वैदेशिक रोजगारका समस्या र समाधानका उपाय

रोजगारी भन्नाले अर्थोपार्जनका लागि कुनै व्यक्तिले गर्ने काम वा सेवा हो । विदेशी भूमिमा आर्थिक लाभ हुने गरी गरिएको काम वा सेवालाई वैदेशिक रोजगारी भनिन्छ । अर्थोपार्जनका लागि युवाहरूको विदेशगमन तथा काम वा सेवालाई पनि वैदेशिक रोजगारी भन्न मिल्छ । बेरोजगारी समस्याले गर्दा धेरै नेपाली युवा विदेशमा काम गर्न जान बाध्य छन् ।
नेपालबाट बर्सेनि धेरै युवा रोजगारीका लागि विदेश जाने गरेका छन् । नेपाली कामदारको माग पनि विदेशी भूमिमा बढ्दै गइरहेको छ । सुरक्षा दिने, खाना बनाउने, सरसफाइ गर्ने, भवन निर्माण गर्ने तथा सरसहयोग गर्ने काममा नेपाली युवा कहलिँदै आइरहेका छन् । नेपाली युवाको आम्दानीको प्रमुख स्रोत पनि वैदेशिक रोजगारी नै बन्दै गइरहेको छ ।
वैदेशिक रोजगारी भनेको एउटा राष्ट्रका नागरिकले आफ्नो राष्ट्रभन्दा बाहिर गरेको आर्थिक गतिविधि हो । एउटा राष्ट्रका नागरिकले आय आर्जन गर्ने उद्देश्यले अर्को देशमा गएर गरेको आर्थिक कार्यलाई वैदेशिक रोजगारी भनिन्छ । नेपालका श्रमिकहरू प्राचीन कालदेखि नै वैदेशिक रोजगारीका लागि बर्मा, भुटान, भारत, ल्हासा आदि जाने गर्थे । औपचारिक रूपमा नेपालमा वैदेशिक रोजगारीको थालनी सुगौली सन्धिपश्चात् नेपालीलाई ब्रिटिस गोरखा सेनामा भर्ती गरेबाट भएको थियो । बितेका दुई दशकको समयमा विश्वव्यापीकरणले नेपाली वैदेशिक रोजगारको संख्या बढ्दै गएको छ । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि १ सय १० देशसँग खुला सम्झौता गरेको छ र व्यक्तिगत रूपमा १ सय ७८ देशमा खुला भएको छ ।
यस वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार सरकारले अवलम्बन गरेको नीतिगत व्यवस्था र लक्षित कार्यक्रमको कार्यान्वयनबाट निरपेक्ष गरिबी क्रमशः घट्दै गएको छ । तथापि, कोभिड–१९ महामारीलगायत संक्रामक रोग, विश्वव्यापी रूपमा भएको आधारभूत खाद्यान्नको मूल्यवृद्धि, विपद्जन्य घटनालगायतका कारण आवधिक योजनाले लिएको लक्ष्यबमोजिम गरिबी घट्न सकेको छैन । स्वदेशभित्र लाभजन्य रोजगारीका लागि बिदेसिने क्रम बढ्दै गएको छ । उत्पादनमूलक उद्योग, निर्माण, पर्यटनजस्ता क्षेत्र अपेक्षित रूपमा विकास हुन नसक्दा देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन ।
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारमध्ये पुरुष ९३.८ र महिला ६.२ प्रतिशत रहेका छन् । तर, चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजारमध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् । यस्तै अहिलेसम्म वैदेशिक रोजगारीका लागि इपिएस प्रणालीमार्फत १ लाख ४ हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गएका थिए । जसमध्ये पुरुष ९३.२ र महिला ६.८ प्रतिशत छन् । वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेका मुलुकमा कतार, मलेसिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।
वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १ सय ११ देशलाई खुला गरिएको छ । वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १ हजार ५ सय ९९ म्यानपावर कम्पनीले इजाजतपत्र प्राप्त गरेका छन् । वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र तिनका परिवारलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यस्तो कार्यक्रमबाट आर्थिक वर्ष २०८०-८१ को फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ६ सय ९४ कामदारका परिवारलाई क्षतिपूर्तिबापत ४३ करोड ५७ लाख उपलब्ध गराइएको छ । यस अवधिमा वैदेशिक रोजगारीका क्रममा शारीरिक रूपमा अङ्गभङ्ग तथा बिरामी भएका २ सय ८५ पुरुष र १४ महिला गरी २ सय ९९ कामदारले आर्थिक सहायताबापत ११ करोड ९४ लाख ९२ हजार प्राप्त गरेका छन् ।
चालु बजेटमा श्रमिकलाई उचित र मर्यादित श्रम अभ्यास गर्ने हक सुनिश्चित गरिने कार्यक्रम राखिएको छ । श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरिने कार्यक्रम राखिएको छ । सामाजिक संवादमार्फत असल श्रम सम्बन्ध विकास गरिने कार्यक्रम राखिएको छ । रोजगार बैंकको स्थापना गरी रोजगारीसम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गरिने कार्यक्रम राखिएको छ । श्रमबजारमा उपलब्ध रोजगारीको अवसर तथा जनशक्तिको माग र आपूर्तिलाई स्वचालित प्रणालीमा आबद्ध गरिने कार्यक्रम राखिएको छ ।
वैदेशिक रोजगारीका फाइदाहरू धेरै छन् । नेपालमा ६० प्रतिशतभन्दा बढी घरपरिवारमा विप्रेषण आय प्रत्यक्ष पुगिरहेको छ । सरकारको विदेशी मुद्राको प्रमुख स्रोत पनि विप्रेषण हो । विगत दुई दशकदेखि नेपालमा औपचारिक रूपमै कुल गार्हस्थ्य उत्पादनको २५ देखि ३० प्रतिशतसम्म विप्रेषण भित्रिने गरेको तथ्यांक छ । रोजगारीको अवसर स्वदेश र विदेश दुवैमा हुन्छ । नेपालमा रोजगारीको अवसर निकै कम र भएका रोजगारी पनि अधिकांशतः आर्थिक र वृत्ति विकासको हिसाबले पनि कम आकर्षक छन् । यस्तो अवस्थामा बजारमा उपलब्ध जनशक्ति खपत गर्ने राम्रो विकल्पको रूपमा वैदेशिक रोजगारी रहेको छ । वैदेशिक रोजगारीमा जानेले आफ्नो पेसा व्यवसायसँग सम्बन्धित ज्ञान, सीप र प्रविधिमा बढोत्तरी गर्ने र स्वदेशमा प्रयोग गर्ने सम्भावना बलियो रहन्छ । यस्ता केही उदाहरण नेपालमा देखिएका छन् ।
वैदेशिक रोजगारीले गन्तव्य मुलुकसँगको सम्बन्ध व्यक्तिगत, पारिवारिक, व्यावसायिक र सरकारी तहमा समेत प्रवद्र्धन गर्छ । नेपालको हकमा पनि विभिन्न मुलुकसँग भएका श्रम सम्झौता वैदेशिक रोजगारकै उपज मान्न सकिन्छ । यसबाट ट्र्याक टु डिप्लोमेसीमा समेत सघाउ पुगेको छ । वैदेशिक रोजगारीका फाइदा मात्र होइनन्, यसका बेफाइदाहरू पनि छन् । उत्पादनमूलक जनशक्ति विदेश जाँदा स्वदेशी उत्पादन घट्छ । यसले गर्दा बाहिरबाट हरेक प्रकारको वस्तु तथा सेवा आयात गर्नुपर्ने अवस्था आउँछ । अहिले नेपालमा यही अवस्था छ । जनशक्तिको ठूलो अनुपात वैदेशिक रोजगारीमा जाँदा सामाजिक सम्बन्धमा असर पर्छ । सामाजिक मनोभावनामा शून्यता छाउँछ । यसले पारिवारिक जीवन्ततामा नकारात्मक प्रभाव पार्छ ।
