले अहिले कार्ययोजना बनाइरहेको छ ।

मन्त्रालयले पर्यटक दशकका लागि काम गरिरहेको र कार्ययोजनाको मस्यौदा अन्तिम चरणमा पुगेको मन्त्रालयका सहसचिव इन्दु घिमिरेले जानकारी दिइन् । उनले भनिन्, ‘पर्यटक दशक घोषणा गर्ने र कार्ययोजना बनाउने काम अन्तिम चरणमा पुगेको छ । मन्त्रीसँग छलफल गरेर चाँडै सार्वजनिक हुनेछ ।’ वैदेशिक मुद्रा आर्जनको भरपर्दो माध्यम पर्यटन उद्योगलाई बढावा दिन पर्यटन दशक मनाउन लागिएको र यसलाई सफल बनाउन सरोकारवाला निकायहरुसँग छलफल भइरहेको उनको भनाइ छ । ‘सबैसँग समन्वय गरी प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर कसरी सहकार्य अगाडि बढाउन सकिन्छ भनेर अध्ययन तथा परामर्श गरिरहेका छौं,’ उनले भनिन् । पर्यटक दशक सफल बनाउन फोकल मन्त्रालय भए पनि होटल व्यवसायी र पर्यटन व्यवसायीको ठूलो योगदान रहने उनको भनाइ छ ।

सडक पूर्वाधारको लागि भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकाय, विदेशमा समन्वयका लागि परराष्ट्र मन्त्रालय, सुरक्षाका लागि गृह, बजेटका लागि अर्थ मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गरिने उनले बताइन् । ‘पर्यटक आवागमन बढाउन प्राथमिकता केके हुन सक्छन्, रणनीति के हुन सक्छ भनेर आन्तरिक तयारी भइरहेको छ । मूलतः सडक पूर्वाधारमा कसरी सुधार गरेर नेपाल भ्रमण गर्ने पर्यटकको आवागमनलाई सहज र व्यवस्थित बनाउनुपर्ने चुनौती छ,’ उनले भनिन्, ‘सडक सञ्जाललाई यात्रामैत्री कसरी बनाउने र पर्यटकको भ्रमणलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं ।’

पर्यटन गन्तव्य पहिचान भएका तर पर्यटकका लागि चाहिने पूर्वाधार विकास नभएको मन्त्रालयको भनाइ छ । ‘जुन–जुन निकायको भूमिका अहम् हुन्छ, ती निकायसँग छलफल गरेर काम अगाडि बढाउने मन्त्रालयको तयारी छ । नाम के रहने, त्यसको मोडालिटी कसरी अगाडि बढाउने र पर्यटकको आवागमन लक्ष्य कति राख्ने विषयमा मन्त्रालयले चाँडै टुंगो लगाउनेछ,’ सहसचिव घिमिरेले भनिन् ।

सरकारले तीन वर्षअघि नै अवधारणापत्र स्वीकृत गरेर सन् २०२३–२०३३ लाई पर्यटन दशक मनाउने निर्णय गरेको थियो । अवधारणा स्वीकृत भएर बजेटमा घोषणा भए पनि कार्यान्वयनमा आउन सकेन । पर्यटन दशक मनाउने काम निकै महत्वाकांक्षी रहेको उल्लेख गर्दै सहसचिव घिमिरेले यसले स्वदेशमै स्वरोजगार सिर्जना गर्न सक्ने दाबी गरिन् । ‘पर्यटन दशकले विदेशमा रहेकालाई समेत स्वदेशमै लगानी गरौं, यहीँ केही गरौं भन्ने वातावरण सिर्जना हुनेछ,’ उनले भनिन् ।

देशभर अहिले वार्षिक ३५ लाख पर्यटकलाई सेवा दिन सकिने गरी होटल पूर्वाधार तयार भइसकेको छ । त्यहीअनुसार मन्त्रालयले पर्यटन दशकको कार्ययोजना तयार गरेको छ । सन् २०२० मा घोषणा गरिएको नेपाल भ्रमण वर्ष कोभिड महामारीका कारण कार्यान्वयनको मध्यमा आएर रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्