सामाजिक सद्भावमा समेत नकारात्मक असर परी सामुदायिक असुरक्षा बढ्ने र सम्बन्धमा समेत अवरोध आउने हुन्छ । वैदेशिक रोजगारीका कारण बिदेसिने र परिवारमा रहने दुवै पक्षले एक्लोपना महसुस गर्छन् । त्यसमा पनि बालबालिका र वृद्धवृद्धाको एक्लोपना र पाउनुपर्ने आत्मीय सेवा र रेखदेखको कमी हुन्छ । वैदेशिक रोजगारी लामो समयसम्म रहने र यो बढ्दै जाँदा युवा मात्र होइन, युवाको परिवारसमेत पलायन हुने जोखिम सदैव रहन्छ । नेपाल फर्कन चाहेर पनि विभिन्न समस्या पर्ने जोखिम रहिरहन्छ । विदेशमा लामो समय बस्ने र पाएसम्म उतैको स्थायी बसोबासको अनुमति लिने प्रवृत्ति पनि बढ्दो छ । यसरी जानेबाट मुलुकप्रतिको निष्ठा कमजोर भई राष्ट्रिय सुरक्षामा जोखिम आउन सक्छ ।
सोह्रौं पञ्चवर्षीय योजनामा वैदेशिक रोजगार तथा विप्रेषणसम्बन्धी विशेष नीति, रणनीति तथा कार्यक्रम समावेश छन् । श्रम बजारमा प्रवेश गरेका युवालाई लक्षित गरी सीप रूपान्तरणका लागि रोजगारीउन्मुख प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गर्ने प्राविधिक तथा व्यावसायिक तालिमप्रदायक निजी तथा गैरसरकारी निकायहरूलाई नियमन र सीप परीक्षण गर्ने ठोस आधार तयार गर्ने कार्यक्रम राखिएको छ । उद्यमशीलताउन्मुख स्वरोजगारीका लागि व्यावसायिक तालिमको उपलब्धतासँगै सुरुवाती पुँजी, प्रविधि र बजारीकरणका लागि सहयोग गर्ने; मागमा आधारित र प्रविधियुक्त तालिम प्रदान गर्ने, पाठ्यक्रममा सुधार गर्ने, तालिम केन्द्रहरूको विस्तार गर्ने; निजी क्षेत्रको समन्वयमा कार्यस्थलमा आधारित सीपमूलक तालिम प्रदान गर्ने रणनीति राखिएको छ । वैदेशिक रोजगारीका लागि सुरक्षित कार्य वातावरणसहित उच्च आय भएका नयाँ र आकर्षक गन्तव्यको पहिचान र श्रम सम्झौता गर्ने नीति राखिएको छ ।
वैदेशिक रोजगारीको व्यवस्थापनमा व्यक्तिगत र राष्ट्रिय दुवै तहको दृष्टिकोणलाई मध्यनजर गर्नुपर्छ । वैदेशिक रोजगारीमा कस्ता व्यक्ति जाने, यसका लागि कस्तो वातावरण राज्यले सिर्जना गर्ने, वैदेशिक रोजगारी युवाको पहिलो रोजाइ हुनुहुन्छ या हुँदैन जस्ता विषयमा स्पष्टता हुनुपर्छ । वैदेशिक रोजगारीमा जानेले गर्ने खर्च र उनीहरूले नेपाल पठाउने मौद्रिक र गैरमौद्रिक योगदानको तथ्यांक तयार गर्नुपर्छ । केवल श्रमस्वीकृति लिनेको संख्या, गन्तव्य मुलुकको नाम र विप्रेषणको समष्टिगत तथ्यांकले मात्र सबै यथार्थता बताउँदैन । यसका लागि स्वदेशको रोजगार बजार र जनशक्तिको यथार्थ तथ्यांक दस या पाँच वर्षमा होइन, हरेक वर्ष अद्यावधिक गर्नुपर्छ ।
बजार जनशक्तिलाई जोड्ने व्यवस्था तुरुन्त गर्नुपर्छ । वैदेशिक रोजगार प्रशासनमा विषयवस्तुमा जानकार र क्षमतावान् जनशक्ति खटाउनुपर्छ । अनुभवी र यो क्षेत्रमा योगदान गर्न सक्ने कर्मचारीलाई टिकाउनुपर्छ । यो क्षेत्रमा कमजोर जानकारी भएको जनशक्तिले प्रभावकारी सेवा प्रवाह नहुने मात्र होइन, सूचनासमेत दिन नसक्ने भई सेवाग्राहीले अनावश्यक दुख पाउँछन् र खर्च पनि बढ्ने हुन्छ । स्वदेशमा भएको जनशक्तिले नधानी विदेशमा भएका नेपालीसमेत आउनुपर्ने गरी उद्योग–व्यवसाय स्थापनाको लागि सहज नीति, प्रशासन र शासन हुनुपर्छ ।